सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देश कामले बन्छ कि प्रतिबद्धताले ?

शुक्रबार, ११ कात्तिक २०७९, १२ : ४३
शुक्रबार, ११ कात्तिक २०७९

नेपाली शब्द प्रतिवद्धतालाई अंग्रेजीमा ‘कमिटमेन्ट’ र हिन्दीमा ‘बादा’ भनिन्छ । सम्भवत  राजनीतिमा यो शब्द निकै नै प्रचलित र धेरै प्रयोगमा आउँछ । निर्वाचनको बेला त झन् सबै नेताले सक्ने नसक्ने सबै खालका प्रतिबद्धता गर्छन् । त्यसो त प्रत्येक दिन हामी आम मानिसले पनि नयाँ नयाँ प्रतिवद्धताहरु गरेका हुन्छौँ । मानिसका असीमित चाहनाहरुको पूर्ति गर्न व्यक्तिले आफूभित्रको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउँदा नयाँ नयाँ आविष्कार भएका हुन्छन् । र, यस्ता आविष्कारलाई हामी वैज्ञानिक चमत्कार पनि भन्ने गर्दछौँ ।

जब नयाँ आविष्कार हुन थाल्छन्, तब पुराना कुराहरु असान्दर्भिक हुन्छन् र सवै मानिस नयाँ कुरा प्राप्तीको चाहना राख्दछन् । जुन समाजका वा देशका आफ्ना आविष्कार हुँदैनन्, ती देश वा समाज अरुमा परनिर्भर हुन्छन् । जव उनीहरु परनिर्भर हुन्छन्, स्वभाविकै रुपमा आविष्कारकर्ताले वेलावेलामा उनीहरुलाई अपमान गरी नै रहन्छन् । परनिर्भर हुनु भनेको आफ्नो स्वतन्त्रता र सार्वभौमिकतालाई एक प्रकारले बन्धक राख्नु हो ।

अहिलेको विश्वमा देशहरुबीचको फरक भनेको नै आविष्कार गर्ने र अर्काले गरेको आविष्कारको उपयोग गर्नेहरु बिचको हो । यो आविष्कारको रुप फरक फरक हुन सक्दछ । तर सबै देशका राजनेताहरुले नयाँ आविष्कार गरी समृद्ध देश र समृद्ध जीवन बनाउने प्रतिवद्धता भने नियमित रुपमा नै गरिराखेका हुन्छन् ।

सम्भवतः नेपालमा नेताहरुले सबैभन्दा वढी प्रतिवद्धता व्यक्त गर्ने गर्दछन् । मानौ कि यो नै संसारका प्रतिवद्ध नागरिकको देश हो । एकजना विद्वानले भनेअनुसार संसारको सवैभन्दा निरीह चिज पनि प्रतिवद्धता नै हो, एकछिन हेरचाह नपाउने वित्तिकै यसको मृत्यु भइहाल्छ । त्यसकारण प्रतिवद्धतालाई सधै दोहोर्याई रहनुपर्दछ र सम्झिरहनु पर्दछ ।

शीत युद्धकालमा संसारलाई हतियार र शक्तिले नियन्त्रण गरेको थियो । तर आजको २१ औँ शताब्दीमा संसारलाई चेतना, विचार र आविष्कारले नियन्त्रण गरेको छ । जुन देशमा संसारकै धेरै मानिसले उपयोग गर्ने प्रकारका उत्पादन आविष्कार भएका छन्, तिनै देश धनी र शक्तिशाली छन् । जुन देशमा अरुको देशमा आविष्कार गरिएका वस्तु तथा शिक्षण पद्धतिको उपयोग गर्ने जमात ठूलो हुन्छ, ती देश गरिवी, अभाव र द्वन्द्वको चपेटामा रहेका हुन्छन् । त्यस्ता देशले आफ्नो देश र जनतामा अन्तरनिहीत संभावना र क्षमताको पहिचान गर्न सक्दैनन् । ती संभावना र क्षमताहरुको प्रस्फुटनको अभावमा सिंगो देश र जनता गरिव रहिरहन्छन् ।

आविष्कारको लागि औपचारिक शिक्षाको आवश्यकता पर्दैन । यो त केवल सीप र दक्षतालाई प्रस्फुटन गर्ने वातावरणमा भर पर्दछ । जब कुनै देशमा ग्रामीण तहदेखि विश्वविद्यालय स्तरसम्म आविष्कारका कुरा सुरु हुन थाल्छन्, तब त्यो देश विकासको मार्गमा छ भनेर अनुमान गर्न सकिन्छ ।

प्रसिद्ध व्यवस्थापक पिटर ड्रकरले कामलाई शारीरिक र वौद्धिक गरी दुई भागमा बाँडेका छन् र आजको जमानामा वौद्धिक काम गर्ने मानिस शारीरिक काम गर्ने मानिसको तुलनामा हजारौ गुणा समृद्ध हुन्छन् । उनका अनुसार ज्ञान भनेको नै अर्थशास्त्र हो र यसले त्यसैलाई पछ्याउँदछ, जसले आफ्नो क्षमताको पहिचान गर्न सक्दछ । आफ्नो संभावना र क्षमतालाई प्रस्फुटन गराई विकासको मार्गमा हिँडेका आधारमा संसारभरका देशलाई अतिविकसित, विकासशील र अतिकम विकसित गरी तीन भागमा विभाजन गरिएको छ ।

नेपाल अति कम विकसित देश हो भने आज भन्दा लगभग ३५ वर्ष पहिला नेपालकै हाराहारीमा रहेका सिंगापुर, दक्षिण कोरिया अहिले अति विकसित राष्ट्रको सूचीमा पर्दछन् । त्यस्तै मलेशिया, चीन, भारत, कम्बोडिया आदि देश विकासशील राष्ट्रको सूचीमा पर्दछन् । यसबाट पनि के प्रष्ट हुन्छ भने पिटर ड्रकरले भनेझंै यदि कुनै देशले आफ्नो देशको प्राकृतिक श्रोतको संभावना र नागरिकको क्षमतालाई पहिचान गर्न सक्यो र ती संभावना तथा क्षमतालाई प्रस्फुटन गराउन सक्यो भने ती देशमा विकास जादुमयी हुन्छ । र, सोचे भन्दा निकै छिटो सकारात्मक परिणाम प्राप्त हुन थाल्छ ।

नेपालमा सबै तह र तप्काका जनता समृद्धि र विकास त हेर्न चाहन्छन् तर विकास कसरी हुन्छ भन्ने कुराको सामान्य ज्ञान र प्राथामिकता निर्धारण नहुँदा यहाँ विकास हुन सकिरहेको छैन । काम गर्नु वा दुःख गर्नु मात्रैले विकास हुँदैन, त्यसका लागि भविष्यमुखी, स्पष्ट लक्ष्य र उद्धेश्य किटान गरिएको मार्गचित्र अनिवार्य हुन्छ ।

सन् १९२७ मा स्टालिनले तत्कालीन सोभियत संघमा योजनावद्ध विकासको सुरुवात गरेका थिए र तत्पश्चात सोभियत संघको विकास द्रुततर गतिमा भएको थियो । सिंगापुर, मलेशिया, चीन वा दक्षिण कोरियाको तीव्र गतिको विकासका पछाडि पनि राष्ट्रिय संभावनामा आधारित समग्र जनताको योग्यता, क्षमता र सीपलाई प्रस्फुटन गराउने भविष्यमुखी योजनावद्ध सोच नै प्रमुख कारण हुन् ।

नेपालमा विस २०१२ देखि नै योजनावद्ध विकासको सुरुवात गरिएको हो । तर वडो दुःखका साथ भन्नुपर्छ, आजसम्म पनि देशले गति लिन सकेको छैन । नेपालमा अहिलेसम्म पनि परनिर्भरतामा आधारित उपभोगवादी चिन्तन र संस्कृतिकै विकास भइरहेको छ । गलत योजना र प्राथमिकताका कारण ५० लाख भन्दा धेरै उत्पादन क्षमता भएको जनसंख्या विदेश पलायन भएको छ ।

यहाँको राष्ट्रिय श्रोत र साधनमा विदेशीको गिद्धे दृष्टि छ भने उत्पादनशील युवा शक्ति विदेशीको कब्जामा छन् । देश आज गलत नीति र योजनाको शिकार भएको छ । मेरो विचारमा यो भन्दा ठूलो राष्ट्रघात अर्को हुन सक्दैन ।

आज हाम्रो वास्तविक सार्वभौमिकतालाई सम्वर्द्धन गर्न जरुरी छ । यस्तो अवस्थामा विदेशिएको जनशक्तिलाई देशमै फर्काउने, देशका संभावनालाई अवसरमा बदल्ने र ऐतिहासिक रुपमा समृद्धिको मार्गमा नेतृत्व गरेर समग्र समृद्धि चाहने नागरिकको इच्छा र चाहना पूर्ति गर्ने मार्गमा देशलाई दोहोर्याउन निर्वाचनपछि बन्ने नयाँ सरकारलाई ऐतिहासिक अवसर प्राप्त हुनेछ ।

अल्वर्ट आन्सटाइनले भनेझैं पटक पटक एउटै काम गरेर फरक परिणामको आस गर्नु भनेको पागलपन हो । यदि छिटो र दिगो विकास गर्ने हो भने सफलतावाट सिक्नु पर्दछ । छोटो समयमा चमत्कारिक विकास गरेका टर्की, चीन, दक्षिण कोरिया, सिंगापुर, मलेशियावाट सिक्नु पर्दछ ।

यदि देशले प्राथामिकता पहिचान गरेर पद्धति र स्थिति बसाल्न सक्यो भने चरम राजनीतिक अस्थिरताका बिच पनि विकास निरन्तर हुन सक्दछ । विकासका प्राथामिकता र संयन्त्रको निर्माणले विकासलाई निरन्तरता दिन्छ । अब नेपालको अगाडि दुईवटा अवसरहरु छन् । पहिलो जे चलिरहेको छ, त्यसकै निरन्तरता, दोस्रो समृद्धि र नयाँ भविष्य निर्माणको लागि विकासको प्राथामिकताको आमुल पुनसंरचना ।

देशलाई समृद्धिको मार्गमा दोहर्याउन यो देशको योजना पद्धति र विकासका प्राथमिकतालाई विना कुनै हिचकिचाहट आमुल परिवर्तन गर्नु पर्नेछ । यदि विगतका प्रधानमन्त्रीहरुले त्यस्तो हिम्मत गरेको भए देश समृद्धिको मार्गमा हुन्थ्यो ।

विकासको केन्द्रविन्दु भनेको जनता हुन्, न कि कुनै योजना वा आयोजना । जनताको लागि विकास आयोजना हो न कि आयोजनाको लागि जनता । यद्यपि विगतदेखि वर्तमान सम्मका योजनाविद्ले विकासको केन्द्रविन्दुमा ढुंगा माटो, गिटी बालुवा र छड सिमेन्टलाई नै राखे  । तर, दुनियाँको सफल उदाहरणले सिद्ध गरिसकेको छ कि विकासको केन्द्रविन्दु जनता हुन पर्दछ ।

पहिला दक्ष जनशक्ति भएपछि जनता स्वयंले दिगो भौतिक पूर्वाधारको निर्माण गर्दछन् । सबैले बुझ्नैपर्ने कुरा के हो भने विकासको नेतृत्व सरकारले गर्ने हो तर आम रुपमा विकास जनता स्वयम्ले नै गर्ने हो । जब ३ करोड जनता सबै आआफ्नो ठाउँबाट देश विकासमा योगदान दिन लालयित हुन्छन्, तब विकास जादुमयी तवरवाट हुन्छ ।

विकास कुनै एक जनाको ठेक्का हैन । अहिलेसम्म हाम्रा नेतृत्वकर्ता र जनता स्वयम्को वुझाइ पनि विकास सरकारले गरिदिने हो भन्ने छ । सरकार आफूलाई विकासको ठेकदार ठान्छ र जनतालाइ रैती सम्झेर योजना वनाउँछ । परिणामतः न त जनताले विकास आयोजनाको वारेमा थाहा पाउँछन्, न त अनियमितता उपर प्रश्न नै उठाउन पाउँछन् ।

एक त विकासको प्राथामिकता नै ठीक छैन, अर्को भइरहेको विकास प्रक्रियामा पनि जनताको स्वामित्वलाई बहिष्कार गरिएको छ । यस प्रकारको योजना पद्धति र विकासको प्राथमिकताले देशलाई गरिवीको मार्गमा डोर्याइरहेको छ ।

देशका सवल पक्षको पहिचान गर्न सक्ने, विगतका सफलताबाट सिक्न सक्ने, नागरिक र राष्ट्रिय स्वतन्त्रता तथा सार्वभौमिकताको आत्मसम्मानको रक्षा गर्न सक्ने, दूरदृष्टि र उच्च परिकल्पनाशीलता र वैज्ञानिक दृष्टिकोण भएको राजनेताको आवश्यकता देशले महसुस गरिराखेको छ ।

विज्ञान प्रविधि र वैज्ञानिक आविष्कार एवम् भूमण्डलीकरणका कारण संसारका सबै सूचना, उपकरण र प्रविधिहरुको सहज पहुँच र उपलब्धता नेपालमै हुन्छ । यस्तो अवस्थामा दुनियाँले ३० वर्षमा गरेको विकास नेपालले ५ वर्षमा गर्न सक्दछ ।

तर सहज प्रकारले आउने कमिशन, आफन्त, नातागोता, कार्यकर्तालाई राज्यसंयन्त्रमा हालीमुहाली गर्नबाट पूर्ण रुपमा मुक्त गराएर यस्तो विकासको नेतृत्व गर्न निर्वाचन पछि आउने सरकार तयार होला ? के ब्यवस्था परिवर्तनका नायकले समृद्धिको पनि नेतृत्व गर्न सक्लान् ? यसको उत्तर जनताले मतदान मार्फत् दिनेछन् ।

लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवस खनिया
दिवस खनिया
लेखकबाट थप