शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु विरामीलाई प्लेटलेट्स भनेर जुस दिइएपछि भारतमा एक जनाको मृत्यु

मङ्गलबार, ०८ कात्तिक २०७९, २१ : ०३
मङ्गलबार, ०८ कात्तिक २०७९

भारतको प्रयागराजका प्रदीप पाण्डेलाई डेंगु भएपछि ग्लोबल हस्पिटल र ट्रमा सेन्टर नामक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले पाण्डेको रगतमा १३ हजार प्लेटलेट मात्र बाँकी रहेको बताए । उनलाई तुरुन्तै ८ युनिट प्लेटलेट दिनुपर्ने र त्यसको व्यवस्था गर्न भनियो ।

मृतकका आफन्तले पछि बताए अनुसार- सूरमा एक ब्लड बैंक(एसआरएन)बाट तीन युनिट प्लेटलेट ल्याइएको थियो । बिरामीलाई यो दिँदा केही भएको थिएन । पछि ग्लोबल अस्पताल आफैले पाँच युनिट प्लेटलेट खरिद गरेको थियो । त्यो दिएपछि भने बिरामीको अवस्था नाजुक भयो । परिवारजनले विरामीलाई अर्को अस्पताल लगे, तर त्यसबेला बिरामीको हातको नसा फुटेर उनको निधन भयो । पछि बाँकी रहेको एक युनिट प्लेटलेटको ल्याब परिक्षण गर्दा त्यसमा प्लेटलेटको सट्टा केमिकल र मौसमको जुसले भरिएको पाइयो ।

सामान्यतया प्रति माईक्रोलिटर रगतमा १.५ लाख देखि ४.५ लाख प्लेटलेट्स हुनुपर्छ । योभन्दा बढी वा कम प्लेटलेट्स हुनु स्वास्थ्यका लागि राम्रो होइन ।

प्लेटलेट कम हुँदा के समस्या हुन्छ ?
प्लेटलेटको कमीलाई ‘थ्रोम्बोसाइटोपेनिया’ भनिन्छ । कम प्लेटलेट्स काउन्टका प्रमुख लक्षणहरूमा सरिरका घाउचोट निको नहुनु, घाउबाट आउने रगत नजम्नु, गिजाबाट बारम्बार रगत बग्नु, नाकबाट रगत बग्नु आदि हुन् । प्लेटलेट्स कम भएमा आन्तरिक रक्तस्राव अर्थात् शरीरको भित्री अंगमा रगत बग्ने खतरा पनि हुन्छ । यो अवस्थाबाट बच्न बिरामीलाई प्लेटलेटहरू दिइन्छ।

डेंगुमा प्लेटलेट्स किन घट्छ ?
डेंगु हुँदा त्यसको भाईरसले मानव शरीरको ‘बोन म्यारोमा’ आक्रमण गर्छ । हाम्रो शरीरको यही भागमा प्लेटलेट्स बन्ने भएकाले त्यसमा असर पछि उत्पादनमा असर पर्छ । त्यसैले डेंगु हुँदा प्लेटलेट्स कम हुन्छ ।

कम प्लेटलेट्स भएपछि माथि भनिएझैं नाक र गिजाबाट रगत बग्ने, दिसा र पिसाबबाट रगत आउने, महिलाहरूमा महिनावारीको समयमा धेरै रगत आउने, छालामा दागहरु आउने समस्या देखिन्छ । कहिलेकाहीँ विरामीलाई आन्तरिक रक्तस्रावको जोखिम पनि हुन्छ, जसले व्यक्तिको ज्यानसमेत जान सक्छ ।

कसलाई आवश्यक हुन्छ प्लेटलेट्स ट्रान्सफ्युजन ?
तर अध्ययनले डेंगुका बिरामीमध्ये ५ प्रतिशतलाई मात्रै प्लेटलेट्स ट्रान्सफ्युज गर्नुपर्ने देखाएको छ । भारतमा डेंगु विरामीमाझ भएको अध्ययनमा डेंगुबाट पीडित ९० प्रतिशत बिरामीको प्लेटलेट काउन्ट १ लाखको हाराहारीमा रहेको पाइएको छ । 

त्यस्तै १०–२० प्रतिशत बिरामीमा मात्रै २० हजार वा सोभन्दा कम प्लेटलेट रहेको छ । यस्ता बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्छ तर यिनलाई निगरानीम राखिए पनि सबैलाई प्लेटलेटहरू ट्रान्सफ्युज आवश्यक पर्दैन । कुल विरामीको जम्मा ५% बिरामीलाई मात्रै आन्तरिक रक्तश्राव वा अन्य समस्या उत्पन्न हुने भएपछि प्लेटलेट ट्रान्सफ्युजन आवश्यक हुन्छ । बाँकी बिरामी केही दिनपछि डेंगु आफै निको हुन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप