शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

विज्ञान कथा :  समुद्रको पानी

आइतबार, १३ कार्तिक २०७९, १२ : २७
आइतबार, १३ कार्तिक २०७९

‘बाबा ! यो खोलाको पानी कहाँ जान्छ ? मरेका मानिस जस्तै गएपछि फर्कदैन हो ? सँधै तलतिर गएको मात्र देख्छु, फर्केको कहिल्यै देख्या छैन ?’ आँगनमा खेलिरहेको छोरा विपीनले नजिकैको खोला देखाउँदै बाबु राघवलाई सोध्यो ।

‘होइन, बाबु त्यस्तो हुँदैन । संसार गोलो छ, सबै घुम्छन्, घुमिरहेका हुन्छन् । गएको गयै हुँदैन, हुनै सक्दैन । जो जो जान्छन् सबै स्वरूप बदलेर त्यतै फर्किरहेका हुन्छन्, जताबाट गएका हुन्छन् । खोलाको पानी पनि त्यस्तै हो । यिनीहरू पहिले नदीहरूमा मिसिन्छन् । त्यसपछि महानदीमा पुग्छन् र समुद्रमा पुगेर विलय हुन्छन् । अनि बिस्तारै यतै फर्कन सुरू गर्छन् ।’ बाबु राघवले नालीबेली लगाए ।

‘तल गएको पानी पनि माथितिर फर्कन्छ र ?’

‘किन र बाबु !’

‘समुद्रको पानी निकै गहिराइमा हुन्छ होइन र ?’

‘त्यो त हो । समुद्र गहिराइमै हुन्छन् । गहिराइमा हुने भएकैले अग्लो ठाउँको पानी त्यहाँ जम्मा हुन पुगिरहेका हुन्छन् ।’

‘त्यसो भए त्यहाँको पानी कसरी यतातिर आइपुग्छ होलान् भनेका नि ?’

‘हो, तिमीले ठीकै भन्यौ । त्यसै भएर स्वरूप बदलेर आउँछन् भनेको । उनीहरू सिधै यता आइपुग्दैनन् तर रूप बदलेपछि भने जहाँ पनि पुग्न सक्छन् ।’

‘स्वरूप बदल्ने भनेको के हो बाबा ! उनीहरूले कसरी स्वरूप बदल्न सक्छन् ?’

‘नदीनालाबाट बग्दै समुद्रमा जम्मा हुन पुगेका पानी लामो समयसम्म त्यतै रहन्छ । अनि बिस्तारै वाफ बनेर आकाशमा उड्न थाल्छन् र त्यही बाफ नै बादल बनेर यतातिर झर्न सुरू गर्छन्, जसलाई हामी पानी परेको भन्छौँ ।’

‘त्यसो भए यस खोलाको (उही छरछरे खोला देखाउँदै) पानी पनि समुद्रकै पानी हो त बाबा !’

‘हो बाबु !’

‘त्यसो भए अहिले त्यहाँको पानी कसरी आइपुगे त बाबा ! जब कि यता त पानी परेको छैन ?’

‘कुरा त्यसो होइन बाबु ! समुद्रको पानी जब बाफ बनेर उड्न थाल्छन् तब कोही बादल बन्छन्, कोही हिउँ बनेर पर्न सुरू गर्छन् । हाम्रा हिमालयहरू यसैबाट खडा भएका हुन् । बिस्तारै यी हिउँ पनि पग्लन सुरू गर्छन् र हिमनदी वा हिमताल बन्न पुग्छन् । केही पानी भने जमिनकै भित्र बगिरहेका हुन्छन् । तिनै जमिनभित्र बगेका पानी उपयुक्त ठाउँमा प्रकट हुन्छनु, जसलाई हामी मूल फुटेको भन्छौँ । हाम्रो छरछरे खोलाको पानी त्यही मूल फुटेर बगेको पानी हो । जब आकाशमा उडेका बादलले पानी पार्न सुरू गर्छन् त्यतिबेला भने खोला वा नदीहरू ठूला हुन्छन् । उनीहरू जति बढी पानी पर्छ त्यति नै बढी ठूला हुन्छन् । किनभने ती पानी पनि यिनै खोला वा नदीहरूमा जम्मा हुन पुग्छन् ।’ राघवले थप सम्झाउने प्रयास गरे ।

बाबुको कुरा सुनेर विपीनको एकछिन घोरियो तर चुप रहन भने सकेन । किनकि ऊ बढी नै जिज्ञासु स्वभावको थियो । बालकहरू सबै जिज्ञासु नै हुन्छन् । हमेशा केही न केही नयाँ कुरा जान्न र सुन्न चाहन्छन् । त्यसमा पनि विपीन बढी नै जिज्ञासु स्वभावको थियो । उसले थप तर्क गर्दै सोध्यो–

‘बादलहरू सबै समुद्री बाफबाटै बनेका हुन् त बाबा !’

‘हो बाबु ! त्यहीँका बाफबाटै बनेका हुन् ।’

‘त्यसो भए सबै बादलले पानी पार्न सक्छन् हो ?’

‘सबैले पार्न सक्दैनन् बाबु ! जुन बादल ओसिलो हुन्छ त्यही बादलले मात्र पानी पार्न सक्छ ।’

‘बादलहरू पनि ओसिलो र सुखा हुन्छन् हो ?’

‘हो बाबु ! कोही ओसिलो हुन्छ कोही सुखा । सुखा बादल उड्ने मात्र गर्छ । ओसिलो बादलले भने पानी पार्ने गर्छ ।’

‘एउटै बाफबाट बादल बन्छ भन्नु भएको होइन र ?’

‘हो, बादल बन्ने एउटै बाफबाट हो ।’

‘त्यसो भए कोही ओसिलो र कोही सुखा कसरी हुन पुग्छन् त बाबा !’

‘जुन स्थानमा बढी वन, जङ्गल छन्, रुख, बिरुवाहरू हुन्छन् । त्यस स्थानका बादल ओसिलो हुन्छन् । किनकि तिनले बादललाई ओसिलो बन्न सहयोग गरेका हुन्छन् तर जु्न स्थान सुखा छ त्यहाँका बादल भने सुखा हुन्छन् बाबु !’

‘कतै बढी पानी पर्ने, कतै कम पर्ने र कतै पर्दैनपर्ने हुनुको कारण त्यही हो त ?’

‘हो, वन, जङ्गल भएको स्थानमा पानी बढी पर्छ । जहाँ बढी हुन्छ त्यहाँ झन् बढी पर्छ  तर मरुभूमिमा भने पानी नै पर्दैन । किनकि त्यहाँ रुख, बिरुवा नै हुँदैनन् ।’

‘एऽऽ पानी पार्नका लागि वनजङ्गल जोगाउनुपर्ने रहेछ होइन ?’

‘हो तनि बाबु ! हाम्रो जीवन भनेकै वन, जङ्गल, रुख, विरुवा र वनस्पति हुन् । यिनीहरूलाई जति बढी जोगाउन सकियो त्यति बढी हाम्रो जीवन स्वस्थ हुन्छ । समयमा पानी पर्छ । पशुवाली तथा अन्नबाली सप्रन्छ । बाढी, पैह्रो तथा अति वृष्टि, अना वृष्टि जस्ता दैवी प्रकोप रोकिन्छ, जसले गर्दा माटोको उर्वरा शक्ति जोगिन्छ र हामीले बस्ने, खाने ठाउँ पाउँछौँ ।’

‘वन, जङ्गलले पैह्रो जान पनि दिँदैन हो बाबा !’

‘हो त नि ।’

‘त्यस्तो कसरी हुन्छ बाबा !’

‘प्रष्टै छ नि बाबु ! वन, जङ्गल तथा रुख बिरुवाको जराले माटोलाई मजबुत बनाउँछन्, जसले गर्दा वर्षातको पानीले बगाएर लान सक्दैन । जमिन बलियो भएपछि बाढी पैह्रोले पनि सितिमिति बगाउन सक्दैन । त्यसैले वन, जङ्गल जोगाउनुपर्छ, रुख, बिरुवा काट्नु्हुँदैन, काट्नै परे पनि अर्को रोपेर मात्र काट्ने बानी बसाउनुपर्छ बुझ्यौँ ?’

‘बुझेँ बाबा ! अबदेखि म पनि त्यस्तै गर्छु र साथीहरूलाई पनि यस्तै गर्न भन्छु ।’

उनीहरू बाबु छोराबीच यस्तै संवाद हुँदै थियो माथि जङ्गलबाट सिमसिम पानी पर्न सुरू ग¥यो । त्यसपछि उनीहरू खुसी हुँदै घरभित्र छिरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप