शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल  संवत‍्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक : पर्यटनमन्त्री श्रेष्ठ

सोमबार, ०७ कात्तिक २०७९, १४ : ४२
सोमबार, ०७ कात्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई प्रवर्द्धन गर्न तथा व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् । चस्मति टोल विकास समितिले काठमाडौंको चस्मतिमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।

नेपाल संवतले राष्ट्रिय मान्यता पाएपनि व्यवहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै उनले सरकारले नेपाल संवतलाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए । नेपालको गौरव तथा मौलिक सम्बत नेपाल सम्बतको तिथिमितिलाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने भन्नेबारे सरोकारवालासँग छलफल गरी अघि बढ्ने उनले बताए । नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको रूपमा रहेको नेपाल संवतको  संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल संवतको प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिबद्धता समेत जनाए ।

प्रगतिशील सामाजिक अभियन्ता तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक संवत प्रचलनमा ल्याउने कार्यको मूल्यांकन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले यसअघि नेपाल संवतलाई राष्ट्रिय मान्यता समेत दिइसकेको छ ।

साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकोले लोकतन्त्र विरोधी शक्तिलाई परास्त  गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप