आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘फर्स्ट लेडीले डडेलधुराका जनतालाई हेपिराख्नु भएको छ’

मेडिकल कलेज मेरो कन्सेप्ट हो, देउवाको होइन : कर्णबहादुर मल्ल
मङ्गलबार, २२ कात्तिक २०७९, १३ : १३
मङ्गलबार, २२ कात्तिक २०७९

नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले यसपालिको चुनावमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हराउने दाबी गरेका छन् ।

उनले हालै गरेको पत्रकार सम्मेलनमा भनेका छन्, ‘मेरो ज्योतिषले मलाई भनेको छ, यस पटक तिम्रो ग्रहदशाले शेरबहादुर देउवालाई हराउने छ ।’ प्रस्तुत छ, स्थलगत रिपोर्टिङका क्रममा डडेलधुरा रहेका रातोपाटी प्रतिनिधिले कर्ण मल्लसँग गरेको कुराकानीको सम्पादित अंशः 

तपाईंको चुनावी तयारी कसरी अगाडि बढेको छ ? तपाईंको स्थिति के हो ?

यस पटक डडेलधुराका मतदाताले परिवर्तनको पक्षमा मत जाहेर गर्नुहुन्छ । नयाँ जनप्रतिनिधिका रूपमा ऐतिहासिक निर्णय गर्ने कुरामा म ढुक्क छ । डडेलधुराका २७ हजार घरधुरीमध्ये करिब ४० प्रतिशतको घर घरमै गएर मतदाताको आशीर्वाद लिने काम गरेको छु । प्रदेश (क) मा सूर्य चुनाव चिन्ह र प्रदेश (ख) मा लाल्टिन चुनाव चिन्हका उम्मेदवारलाई मत माग्ने र जिताउने अभियानमा छु ।

कांग्रेस वीपीले प्रदेश (क) मा एमाले र प्रदेश (ख) स्वतन्त्रसँग तालमेल गर्दा गन्जागोल जस्तो भएको देखिन्छ । यसले तपाईंलाई अप्ठ्यारो पार्दैन र भन्या ?

नेकपा एमालेले मलाई समर्थन गरेको छ । एमाले अध्यक्ष केपी ओलीले मलाई नि:शर्त समर्थन गर्छु भन्नु भएको थियो । मैले त्यही ढंगले बुझेको छु । मलाई मेरो जिल्ला र क्षेत्रमा आफूलाई सहज हुने गरी उम्मेदवारलाई समर्थन हुन्छ भनेर केपी ओली र अन्य नेताहरूसँग कुराकानी भएको थियो । तपाईंले भने जस्तो गन्जागोल देखिए पनि प्रदेश (क) मा पठानसिंह बोहरा र (ख) मा तारा जोशीलाई समर्थन गरेर नयाँ ढंगले जान खोजेको हुँ । यसमा मलाई असहज छैन, सहज नै छ ।

पहिले एमालेलाई समर्थन गरी पछि स्वतन्त्र उम्मेदवार बोकेर कर्ण मल्लले राजनीतिक इमानदारिता देखाउनु भएन भन्ने एमाले नेताहरूको आरोपलाई कसरी लिनुहुन्छ ? 

एमालेका साथीहरूको भनाइप्रति मेरो कुनै टिप्पणी छैन । प्रदेश (ख) मा मैले प्रस्ताव गरेको उम्मेदवारलाई समर्थन गर्ने विषयमा एमालेको सिंगो पार्टीले सहमति जनाएको थियो ।  डडेल्धुराको एमाले इन्चार्ज, अध्यक्षले पनि त्यो कुरामा समर्थन जनाउनु भएको थियो । म त्यही प्रस्तावअनुसार अगाडि बढिरहेको छु । एमाले डडेलधुराका कार्यकर्ताले पार्टीको हाइकमाण्डले गरेको निर्णयअनुसार साथ दिनुहुन्छ ।

डडेलधुरामा पहिलो र दोस्रो शक्ति कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । त्यसमा पनि बहालवाला प्रधानमन्त्रीसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । चुनौतीको पहाड कसरी छिचोल्नु हुन्छ ?

यो देशका बुद्धिजीवी, विकासप्रेमी, लोकतन्त्रवादी, जनप्रेमी सबैले आज देउवाजीलाई हराउनुपर्छ भनेर पटक पटक अभिव्यक्ति दिइराख्नु भएको छ । यहाँका मतदाता पनि देउवाजीबाट अपमानित भएको महसुस गरिराखेका छन् । त्यस्तै, फर्स्ट लेडीले यहाँका जनतालाई हेपिराख्नु भएको छ । यसका खिलाफमा ९१ हजार २०१ मध्ये बहुसङ्ख्यक मतदाता देउवाजीको खिलाफमा मतदान गर्न आतुर हुनुहुन्छ । 

देउवाका चुनावी कार्यक्रममा सबै यहाँका मतदाता होइन, अधिकांश सुरक्षाकर्मी छन् । यहाँकै मान्छे पनि ९० प्रतिशत हेलिकप्टर हेर्न गएका हुन् । बाँकी १० प्रतिशत प्रधानमन्त्रीको कार्यक्रममा खर्चवर्च मिल्छ भनेर जानेहरू हुन् । देउवाजी सातौँ पटक उम्मेदवार हुँदै गर्दा उहाँप्रति श्रद्धाभावले आएको एकजना मान्छे पनि छैन । उहाँलाई यस पटक मत नदिएर ससम्मान बिदाइ गर्छन् भन्नेमा म दुविधामा छैन । 

स्थानीय निर्वाचनको आँकडाले तपाईं प्रतिस्पर्धामै आउने अवस्था देखिँदैन । चुनाव जित्ने तपाईंको आत्मविश्वासको आधार के हो ?

०७४ मा स्थानीय निर्वाचनको मतअनुसार ११ हजारको मतान्तरमा बाम गठबन्धन अगाडि थियो । तर देउवाजीले परिणाम उल्ट्याउनु भएको थियो । पाँच वर्षअघि उल्टिएको परिणाम पाँच वर्षपछि पनि उल्टिन्छ । पाँच वर्षअघि उहाँले जनमत लिइसकेपछि देश, संविधान, राष्ट्रियता, हिन्दुत्वको विरुद्धमा गतिविधि देखाउनु भयो । यसका खिलाफमा यहाँको जनमत तयार छ । 

डडेलधुरामा देउवाले संविधान र व्यवस्था बचाएको प्रचार भइरहेको छ । देउवासँग तीन पटक प्रतिस्पर्धा गरेका खगराज भट्ट देउवासँग हारेको गर्व गरिराख्नु भएको छ । तपाईंको यस्तो आरोपलाई जनताले पत्याउलान् र ?

भट्टले देउवाजीको प्रशंसा गरिरहेका विषयमा कुनै टिप्पणी गर्न चाहन्न । उहाँले हिजो के गर्नु भयो, आज के गर्दै हुनुहुन्छ देखिएकै छ, भोलि के गर्नु हुन्छ, त्यो पनि देखिन्छ नै ।

मेरो प्रश्न देउवाजीलाई हो । ०४८ साल वैशाख २९ गते पहिलो निर्वाचनमा भोट माग्दै गर्दा गरेका बाचा सम्झिनु भएको छ कि बिर्सिनु भएको छ ? त्यो सम्झिनु भएको छ भने यहाँ मत माग्नु कुन मुखले आउनु भएको छ भन्ने हो । 

तपाईंले जित्दा डडेलधुराले के प्राप्त गर्छ ?

मैले जित्दा देशले जित्ने छ । डडेलधुराका हरेक मानिसको स्वाभिमान जित्ने छ । अवरुद्ध भएका विकासका ढोका खुल्ने छन् । ३० वर्षमा जे चिज प्राप्त गरेको छैन, त्यो प्राप्त हुन्छ । पश्चिम सेती र पञ्चेश्वर कार्यान्वयन गराउन सक्छु भन्दिन । बाँकी रहेका जति पनि विकासका पूर्वाधार छन्, आगामी पाँच वर्षमा पुरा गराउँछु । संविधानमा व्यवस्था भएको शिक्षा, स्वास्थ्य पूर्ण रूपमा अनुभूति गरेर व्यवहारमा लागू गर्ने छु । गरिबले न्याय किन्ने कुराको अन्त्य गराउँछु ।

यो कुरा पाँच पटक प्रधानमन्त्री भएको व्यक्तिले त गर्न सकेन भने एक जना सांसदले कसरी गर्न सक्छ ? सांसदको भूमिका ऐन, कानुन बनाउने मात्र हुन्छ । यी सब कसरी गर्न सक्नु हुन्छ, के छ आधार ?

शेरबहादुर दाइले चुनावको बेला मात्र विकासका कुरा गर्नुभयो । चुनाव जितिसकेपछि डडेलधुराको समस्याका विषयमा सुन्ने उहाँलाई फुर्सद हुँदैन । यसको एउटा उदाहरण धरानका मेयर हर्क साम्पाङलाई दिन सकिन्छ । 

धरानमा गिरिजाप्रसाद कोइराला, विजय गच्छदारजस्ता नेताले चुनाव जित्नु भयो । एमाले, कांग्रेस पार्टीका मेयर भए । तर धरानमा पानीको समस्या समाधान भएन । एक जना स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले धरानवासीलाई पानी खुवाउन सफल भए ।

काम गर्न पद होइन, इच्छाशक्ति चाहिन्छ । शेरबहादुर देउवालाई डडेलधुराका जनताले ६ पटक जिताउँदा पनि यहाँ गर्व गर्ने लायक एउटा काम गरेको छु भन्न सक्नुहुन्छ उहाँ ? सक्नु हुन्न ।

गरेकै केही छैन । मेडिकल कलेज र एयरपोर्ट बनाउने भिजन पनि उहाँको होइन । मेडिकल कलेज मेरो कन्सेप्ट हो भने एयरपोर्ट तारा जोशीजीले ९ वर्षअघि सुरुवात गरेको विषय हो ।  त्यो शेरबहादुर देउवाको सपना होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप