विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

यता पनि बालअधिकारको कुरा हुन्छ र ?

आइतबार, १३ कार्तिक २०७९, ११ : १४
आइतबार, १३ कार्तिक २०७९

कुरा हो, त्यस्तै ३५/३६ सालतिरको । म पाँचथर जिल्लाको साविक सुभाङ गाउँ पञ्चायतस्थित नीलगिरी प्रस्तावित मावि, जेभालेमा पढ्थेँ । त्यो मेरो पुर्खौली गाउँ हो । एक पटक हाइस्कुल भएर फेरि काटिएर फेरि हाइस्कुल बन्ने तरखरमा रहेको छ यो स्कुल ।

त्यसबेला तिहारमा देउसी खेलेर पैसा जम्मा गरी स्कुलको श्रीवृद्धिमा खर्च गर्ने निर्णय गरियो । यसका लागि बालबच्चा, हुर्केका सबै विद्यार्थीलाई जिम्मेवारी दिइयो । देउसी खेल्दै जाँदा माथिल्लो गाउँ पुगियो । निकै दिन भइसकेको थियो । पहाडको ठाउँ, गतिला लुगा नहुने, हिउँद छिप्पिदै गएकोले सबैका गला बसेका थिए । म नाच्न त पटक्कै नजान्ने, तै पनि क्लासको फस्र्ट ब्वाइ भएकाले जिम्मेवारी निभाउन होला मलाई पनि लगिएको थियो ।

माथिल्लो गाउँका महाजनकोमा बिहान झुल्के घाममा पुगियो । हाम्रो सञ्चालक समितिमा ती महाजनका सम्धी पनि रहेछन् । सञ्चालक समितिका मानिस पनि देउसीमा संलग्न थिए । सम्धी आएपछि चिया त ख्वाउनै पर्यो । सम्धीलाई मात्र सुटुक्क दिन मिलेन । बालबालिका, शिक्षक गण सबै भएकाले सबैलाई चिया ख्वाउने महाजनले विचार गरेछन् । तर समस्या भयो चिनीमा । सबैलाई चिनीवाला चिया ख्वाए तिहारका लागि ल्याएको चिनी सबै सकिने भो । उनले वुद्धि ख्याएछन् । सम्धीलाई चिनीवाला चिया दिने, अरुलाई सादा चिया ।

जब सम्धीले ओहो, यो चियामा त चिनी पो हालेको रहेछ । मलाई त चिनी खानु हुँदैन, भने । ऊ बेलामा पनि चिनी खान नहुने रोग लागेका मानिस कति भीआइपी होलान् ? त्यसमा पनि पहाडमा । जहाँ दैनिक उकालो ओरालो गर्नैपर्ने ठाउँ ।

मैले पनि चिया खाएँ, गुलियो भएन । साथीलाई सोधें, उसको पनि सादा चिया । हुँदाहुँदा हल्ला भयो । हाम्रोमा त चिनी छैन । गुरुहरुलाई समाल्न गाह्रो । चुप लाग भने । चुप त लागियो तर त्यो घरबाट हिँडेपछि खुब हाँसियो । ऊ बेलामा पैसा कमाउन, घर व्यवहार चलाउन र इज्जत जोगाउन यति कठिन छ भन्ने के थाहा र ?

यो क्रम आजसम्म पनि चलेकै छ । बितेका ४५ वर्षमा देशमा कति परिवर्तन भए । कहाँका मान्छे कहाँ पुगे । तर तिहारमा वा कुनै महाजन वा कुनै ठूला नेताको जन्मोत्सव वा सवारीमा बालबालिकाको प्रयोगमा भने कमी आएको छैन । तिहारका दिन पनि विभिन्न क्लब, समाज, संगठन आदिका कार्यक्रममा यसरी नै बालबालिका प्रयोग हुँदै आएका छन् ।

ट्राफिक प्रहरीको सचेतना वा चलचित्र वा पार्टीहरुका कार्यक्रम जताततै बालबालिकाको प्रयोग गरिन्छ । अझ यति सम्म कि मँहगो शुल्क लिएर सेवाग्राहीका रुपमा खोलिएका निजी स्कुलमा पढ्ने धनीदेखि गरीबका छोराछोरी पनि यसरी सडकमा प्रयोग गरिएका छन् । चाहे सचेतनाका नाममा होस् या विकासका नाममा ।

जान्दैन भनौं भने देशले बालबालिकासम्बन्धि अभिसन्धिमा हस्ताक्षर पनि गरेको छ । बाल अधिकारका लागि संघसंस्था पनि खोलिएका छन् । तर किन यसरी बालबालिका प्रयोग गरिन्छन् त ?

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८९ को नोभेम्बर १९८९ मा प्रस्ताव नम्बर ४४÷२५ बाट पारित गरी सेप्टेम्बर १९९० देखि लागू गरिएको बाल अधिकारसम्बन्धि महासन्धिको धारा २ को उपधारा १ मा यस्तो व्यवस्था गरिएको छः राज्यपक्षहरुले यस महासन्धिमा उल्लेखित अधिकारलाई बालबालिका वा निजको आमाबाबु वा कानूनी अविभावकको जात, रंग, लिंग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय, जातीय वा सामाजिक उत्पत्ती वा कुनै प्रकारको भेदभाव बिना आफ्नो अधिकार क्षेत्रभित्र प्रत्येक बालबालिकाको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नेछन् ।

यो अभिसन्धिको नेपाल पनि हस्ताक्षर गर्ने मुलुक हो । यदि त्यसो भए यी सडकमा यो जाडोमा नचाइएका बाल बालिकाहरुको अधिकार खोइ त संरक्षण गरिएको ?  ती ठूला बडाको सम्मानमा फूल बोकाइएका बालबालिकाको अधिकार हनन् भयो कि भएन होला ? अझ धार्मीक संस्थाहरुले पनि यस्ता कुरामा खासै ध्यान दिएको देखिँदैन । ती कथित् सामाजिक संघसंस्थाहरुको श्रीवृद्धिको लागि उफारिएका लालाबालाको अधिकार हनन् भएको कसले हेर्ने ?

अझ ती बालबालिकालाई कस्ता गीतमा नचाइन्छ ? पर्ख पर्ख मायालु, म पनि त आउँला, रेलको झ्याल समाएर सँगै भागुँला । यस्ता गीतमा नचाउन पाइन्छ ? ती बालबालिकाको मष्तिष्कमा कस्तो असर पर्ला । उनीहरुको दिमागमा भाग्नु शब्दको अर्थ के होला ?  मायालु शब्दको अर्थ कस्तो लगाउलान् ? अनि ती बालबालिका बढेर किशोरावस्थामा पुगेपछि होस्टेलबाट भागेर घुम्न नजालान् त ?

मन्टेश्वरी स्कुल र बालबालिका

अर्को प्रसंग, सँगै काम गरेका एकजना भाइले भने, ‘दाइ, एक दुई महिना मन्टेश्वरी स्कुल चलाइयो । पार्टनरसँग कुरा पनि मिलेन । त्यहाँ हुने अभ्यास पनि वडो खतरनाक लागेर छोडिदिएँ ।’ मलाई स्वाभाविकै लाग्यो छोडेको त । तर, खतरनाक कुरा के रहेछ भन्ने लागेर तुरुन्तै सोधें, ‘हैन, त्यस्तो खतरनाक कुरा के हो भाइ ?’

उसको जवाफ सुनेर छाँगाबाटै खसियो । कुरा के रहेछ भने मन्टेश्वरीमा आउने ससाना बालबालिकालाई सुताउन स्लिपिङ ट्याब्लेट ख्वाइने रहेछ । ओहो, ती बबुरालाई अहिले नै सुताउन ट्याब्लेट ख्वाए किशोरावस्थामा के खालान् ? कालो पदार्थ कि सेतो ?

हतार हतार बेलुका घर आएर छोरालाई सोधें, ‘बाबु तिमी स्कुलमा सुत्छौ ?’

‘अँ सुत्छु,’ उसले स्वभाविक जवाफ दियो ।

‘छुट्टीको दिन त सुत्दैनौ त ?’ भन्दा ‘खै स्कुलमा लन्च खाएपछि निद्रा लाग्छ’, भन्यो ।

लौ बित्यास पर्यो,  भोलिपल्ट कामै छोडेर उसको स्कुल गएँ । प्रिन्सिपललाई भेटेर बालबालिका सुताउन प्रयोग गरिने प्रविधिबारे प्रश्न राखें । उनले त्यस्तो केही अखाद्य वस्तु नख्वाइने जवाफ दिइन् ।

त्यसै दिन उनले बाबुलाई सोधिछन्, ‘तपाईंको पापा के गर्नुहुन्छ ?’

बाबुले भन्न नजानी पत्रिका भनेछ । पत्रकार भन्न जानेन । पत्रकार हो, के जाने भोलि यसबारे लेखिहाल्यो भने त कमाइ धमाइ बन्द होला भन्ने लागेछ कि क्या हो, भोलिपल्टदेखि उसलाई सुताइएनछ । सायद दालमा ट्याबलेट कम हाले होला ।

यो कुनै बनावटी कुरा होइन । आज पनि देशका जुनसुकै सहरमा जुनसुकै नाममा चलाइएका भए पनि मन्टेश्वरी हुन् वा प्लेग्रुप हुन्, यस्ता स्कुलमा पठाइने वार्षिक, १५ महिनाका, डेढ वर्षका, दुई वर्षका छोराछोरीहरुलाई दालमा स्लिपिङ ट्याब्लेट घोलेर ख्वाइन्छ र सुताइन्छ भन्ने सुनिन्छ । बालबालिका नाच्छन्, थाक्छन् र सुत्छन् भन्ने वहाना बनाइन्छ ।

याद गरौं, तिनै बालबालिका छुट्टीका दिनमा घरमा सुत्छन् कि सुत्दैनन् ? कामकाजी भएको निहुँमा कतै बालबालिकालाई लागू औषधका ग्राहक त बनाउँदै छैनौ हामी ?

यिनै स्लिपिङ ट्याब्लेट ख्वाएर सुताइएकाहरुबाट भोलि हामीले ऋषि सुनकहरु, बाराक ओबामाहरु, कमला ह्यारिसहरु, हिलारी क्लिन्टनहरु जन्माउनु छ । यताका नेताहरुको त उदाहरण दिनु पनि बालबालिकाको अपमान गर्नुजस्तै लाग्छ । यिनैबाट कवि, कलाकार, लेखक, वैज्ञानिक बनाउनु छ ।

त्यसैले, परिवारदेखि राज्य पक्षसम्म बाल अधिकारका लागि सजग हुने हो कि ? बालअधिकारका लागि काम गर्दै आएका संघ संस्थाहरुले यसबारे सोच्ने हो कि ? मानवअधिकार आयोगले नै यसबारे अनुसन्धान गराउने हो कि ? अथवा नागरिक समाजले नै यसबारे विचार गर्ने हो ।

समयमै सोचौं, उमेरसँगै औषधीले कामै नगर्ने पिढी बन्नबाट समयमै रोकौं । भोलि आजभन्दा अझ खतरनाक कोभिड वा डेंगु पक्का आउला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप