शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जातीय अतिवादको मारमा अपूर्व: कुन उद्देश्यले लगाइयो चार मुद्दा ?

शुक्रबार, ०४ कात्तिक २०७९, १० : २७
शुक्रबार, ०४ कात्तिक २०७९

कमेडी गरेकै कारण कमेडियन अपूर्व क्षितिज सिंह यतिबेला चारवटा मुद्दा खेप्न बाध्य छन् । सिंहमाथि प्रहरीले जातीय भेदभाव तथा अपमानजनक व्यवहार गर्न नहुने, अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने, सामाजिक रीतिस्थितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोगमा एकैसाथ चार अभियोग लिएर अदालत गएको छ ।

बुधबार दर्ता गरिएको रिटमा अपूर्वलाई ५ वर्षसम्म कैदमा राख्न र निजबाट मनासिब क्षतिपूर्ति भराउन पनि माग गरिएको छ । एउटै घटनामा एक व्यक्तिलाई फरकफरक अपराध गरेको भन्दै प्रहरीले एकैपटक चार वटा फरक मुद्दा बनाएर प्रतिवेदन दियो र सरकारी वकिलले पनि प्रहरीको प्रतिवेदनलाई नै मुद्दा बनाएर अदालतमा दर्ता गरिदियो ।

नेवार समुदायका १०१ जनाको उजुरी तथा जाहेरीका आधारमा प्रहरीले अपूर्वलाई गत भदौ १२ गते बानेश्वरबाट पक्राउ गरी हिरासतमा लिएको थियो । पछि उनमा कोभिड सङ्क्रमण देखिएपछि रिहा गरेको प्रहरीले मुद्दा दर्ता गर्ने अघिल्लो दिन पुनः पक्राउ गरी अदालतमा पेस गर्‍यो । र, कात्तिक ३ गते बिहीबार काठमाडौँ जिल्ला अदालतले २ लाख ५० हजार धरौटी लिई अपूर्वलाई छाड्ने आदेश दियो ।

के थियो घटना ?

अपूर्व क्षितिज सिंह स्ट्याण्डअप कमेडियन हुन् । उनले गत असार ३१ गते बत्तीसपुतलीको ग्रासिया सेन्टरमा एक स्ट्याण्डअप कमेडी शो गरेका थिए । उनले नेवार समुदायको धर्म र परम्पराबारे कमेडी गरेका थिए । असार ३१ गते भएको कमेडीको भिडियो अपूर्वले भदौ १० गते आफ्नै युट्युबमा अपलोड गरे । नेवारको परम्परा शीर्षकको उक्त भिडियोमा अपूर्वले नेवार समुदाय, उनीहरुको धर्म तथा परम्पराप्रति केही आपत्तिजनक शब्द प्रयोग गरेका थिए । जुन कुरा अपूर्वले बयानमा पनि स्वीकार गरेका छन् ।

तर भदौ १० गते युट्युवमा अपलोड भएको उक्त भिडियोका विषयमा व्यापक आलोचना भएपछि अपूर्वले भदौ ११ गते नै उक्त भिडियो युट्युबबाट डिलिट गरेका थिए । साथै अपूर्वले सामाजिक सञ्जालबाटै नेवार समुदायको भावनामा चोट पुगेको भन्दै माफी मागेका थिए ।

तर अपूर्वको कमेडीबाट नेवाः समुदायको अपमान भएको भन्दै विरोध गर्नेमा सुरुवाती चरणमा सुमन सायमीको नाम आएको थियो । अपूर्वमाथि उजुरी दिएर जेल पुर्‍याउनेसम्मका काममा सुमन सायमीले भूमिका खेलेको र सायमीले जातीय अतिवाद देखाएको भन्दै उनको चौतर्फी आलोचना भयो । यद्यपि सायमीले एक अनलाइन पत्रिकामा अन्तरवार्ता नै दिएर अपूर्व प्रकरणमा आफ्नो हात नरहेको तर नैतिक समर्थन मात्रै रहेको भनेर उम्कने प्रयास गरेका थिए ।

अपूर्व क्षितिज सिंहले गल्ती स्वीकार्दै माफी मागे पनि उनलाई नछाड्ने अडानमा रहेका नेवाः समुदायका तर्फबाट पृथबिन्दु महर्जन लगायतका १०१ जना युवाले प्रहरीमा जातीय भेदभाव तथा छुवाछुत लगायतका चारवटा कसुरमा निवेदन दिए । अनि त्यही निवेदनका आधारमा प्रहरीले अपूर्वलाई पक्राउ गरी विभिन्न चार वटा मुद्दा चलायो ।

अपूर्वमाथि ५ वर्ष जेल सजायको मागदाबी !

प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अपूर्वमाथि चारवटा अभियोगमा मुद्दा दर्ता गरायो । नेपाल सरकार वादी भएर चलेको मुद्दामा अपूर्वमाथि मुलुकी अपराध संहिताको दफा ६५ अनुसार सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, दफा १६५ बमोजिम सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, सोही ऐनको दफा १६६ मा रहेको जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने कसुरमा तीन वर्ष कैद र तीस हजार रुपैयाँ जरिवाना र सोही ऐनको दफा १६८ बमोजिम अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाको मागदाबी लिएर गएको छ ।

जबकि एकै कसुरमा यसरी फरकफरक मुद्दा बनाएर लैजाने अभ्यास छैन र जुन सजाय सबैभन्दा बढी हुन्छ, कसुर अनुसार सोही दफामा टेकेर मुद्दा लैजाने गरिन्छ ।

प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा दायर गरिएको मुद्दामा लगाइएको अभियोगको दफा समेत केही अस्पष्ट राखिएको छ । जातीय भेदभावका विषयमा अन्य दफाले स्पष्टरुपमा बोलिसकेको अवस्थामा प्रहरीले मुलुकी अपराध संहिताको दफा १६८ पनि प्रयोग गरेको छ । जबकि यो दफा मुख्यतः बोक्सा वा बोक्सीको आरोपमा गरिने भेदभाव र सामाजिक बहिष्कारमा सम्बन्धमा बढी प्रयोग हुन्छ ।

मुलुकी अपराध संहिताको दफा १६८ मा यस्तो लेखिएको छ ।   

१६८. अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने :

(१) कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन ।

(क) बोक्सा बोक्सीको आरोप लगाउने,

(ख) बोक्सा बोक्सीको आरोप लगाई बसोबास गरेको ठाउँबाट निकाला गर्ने,

(ग) सामाजिक बहिष्कार गर्ने, वा

(घ) अन्य जुनसुकै काम गरी क्रूर, अमानवीय वा अपमानजन्य व्यवहार गर्ने ।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

ऐनको यो दफाको प्रयोग मुख्यतः बोक्सा वा बोक्सीको आरोप लगाउने व्यक्तिहरुविरुद्ध केन्द्रित छ । जातीय छुवाछुत वा भेदभावका सम्बन्धमा ऐनका अन्य दफाले स्पष्ट रुपमा बोलेपछि पनि धेरै सजाय गर्ने नियतका साथ प्रहरीले मुलुकी अपराध संहिताको दफा १६८ पनि जबरजस्ती लिएर आएको देखिन्छ ।

जातीय अतिवादको उदाहरण

कमेडियन अपूर्व क्षितिज सिंहले कमेडीका क्रममा बोलेका शब्द र वाक्य पाच्य छैनन्, उनले बोलेका शब्द र वाक्यले समग्र नेवाः समुदायको अपमान भएको कुरा उनी स्वयंले स्वीकार गर्दै माफी मागेका छन् र गल्ती नदोहोर्‍याउने प्रतिबद्धता समेत जनाइसकेका थिए ।

तर यति भइसक्दा प्रहरीले न्यूनतम सजाय गर्दा पनि न्यायको मकसद पूरा हुनसक्छ भन्ने तथ्यलाई बिर्सेर अधिकभन्दा अधिक सजायको मागदाबी लिएर जानु प्रहरी र जाहेरवाला दुवैको नियतमा खोट भएको आशङ्का गर्न थालिएको छ । १ वर्षसम्म कैद सजाय हुने मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने भएको कारण सोही अनुसारको मुद्दा लगेको भए पनि सायद कानुन र न्यायको मकसद पूरा हुन सक्थ्यो ।

तर भिडियो डिलिट गरेर माफी मागिसक्दा पनि नछाड्ने जातीय अतिवादी सोचका कारण कमेडियन अपूर्वमाथि पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना मागदाबी लिइएको सरोकारवाला बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप