शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीमा कसरी प्राप्त गर्ने ‘एक्जिट भिसा’ ?

बिहीबार, २० असोज २०७९, १४ : ४५
बिहीबार, २० असोज २०७९

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति पत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।  

एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ । यसका लागि एक पैसा पनि तिर्नुपर्दैन । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।

इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भैसकेका अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ । त्यस्तै साउदी आएको ३ महिना भन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका आवेदन दिन सकिनेछ । 

त्यस्तै हुरूब लागेका व्यक्तिहरूले समेत दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने दूतावासले जनाएको छ ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रस्ट पारेको छ । त्यस्तै कुनै केस वा जरिवाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा पाइँदैन । 

दूतावास आफैँले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो । एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले दूतावासमा आएर फारम भरेपछि एक्जिट भिसा लागि हाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ । 

जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाको लागि राजदूतावासमा आउनु भन्दाअघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो यकिन गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ । 

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउन र रियाद भन्दा बाहिरबाट इकामा बनेकाहरूले एक्जिट भिसा प्रोसेसिङका बारेमा फोनबाटै जानकारी लिन सकिने दूतावासले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप