शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके–३ मा कांग्रेसका किशोर सिंह राठौर भर्सेस एमालेका किस्मत कक्षपति

कसका एजेण्डा कस्ता ?
आइतबार, २० कात्तिक २०७९, १३ : ५७
आइतबार, २० कात्तिक २०७९

बाँके क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र एमाले जिल्ला अध्यक्ष तथा खजुरा गाउँपालिका निवर्तमान अध्यक्ष किस्मत कक्षपति बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल भएको छ ।

२०७४ सालको निर्वाचनमा एमालेका नन्दलाल रोकायले यस क्षेत्रमा नेपाली कांग्रेसका बादशाह कुर्मीलाई पराजित गरेका थिए । कुर्मी अहिले प्रदेशसभातर्फ उम्मेदवार छन् । प्रदेशसभाकै अर्को क्षेत्रमा भने माओवादी केन्द्रका आइपी खरेल छन् । प्रतिनिधिसभातर्फ एमालेले रोकायलाई छाडेर कक्षपतिलाई उम्मेदवार बनायो । रोकाय अहिले कक्षपतिको चुनावी प्रचारप्रसार अभियानमा सक्रिय छन् ।

यस्ता छन् एजेन्डा

दुवै मुख्य उम्मेदवारले यहाँको भौतिक पूर्वाधारको विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । कांग्रेस उम्मेदवार राठौरले २०४८ सालदेखि यहाँबाट निर्वाचित हुँदै आएका सांसदले विकासमा ध्यान कम दिएको भन्दै आफूले भौतिक पूर्वाधार विकासलाई नै मुख्य प्राथमिकता राखेको रातोपाटीलाई बताए ।

उनले सडक, सिंचाई, स्वास्थ्यजस्ता विषय नै आफ्नो एजेन्डा रहेको बताए । उनले सिंचाई आयोजना, सुकुमवासी समस्याको दीर्घकालीन समाधानमा आफ्नो जोड रहने बताए ।

एमाले उम्मेदवार कक्षपतिले क्षेत्र नम्बर ३ मा रहेका तीनवटै गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण गर्ने, क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने, धम्वुजीचोकदेखि गुलरियाको सडक ४ लेन बनाउने, खुजुरामा बन्न थालेको लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउने, कृषिलाई व्यावसायिकीकरण गर्दै वैदेशिक रोजगारमा जाने क्रम रोक्ने आफ्नो एजेण्डा रहेको बताए ।

उनी खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । २०७४ सालमा चुनाव जितेपछि पालिकामा खासै परिणाममुखी काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ ।

यहाँ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सत्तारुढ गठबन्धन अगाडि देखिन्छ ।

यहाँ सत्तारुढ गठबन्धनमा रहेका दलहरुका वडा अध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा ४३ हजार ८९२ देखिन्छ । एमाले–राप्रपा गठबन्धनको मत जोड्दा २६ हजार ८०० मत देखिन्छ ।

स्थानीय तहको निर्वाचन अनुसार यहाँ कांग्रेसको २५ हजार ६८९, एमालेको २२ हजार १५९, माओवादीको १४ हजार ८१८, राप्रपाको ४ हजार ६४१, जसपाको ४ हजार १९९, नेकपा एकीकृत समाजवादीको २ हजार ३४८, लोसपाको एक हजार ३७ मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप