शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

बुधबार, २३ कात्तिक २०७९, ११ : २९
बुधबार, २३ कात्तिक २०७९

अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् ।  डेमोक्रयाट उम्मेदवार उनी विजय भएसँगै इतिहास रच्न सफल भएकी छन् ।  

उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरूको तर्फबाट भने उनी पहिलो बनेकी छन् ।  उनले सम्पन्न मतपरिणाममा उनले ३५ हजार ४९३ मत पाइन् । नोभेम्बर ८ का दिन भएको विधान सभा सदस्यको दौडमा उनले रिपब्लिकनका प्याट्रिक शेहनलाई हराएकी हुन् । 

उनको क्षेत्र १०३ औँ हो भने उनले विधानसभा डेमोक्र्याटिक प्राथमिक निर्वाचनमा १३ कार्यकालसम्म विजयी भएकी केभिन काहिललाई पराजित गरेकी थिइन् । श्रेष्ठ पहिलो पुस्ताकी नेपाली–अमेरिकी हुन । न्युयोर्ककी युवा अमेरिकी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।

यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा.ह्यारी भण्डारी  विजयी भएका छन् । उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् । अझै केही मत पेटिकाबाट आएका मतपत्र गन्न बाँकी  रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ । उनले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिएका छन् ।

अघिल्लो कार्यकालमा  गरेको कामको  मूल्यांकन गर्दै मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वास गरेको उनको भनाइ  छ। यसपटक कडा प्रतिस्पर्धा रहेको भए पनि डा.भण्डारीले उनका प्रतिद्वन्द्वीलाई हराई थप ४ वर्ष जनताको सेवा गर्ने मौका पाएका छन् । 

उनलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्स लागेका थिए । डा.ह्यारीविरुद्ध मेरिल्याण्डका रिपब्लिकनका ट्रम्पका कट्टर समर्थक गभर्नरका उम्मेदवार डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका थिए ।

डा.भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जनसंख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप