शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा नेपाली भलिबल, पुरुषका आठ र महिलाका चार टिम अर्को चरणमा

आइतबार, ३० असोज २०७९, २१ : ५८
आइतबार, ३० असोज २०७९

अमेरिकाको ओहायो राज्यको कोलम्बसमा जारी इन्ट्रा कप भलिबलको उद्घाटनका दिन शनिबार सम्पन्न लिग चरणका खेलहरूबाट आठ पुरुष टिम र चार महिला टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका भलिबल खेल संयोजक दीपेश प्रधानका अनुसार शनिबार सम्पन्न महिलातर्फको लिग चरणको खेलमा समूह एबाट फ्रेन्डसिप ओहायो र सर्भाइभर्स ओहायो विजेता र उपविजेता बनी सेमी फाइनलमा प्रवेश गरेका छन् । त्यसैगरी समूह बी बाट वीवाईएससी मिनिसोटा र बाना मेरिल्याण्ड सेमिफाइनलमा पुगेका छन् । यी चार टिमबीच आइतबार अमेरिकी समयअनुसार बिहानदेखि खेल हुनेछन् ।

त्यसैगरी पुरुषतर्फका २१ टिममध्ये शनिबारको खेलबाट आठ वटा टीम क्वार्टर फाइनलमा पुगेका छन् । समूह ए बाट सुदूर पश्चिम नेपाली समाज टेक्सास र म्याग्दी समाज न्यूयोर्क, समूह बी बाट योङ ब्लड पेन्सिलभेनिया र बेलमण्ट मेरिल्याण्ड, समूह सीबाट रिजउड नेपाली समाज न्यूयोर्क र एएनकेए लेक्सिन्टन केन्टकी तथा समूह डी बाट इन्ट्रा यल्लो कोलम्बस र बीवाईएससी मिनिसोटाले आइबार क्वार्टरफाइनल खेल्दैछन् ।

खेलको उद्घाटन ओहायो स्टेटका रिप्रिजेन्टेटिभ मार्क जोन्सोन र फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संयुक्तरूपमा एक समारोहका बीच गरेका थिए । सो अवसरमा स्टेट रिप्रेजेन्टेटिभ मार्कले नेपाली भाषी समुदायको ठूलो प्रतिस्पर्धात्मक खेल उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गर्दै खेलाडीहरूलाई बधाई तथा शुभकामना दिए ।

आयोजक संस्थाका अध्यक्ष अधिकारीले अमेरिकाका विभिन्न राज्यमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न भए पनि भलिबल खेलमा भविष्य बनाउने नेपालीभाषी युवा युवतीहरूलाई हौसला प्रदान गर्न आफूहरूले यो प्रतियोगिता आयोजना गरेको बताए । उनले खेलमार्फत नेपालका विभिन्न क्याम्प हुँदै अमेरिका आइपुगेका नेपालीभाषी भूटानीहरू, नेपाल, भारत, थाइल्याण्ड, बर्मालगायत विभिन्न देशमा बसोबास गर्दै अमेरिका आएका नेपालीभाषीहरूबीच भ्रातृत्वपूर्ण सामुदायिक सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एशोसिएसन (कोना) का अध्यक्ष डा. दामोदर पौडेलले अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीलाई यो खेलका माध्यमबाट पुनर्मिलन गराउन मद्दत पुगेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा सहभागी २१ पुरुष टीमका सबै खेलाडीलाई ढाका टोपी पहिर्‍याएर स्वागत गरिएको थियो भने महिला खेलाडीहरुलाई खादाले स्वागत गरिएको थियो । हल नै ढाका टोपी र नेपाली ढाकाको खादामय भएपछि नेपाली राष्ट्रगान गाइँदा हलको माहौल नै भावनात्मक बनेको थियो । उद्घाटन समारोहमा साना नानीहरूले मारुनी नृत्य र खेलाडी युवतीहरूले नेपाली राष्ट्रिय भावसम्बन्धी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप