सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा ‘कम ब्याक’ गर्ने कांग्रेसको दाउ

यामलाल कँडेल सामु यस्ता छन् चुनौती
सोमबार, २४ असोज २०७९, २२ : ०३
सोमबार, २४ असोज २०७९

०७४ मा प्रदेशसभा र प्रतिनिधिसभामा एमाले–माओवादीबीच गठबन्धन हुँदा नेपाली कांग्रेस निकै खुम्चिएको थियो । सोही क्रममा कर्णालीको राजधानीसमेत रहेको सुर्खेतमा कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभातर्फ शून्य भएको थियो ।

आसन्न निर्वाचनमा २०७४ को बदला लिने दाउमा कांग्रेस देखिएको छ । प्रतिनिधिसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा अघिल्लो निर्वाचनमा वाम गठबन्धनको बलमा दुवै सिट नेकपा एमालेले जितेको थियो । अहिले सत्तारुढ गठबन्धनको बलमा दुवै सिट जित्ने लक्ष्य बनाएको छ । अघिल्लो निर्वाचनमा एमालेलाई जित दिलाउन मुख्य भूमिका निर्वाह गरेको नेकपा माओवादी केन्द्र अहिले सत्तारुढ गठबन्धनमा आवद्ध छ भने अर्कोतिर एमाले आफै विभाजित भइसकेको छ । जसका कारण अघिल्लो निर्वाचनको तुलनामा एमालेको प्रभाव कमजोर भएको देखिन्छ ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रले सुर्खेतका प्रदेशसभातर्फका चार सिटमध्ये दुई सिटमा उम्मेदवारी दिएको छ । ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पनि माओवादीले प्रदेशसभाका २ सिट नै पाएको थियो । प्रतिनिधिसभातर्फका दुई र प्रदेशसभातर्फका दुई सिटमा कांग्रेसले उम्मेदवारी दिएको छ । अर्कोतिर जिल्लामा पूर्णबहादुर खड्का र हृदयराम थानीबीचको द्वन्द्वका कारण अघिल्लो निर्वाचनमा नोक्सान व्यहोरेको कांग्रेसले यस पटक आन्तरिक गुटबन्दीलाई पनि व्यवस्थापन गरेको छ ।

जसअनुसार प्रतिनिधिसभातर्फ सुर्खेत–१ मा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र सुर्खेत–२ मा हृदयराम थानी उम्मेदवार बनेका छन् । नेकपा एमालेले भने क्षेत्र नम्बर १ मा ध्रुवकुमार शाही र क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर १ मा कांग्रेस नेता खड्का र एमालेका शाहीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । ०७४ मा शाहीसँग खड्का झण्डै ३ हजार मतान्तरले पराजित भएका थिए । क्षेत्र नम्बर २ मा २०७४ को निर्वाचनमा एमालेका नवराज रावतसँग पराजित भएका कांग्रेस नेता थानीले भने यस पटक नयाँ प्रतिस्पर्धी पाएका छन् । थानी २०७० को संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रदेशसभातर्फ कांग्रेसले चार वटा निर्वाचन क्षेत्रमध्ये २ वटामा मात्रै उम्मेदवार उठाएको छ भने २ वटामा माओवादीले उम्मेदवारी दिएको छ । कांग्रेसले सुर्खेत १ (क) मा खड्क पोखरेल र २ (क) मा कालिप्रसाद शाक्यलाई उम्मेदवार बनाएको छ । पोखरेलले एमालेका ठम्मर विष्टसँग प्रतिस्पर्धा गर्ने भएका छन् भने शाक्यले एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलसँग प्रतिस्पर्धा गर्दैछन् । स्मरण रहोस् १ (क) मा कांग्रेसका पोखरेलसँग प्रतिस्पर्धामा उत्रिएका एमालेका विष्ट ०७४ मा माओवादीबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

यस्तै १ (ख) मा माओवादीका कुष्ण जिसी गठबन्धनबाट उम्मेदवार बनेका छन् भने उनको प्रतिस्पर्धीको रुपमा एमालेका डण्डिप्रसाद शर्मा मैदानमा छन् । यद्यपि शर्माको बागीका रुपमा एमालेका खड्ग खत्री उभिएका छन् । खत्री ०७४ मा यही क्षेत्रबाट चुनाव जितेर मन्त्री भइसकेका व्यक्ति हुन् । उनी बागी उम्मेदवार उठ्नुमा एमालेकै नेताहरुको हात रहेको बताइन्छ । यस्तै क्षेत्र नम्बर २ (ख) मा माओवादीका विन्दमान विष्ट दोस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । ०७४ मा १५ हजार ६४८ मतसहित विजयी भएका विष्टले प्रदेशको अर्थ मन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । विष्टले यस पटक एमालेका ताराकेशर गौतमसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ को (क) र (ख) मा गठबन्धनभित्रको साझेदार दल एकीकृत समाजवादीले पनि आफ्नो उम्मेदवार उठाएको छ । (क) मा जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवाललाई सो पार्टीले उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीले प्रदेशसभातर्फ दुवै सिटमा गठबन्धनका उम्मेदवारसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने जनाएको छ ।

विगतका निर्वाचन परिणाम यस्तो थियो

सुर्खेतमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको तीन दशकलाई कोट्याउने हो भने दुवै दलको अवस्था उस्तै देखिन्छ । २०४८ को आम निर्वाचनमा यहाँका २ वटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । त्यतिबेला क्षेत्र नं.–१ बाट पूर्णबहादुर खड्का र २ बाट शिवराज जोशी विजयी भएका थिए । ०४९ को स्थानीय निर्वाचनमा पनि जिल्लामा कांग्रेस नै पहिलो भएको थियो । ५० गाउँपालिका र एउटा नगरपालिकामध्ये ३१ गाउँपालिकको अध्यक्ष, २९ उपाध्यक्ष र २७३ वडा सदस्य कांग्रेसले जितेको थियो भने एमालेले एक नगरपालिकासहित १८ अध्यक्ष, १९ उपाध्यक्ष र १४५ सदस्य जितेको थियो ।

०५१ को मध्यावधि निर्वाचनमा सुर्खेतमा ३ वटा निर्वाचन क्षेत्र भए । त्यतिबेला कांग्रेसबाट क्षेत्र नम्बर १ मा पूर्णबहादुर खड्का र ३ बाट शिवराज जोशी विजयी हुँदा २ बाट एमाले नेता यामलाल कँडेल विजयी भएका थिए । ०५४ को स्थानीय निर्वाचनमा भने कांग्रेस खुम्चिएको थियो । एमालेले ३७ अध्यक्ष, ३८ उपाध्यक्षसहित ६१.२६ प्रतिशत नतिजा प्राप्त गरेर पहिलो पार्टी बन्दा कांग्रेसले १३ अध्यक्ष र १३ उपाध्यक्ष सहित ३२.३१ प्रतिशतमा सीमित रह्यो ।

०५६ को संसदीय निर्वाचनमा कांग्रेसले पुनः वर्चश्व जमायो । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । जसअनुसार क्षेत्र नम्बर १ मा पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी र ३ बाट शिवराज जोशी विजयी भएका थिए । ०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भने कांग्रेस नराम्रोसँग पराजित भयो । नेकपा माओवादीले क्षेत्र नं.–३ मा जित्दा १ र २ एमालेले जितेको थियो । क्षेत्र नं.–१ मा एमालेका कमला शर्मा र २ मा यामलाल कँडेल विजयी भएका थिए भने ३ मा माओवादीका नरबहादुर विष्ट विजयी भए ।

०७० सालको निर्वाचनमा ३ वटै क्षेत्रमा कांग्रेसले जित हासिल ग¥यो । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहमध्ये ४ वटा नगरपालिकासहित ६ वटा स्थानीय तहको नेतृत्वमा कांग्रेस विजयी हुँदा एमालेले तीन वटा पालिकाको नेतृत्व पायो । गत वैशाख ३० को स्थानीय तहको निर्वाचनमा भने आन्तरिक कारणले कांग्रेसलाई केही घाटा लागेको छ । ०७४ मा जितेका वीरेन्द्रनगरसहित २ पालिका गुमाएर कांग्रेस ४ वटा पालिकामा सीमित भयो भने एमालेले ४ पालिकाकै नेतृत्व पाएको छ । यस्तै एउटा पालिकाको नेतृत्व भने माओवादीले जितेको छ ।

आसन्न निर्वाचनमा के होला ?

सुर्खेतलाई सत्तारुढ गठबन्धनले मात्र नभई नेकपा एमालेले पनि आसन्न निर्वाचनका लागि उत्तिकै महत्त्वका साथ लिएको छ । एमालेका लागि सुर्खेतका प्रतिनिधिसभा क्षेत्रभन्दा पनि प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) प्रतिष्ठाको विषय बनेको छ । भावी मुख्यमन्त्रीका रुपमा एमालेले यामलाल कँडेललाई यसै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

तर, अहिले परिस्थिति फेरिएको छ । उतिबेला वाम गठबन्धन अन्तर्गत उनलाई माओवादी केन्द्रको पनि साथ थियो भने अहिले उनकै दल एमाले विभाजित भएको अवस्था छ । अघिल्लो कार्यकालमै उनलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । तर, प्रदेशसभामा पहिलो दल भएर पनि उनी मुख्यमन्त्री बन्न सकेनन् । मुख्यमन्त्री बन्ने योजना अनुसार नै उनी फेरि प्रदेशसभामै उम्मेदवार बनेका छन् ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका कालीप्रसाद शाक्य उम्मेदवार छन् । कँडेल र शाक्यबीच ०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा पनि प्रतिस्पर्धा भएको थियो । ०७० मा बागी उम्मेदवार उठेर कँडेललाई पराजित गर्न सघाएका शिव उपाध्याय पनि नेकपा एकीकृत समाजवादीबाट यही क्षेत्रमा उम्मेदवार बनेका छन् । कँडेलका उनी परम्परागत प्रतिस्पर्धी हुन् ।

गठबन्धनका उम्मेदवार शाक्यले माओवादी केन्द्रको समेत पूर्ण समर्थन पाउने तर एमाले उम्मेदवार कँडेलले पार्टी विभाजनको असरका अतिरिक्त एमालेकै पूर्व नेता उपाध्यायसँगसमेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छ । जसले गर्दा उनलाई ठुलो चुनौती मिल्ने देखिन्छ । सुर्खेत २ (क) अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप