शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय

समाचकेवाको विविध आयाम

बुधबार, २३ कार्तिक २०७९, ११ : ५८
बुधबार, २३ कार्तिक २०७९

समाचकेवा थारू समाजको एक विशिष्ट साँस्कृतिक विम्ब दर्शाउने पर्व मानिन्छ । कार्तिक पूर्णिमाको दिन समाचकेवा समापन हुने र दिदीवहिनीहरुले आ–आफ्ना दाजुभाईलाई आशिष दिई भातृप्रेम सम्झाउने गरिन्छ । आशिष दिने गीत यसरी गाइन्छः

अरही वोन के खरही कटाबल बृन्दा वोन बिट बाँस हे,

ओही बाँस के कोरो छपायल बाँन्हलक बंगला चौपाल हे,

ओही बंगला में सुते गेलै... भइया,

ओही बंगला में सुते गेलै कनिया भौजी

शिरी शिरी लागैछै वतास हे,

उठाबे गेलै...बहिनो उठू भौजी भइलै परात हे,

येहेन ननदो कतहूँ न देखलौ आधि आधि राती कहे परात हे,

आजु हय मोर कातिक मास, समा खेले गेलै घनश्याम हे ।

यस लेखमा समाचकेवाको ज्ञान, सामाजिक–साँस्कृतिक तथा राजनीतिक विषयमा चर्चा गरिएछ ।

सामाजिक–साँस्कृतिक पक्ष

अनुसन्धाता टम रोबर्टसनका अनुसार थारू जंगल नजिक बस्ने जाति हुन् । समाचकेवा पनि बृन्दावन नजिकको मानव बस्तीको साँस्कृतिसंग सम्बन्ध राख्दछ । कृष्णको छोरा शाम्ब र छोरी श्यामा समाचकेवाको मूल चरित्र हुन् । यो पर्व कार्तिक शुक्ल पक्षमा मनाउने चलन छ ।

कथाअनुसार कृष्णकी छोरी श्यामा आफ्ना संगीहरुसंग वन विचरण गर्ने र घरको काममा सघाउने गर्थिन् । उनको चक्रबात भन्ने केटोसंग प्रेम सम्बन्ध हुन्छ । उनीहरुको प्रेम सम्बन्धमा फाटो ल्याउन चुगला भन्ने पात्र हुन्छ । चुगला गाउँमा अशान्ति रुचाउने पात्र हो ।

चुगलाले छोरी श्यामा चक्रबातसंग अनैतिक सम्बन्धमा रहेको कृष्णको कानमा भरिदिन्छ । यसले कृष्णलाई विक्षिप्त बनाउँछ । अन्ततः कृष्ण छोरी श्यामालाई मानव जुनी नफापेको भनी उनलाई पंक्षीको रुपमा चकेवा बन्नु भनी श्राप दिन्छन् । त्यस दिनदेखि श्यामा चकेवा भएर तलाउमा जीवन विताउन थाल्छिन् । उता चक्रबात पनि प्रेम सफल बनाउन भगवान्को तपस्या गरी चकेवा बन्ने संकल्प लिन्छन् । अन्ततः उनी पनि चकेवा बन्छन् । यसरी दुइटै फेरि प्रेम सम्बन्धमा रहन पुग्छन् ।

बहिनीको सो दुःख देख्न नसकी शाम्ब बुवा कृष्णलाई खुशी पार्न भक्तिमार्ग अपनाउँछन् । भक्तिको वलमा एकदिन शाम्ब कृष्णलाई खुशी पार्न सफल हुन्छन् । सोही समय बुवा कृष्णलाई बहिनी श्यामा चक्रबातसंग चोखो प्रेममा रहेकोले उनीहरुलाई फेरि मानव जुनीमा फर्काउन कर गर्छन् ।

छोराको अनुरोधमा कृष्ण ती चकेवा बनेका चक्रबात र श्यामा दुबैलाई मानव जुनी प्रदान गर्दै संगै जीवन जिउन विवाह सम्बन्धमा गाँसिदिए । यसरी वहिनीलाई उद्धार गरी भाइले स्मरणीय योगदान गरेको कारण भाइप्रेमको रुपमा समाचकेवा पर्व वर्षेनी कार्तिक पूर्णिमासम्म मनाइने चलन छ ।

उपरोक्त कथामा दर्शाइएअनुसार मानव समाज शान्तिको खोजीमा रहने गर्छ । शान्तिको अवस्थामा मात्र समाज प्रगति उन्मुख हुने भए पनि चुगला जस्ता पात्र हरेक समाजमा अशान्ति ल्याउन प्रयत्नशील रहन्छन् । त्यसैले समाचकेवामा चुगलालाई उनीहरुसंगै सम्मानपूर्वक पानीमा सेलाउने चलन छैन । बरु जुंगामा आगो लगाइ अपमानसहित खेततिर हुत्याउने गरिन्छ । यसरी चुगलाहरु अपमानित जीवन बाँच्न बाध्य हुन्छन् भन्ने सन्देश दिन खोजिएको छ ।

साँस्कृतिक पक्षमा कुकुर, भमरा, नर्तकी, नाह खेवैया, मृदगिंयाँ आदि सामाजिक अवयव प्रदर्शित गर्छन् । यसले समाज प्रकृतिमैत्री हुनुपर्ने ज्ञान दिन्छ ।

ज्ञान पक्ष

ज्ञान पक्ष समाचकेवाको महत्वपूर्ण ठानिन्छ । योसंग सम्बन्धित ज्ञान भनेको भक्ति हो । अर्थात् भक्ति मार्गमार्फत् समेत भगवान खुशी हुने सत्य स्थापित गर्छ । शाम्बले भक्ति मार्गमार्फत् बाबा कृष्णलाई खुशी बनाएको र श्यामालाई श्राप दिएर चकेवा बन्न लगाएको कृष्णको श्राप फिर्ता लिन बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै मानव जीवनमा भक्तिको महत्व छ भनी प्रमाणित गरेको छ । पूर्खाको उक्त ज्ञान आज पनि उत्तिकै महत्वका साथ स्वीकार गरिएको छ भन्दा अतिश्योक्ति नहोला ।

राजनीतिक पक्ष

समाचकेवाको राजनीतिक पक्ष चाखलाग्दो छ । समाजमा राम्रो र नराम्रो दुइटै गतिशील भई काम गरिरहेको सन्देश दिएर द्वन्द्वात्मक संघर्ष स्वीकार गरेको छ । चुगला नराम्रो पक्षको विम्ब हो भने शाम्ब राम्रो पक्षको तर राम्रो पक्षको सम्मानित स्थान अन्त्यतिर मात्र प्राप्त हुने भएकोले उनीहरुबिच संघर्ष चलिरहन्छ । अर्को पक्ष विश्लेषण गर्दा समाचकेवा गीति कथाको रुपमा पनि बुझिएको छ । यसमा एउटा गीतमा बहिनीलाई भाइले सान्त्वना दिदै भन्छ–

          भाई– बाबा के सम्पतिया हे बहिना आधा दाइये देबौ फाँट ।

          बहिनी– हम परगोतनी हे भइया मोटरिए के री आस ।

अर्थात् पैत्रिक सम्पतिमा वहिनीको आधा हक लाग्ने कुरा भाइले गरेको सुनेर बहिनीले म त अर्काको घर जाने मान्छे हुने भएकोले एउटा पोका भए नि पुग्ने जवाफ फर्काउँछे । सारमा समाजवादी चिन्तन समाचकेवामा देखिने गरेको र मानिस सद्भाव, प्रेमको भोका हुने गरेको सन्देश दिन्छ ।

भाइबहिनी बिचको सद्भाव प्रदर्शन गर्ने यो पर्वमा कृष्णजस्तो विवेकी अभिभावक पनि कहिलेकाहीँ भ्रममा परी आवेग प्रदर्शन गरेको देखिन्छ । तर समयको एउटा मोडमा आएर फेरि सम्हालिन पुग्दा समाज शान्ति उन्मुख भई प्रगति गर्छ । हाम्रा पूर्खाहरुले इतिहासको त्यो समयमा नै उदारवादी चिन्तन बोकेको पनि समाचकेवाले सन्देश प्रवाह गरेको छ ।

चक्रबात र श्यामाको पवित्र प्रेम सम्बन्ध अन्ततः विवाहमा परिणत भई समाजको वस्तुगत अवस्थाको चित्रण गर्दै आएको बुझ्न सकिन्छ । छुवाछुत अथवा जातपातको ज्ञान गौण बनाउने समाचकेवा प्रेमले मान्छे बाँच्ने गरेको तथ्य सप्रमाण पेश गर्छ ।

अन्त्यमा,

समाचकेवा भव्यताका साथ मनाउनुको अर्थ विशिष्ट ज्ञान जोगाउनु हो । समाजमा सद्भाव र प्रेमले मानिस बाँच्न सकिने एक महत्वपूर्ण आधार स्वीकार गर्न समाचकेवाले सघाउँछ ।

दोश्रो महत्वपूर्ण विषय राजनीतिक हो, जहाँ हामी जन्मजात नै समाजवादी हौं भन्ने दावी गर्छ । समाजवादको ज्ञान आज नयाँ मिमांशीय विधि र प्रक्रियाअनुसार दिन खोजेको देखिए पनि समाचकेवाले समाजवादको आधार सद्भाव र प्रेम हुने बोध गराएको छ । यसले मात्र आर्थिक वितरण समानताको आधारमा हुने प्रस्ताव गर्छ । यस अर्थमा समाजवाद हाम्रो लागि अनिवार्य ठहर भइ समाज गतिशील बन्न यही व्यवस्था नै लागु गर्न सक्ने हो भने शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ ।

समाचकेवा मनाउनुको अर्को महत्वपूर्ण पक्ष संस्कृतिको संरक्षण पनि हो । पहिचानजन्य राजनीतिलाई टेवा प्रदान गर्न र यसैको जगमा मजबूत लोकतन्त्रको अभ्यास गर्न समाचकेवाको योगदान रहन्छ । उदार पूँजीवादी लोकतन्त्र उपर उठ्ने प्रश्नहरुमध्ये सामूहिक अधिकार मुख्य ठहर्छ ।

आज लोकतन्त्रप्रति उठ्ने विविध प्रश्न साँस्कृतिक सापेक्षतावादको जगमा हल गर्न सकिने ज्ञान समाचकेवा पर्वले प्रदान गर्न सक्छ भन्ने दावी हो । यसलाई औपचारिकतामा सीमित गर्दै गर्दा अब त्यो भन्दा पर पूर्खाको ज्ञान र मिमांशामार्फत् विकास गर्दै लान जरुरी भइसक्यो । त्यसैले, पूर्खाको विरासतमा गर्व गर्दै त्यसलाई जोगाउनु भनेको आँखामा आँखा जुधाएर प्रश्न गर्नु हो । आफ्नो शिर उचो बनाउनु हो ।

सामाचकेवा तस्विरः सरला चौधरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

सीएन थारू
सीएन थारू
लेखकबाट थप