विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय

हत्यारा क्षुद्रग्रह : पृथ्वीको लागि ठूलो खतरा, ठोकिए डायनासोर झैँ थुप्रै प्रजाति नष्ट हुने

विहीबार, १७ कार्तिक २०७९, ११ : ५९
विहीबार, १७ कार्तिक २०७९

पृथ्वीको बाटोमा १.५ किलोमिटर चौडा उल्कापिण्ड आउन लागेको छ । यो कति खतरनाक छ भने यसको ठक्‍करले पृथ्वीमा जीवन समाप्त हुनसक्छ । अहिले यो सूर्यको पछाडि लुकेको छ । पछिल्लो ८ वर्षमा वैज्ञानिकहरूको नजरमा आएको क्षुद्रग्रहमध्ये यो सबैभन्दा ठूलो र खतरनाक हो । त्यसैले यसलाई प्लानेट किलर अर्थात् ग्रहको हत्यारा भनिएको छ । यसको वैज्ञानिक नाम २०२२ एपी७  हो । यसबारे भारतको एक सञ्चार माध्यम दैनिक भास्करले विस्तृत जानकारी दिएको छ ।

प्रश्न–१ : उल्कापिण्ड वा क्षुद्रग्रह के हुन् ?

उत्तर : ग्रहहरू जस्तै सूर्यको वरिपरि घुम्ने चट्टानहरू हुन् क्षुद्रग्रह । यद्यपि तिनीहरू ग्रहभन्दा धेरै साना हुन्छन् । यिनीहरूलाई प्लानेटोइड वा माइनर प्लानेट्स पनि भनिन्छ । क्षुद्रग्रह कहिलेकाहीँ ग्रहको गुरुत्वाकर्षणमा बाँधिएर तिनीहरूको चन्द्रमा बन्ने गर्छन् र  तिनीहरूलाई परिक्रमा गर्न थाल्छन् । जस्तै बृहस्पतिका केही चन्द्रमाहरू ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार क्षुद्रग्रह हाम्रो सौर्यमण्डलको निर्माणको क्रममा बनेका थिए । तिनीहरूको आकार सानो भएकाले तिनीहरूमा धेरै कम गुरुत्वाकर्षण हुन्छ । यसै कारण न तिनीहरूको आकार गोलाकार हुन्छ, न त तिनीहरूमा कुनै वातावरण छ । कुनै पनि दुई क्षुद्रग्रह समान हुँदैनन् । अहिलेसम्म लाखौं क्षुद्रग्रह पत्ता लागेका छन्, जसको आकार सयौं किलोमिटरदेखि केही मिटरसम्म छ ।

प्रश्न–२ : यिनीहरू पृथ्वीका लागि किन यति खतरनाक छन् ?

उत्तर : सबै क्षुद्रग्रह पृथ्वीको लागि खतरनाक छैनन्, किनकि यी सबै क्षुद्रग्रह पृथ्वीको बाटोमा छैनन् । वैज्ञानिकहरुका अनुसार पृथ्वी वरिपरि विभिन्न आकारका करिब ३० हजार क्षुद्रग्रह छन् ।

यी मध्ये, एक किलोमिटर भन्दा बढी व्यास भएका क्षुद्रग्रह ८५० भन्दा बढी छन् । यी सबैलाई ‘नियर अर्थ अब्जेक्ट्स’ (पृथ्वी नजिकको वस्तु) भनिन्छ । यी मध्ये कुनै पनि अर्को १०० वर्षसम्म पृथ्वीमा ठोक्किने अपेक्षा गरिएको छैन । यस्तो अवस्थामा यदि अचानक यस्तो क्षुद्रग्रह पत्ता लाग्यो भने त्यो आकारअनुसार खतरनाक हुनेछ ।

११४ वर्षअघि साइबेरियामा ८ करोड रुख जलेका थिए । हरेक वर्ष हज्जारौँ क्षुद्रग्रह पृथ्वीको वातावरणमा आउँछन् तर ठोक्किनु अघि नै छरिने गर्छन् । २० तले भवन जत्ति ठूलो क्षुद्रग्रहले एउटा सानो देशलाई पूर्ण रुपमा नष्ट पारिदिन सक्छ ।

१९०८ मा साइबेरियामा खसेको ४० मिटरको क्षुद्रग्रहले लण्डन शहरको बराबर जंगल नष्ट पारेको थियो ।

हालसम्म १० लाखभन्दा बढी क्षुद्रग्रहबारे पत्ता लागेको छ । करिब २७ हजार धर्तीबाट सूर्य जत्तिको टाढा छन् ।

प्रश्न–३ :  के पहिला पनि धर्तीसँग ठोक्किइसकेको छ ?

उत्तर : अधिकांश क्षुद्रग्रहहरू साना हुन्छन् र तिनीहरू पृथ्वीमा ठोक्किने बित्तिकै तिनीहरूको घर्षणबाट नष्ट हुन्छन् र कतिपय अवस्थामा त हामीलाई तिनीहरूबारे थाहै  हुँदैन । तर, कतिपय यस्ता पनि छन्, जुन खस्दा ठूला–ठूला खाडल बनेका छन् ।

लाखौँ वर्षअघि क्षुद्रग्रह अर्थात् क्षुद्रग्रहको टक्करका कारण पृथ्वीबाट डाइनोसर नष्ट भएको मानिन्छ । अर्थात्, ठूलो क्षुद्रग्रहको ठक्करका कारण, विशाल डायनासोरहरू गायब हुन सक्छन् भने अर्को ठक्करले पृथ्वीमा जीवन पनि नष्ट हुन सक्छ ।

भारत : क्षुद्रग्रह खस्दा लोनार ताल बन्यो

५.७० लाख वर्षअघि एउटा क्षुद्रग्रह खसेपछि महाराष्ट्रको बुलढाना जिल्लामा ४९० फिट गहिरो खाडल बनेको थियो । यसलाई लोनार क्रेटर भनेर चिनिन्छ । यो १.१३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । अहिले यहाँ एउटा ताल बनेको छ जसलाई लोनार ताल भनिन्छ ।

रुस : टुङ्गुस्कामा ८ करोड रूख नष्ट भएको थियो

जुन ३०, १९०८ मा साइबेरियाको टुङ्गुस्कामा एउटा क्षुद्रग्रह पृथ्वीमा ठोक्नुअघि जलेर नष्ट भएको थियो । जसका कारण करिब १०० मिटरको फायरबल बनेको थियो । यसको चपेटामा परेर आठ करोड रुख नष्ट भएका थिए ।

रुस : चेल्याबिन्स्कमा क्षुद्रग्रहको झट्काले १ लाख झ्यालका सिसा फुटेका थिए

१५ फेब्रुअरी २०१३ मा रुसको चेल्याबिन्स्कमा एउटा क्षुद्रग्रह ठोक्किएको थियो । तर, यो पृथ्वीभन्दा २४ किलोमिटर अगाडि नै नष्ट भएको थियो । ५ तले भवन (लगभग ६० मिटर) जत्तिकै ठूलो, यो क्षुद्रग्रहले ५५० किलोटन विस्फोट जत्तिकै ठूलो झटका तरंग उत्पन्न गरेको थियो । सो क्रममा एक लाख झ्यालका सिसा फुटेका थिए । यस क्रममा एक हजारभन्दा बढी घाइते भएका थिए । अमेरिकाले हिरोसिमामा खसालेको परमाणु बम जापानले १५ किलोटनको थियो । अर्थात् चेल्याबिन्स्कमा ठोक्किएको क्षुद्रग्रह हिरोसिमाभन्दा ३६ गुणा बढी शक्तिशाली थियो ।

प्रश्न–४ : अब वैज्ञानिकहरूले कुन क्षुद्रग्रह पत्ता लगाएका छन् ?

उत्तर : धेरै देशका वैज्ञानिकको टोलीले सूर्यको पछाडि लुकेका ३ वटा क्षुद्रग्रह पत्ता लगाएका छन् । यीमध्ये एक हो प्लानेट किलर । यो अन्तरिक्षको त्यो क्षेत्र हो जहाँ सूर्य धेरै चम्किलो रूपमा चम्कन्छ । यस कारणले त्यहाँ केहि पनि देख्न गाह्रो छ ।

यो प्लानेट किलर क्षुद्रग्रहलाई ल्याटिन अमेरिकी देश चिलीको भिक्टर एम ब्लान्को टेलिस्कोपमा कालो पदार्थको अध्ययनका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणको सहयोगमा देखिएको हो । यसलाई हेर्नका लागि वैज्ञानिकहरूले सूर्यास्तको समयमा हरेक दिन २ देखि १० मिनेटको समय मात्रै पाउँथे । यतिबेला मात्रै सूर्यको किरण अलि हल्का हुने गर्दथ्यो ।

थुप्रै अब्जरभेटरी अर्थात् ठूलो दुरबिनको सञ्चालन गर्ने अमेरिकी अनुसन्धान समूह नोइरल्याबले यो क्षुद्रग्रह पछिल्लो ८ वर्षमा पत्ता लागेकामध्ये सबैभन्दा ठूलो चट्टानी पदार्थ भएको र यो निकै खतरनाक भएको बताएका छन् । अनुसन्धान अक्टोबर ३१ मा द एस्ट्रोनोमिकल जर्नलमा प्रकाशित भएको थियो ।

प्रश्न–५ : नयाँ क्षुद्रग्रहलाई किन प्लानेट किलर भनिएको हो ?

उत्तर : वासिङ्टनको कार्नेगी इन्स्टिच्युशन फर साइन्सका अन्तरिक्ष वैज्ञानिक स्कट शेपर्ड यस अनुसन्धानका प्रमुख लेखक हुन् । शेपर्ड भन्छन्, ‘२०२२ एपीसेभेनको मार्ग पृथ्वीको कक्षबाट गुज्रन्छ जसले यसलाई खतरनाक किलर एस्टेरोइड बनाएको छ ।’

प्रश्न-६ : ​​के यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किनेछ ?

उत्तर : स्कट शेपर्डका अनुसार पृथ्वीमा ठोक्किने खतरा अर्को शताब्दीसम्म रहनेछ । त्यसैले यो अर्को शताब्दीसम्म ठोक्किने सम्भावना छ । तर शेपर्ड भन्छन्, ‘धेरै ग्रहहरूको गुरुत्वाकर्षणले खेललाई विचलित पार्न सक्छ र त्यस्ता क्षुद्रग्रहहरूको मार्ग परिवर्तन गर्न सक्छ । त्यसैले दीर्घकालीन सुरक्षाको ग्यारेन्टी हुन सक्दैन ।’

प्रश्न –७ : यदि यो पृथ्वीसँग ठोकियो भने के हुन्छ ?

उत्तर : अन्तरिक्ष यात्री स्कट शेपर्ड भन्छन्, ‘यदि यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्कियो भने परिणाम विनाशकारी हुनेछ । क्षुद्रग्रहको ठक्करका कारण उड्ने धुलोका कारण सूर्यको किरण धर्तीसम्म पुग्नेछैन । बिस्तारै पृथ्वी चिसो भएर यहाँका जीवन विनाश हुनेछ ।’

प्रश्न ८ : के क्षुद्रग्रहलाई पृथ्वीमा ठोक्किनबाट रोक्न सकिन्छ ?

उत्तर : सकिन्छ । यदि हामीले पहिले नै क्षुद्रग्रह पत्ता लगायौँ भने, त्यसबाट बच्न केही समय पाउन सक्छौँ । यस्ता क्षुद्रग्रहबाट बच्नको लागि, एक अन्तरिक्ष यान त्यसतर्फ पठाउन सकिन्छ, जुन त्यससँग ठोक्किन्छ र अन्तरिक्षमा नै नष्ट हुन्छ । वा यसको बाटो नै  परिवर्तन गर्न सकिन्छ । समय कम भएमा यस क्षुद्रग्रहमा बम पनि फाल्न सकिन्छ ।

सेप्टेम्बर २०२२ को अन्त्यमा, एक प्रयोगको रूपमा, नासाले आफ्नो यान डार्ट अर्थात् डबल एस्टेरोइड रिडायरेक्शन टेस्टको साथ एउटा क्षुद्रग्रहलाई प्रहार गर्‍यो । यो टक्करलाई प्लानेटरी डिफेन्स टेस्ट नाम दिइएको थियो । यसमार्फत वैज्ञानिकहरूले पृथ्वीका लागि खतरा हुनसक्ने क्षुद्रग्रहको बाटो भविष्यमा कसरी परिवर्तन गर्न सकिन्छ भनेर परीक्षण गर्न चाहन्थे । प्रयोग धेरै हदसम्म सफल पनि रह्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एजेन्सी
एजेन्सी
लेखकबाट थप