शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुकुमबासी बस्तीमा अनेक समस्या, नेतालाई भोटको चिन्ता

‘वेपत्ता बहिनी ल्याइदिए भोट मात्रै होइन मुटु, कलेजो नै दिन्छु’
आइतबार, २७ कात्तिक २०७९, १५ : १८
आइतबार, २७ कात्तिक २०७९

सुन्दरहरैंचा–५ को डिपुस्थित नमूना सुकुमबासी टोलमा झण्डै ५ दर्जन परिवार ऋषिदेव समुदायको छ । उनीहरुका आ–आफ्नै समस्या छन् । ७० वर्ष नाघेका मछिन्द्र ऋषिदेवको नागरिकता थियो । तर, अचारको डिब्बामा डुबेर नष्ट भयो । त्यसपछि उनले प्रतिलिपि बनाउन पाएका छैनन् । नागरिकता नभएकै कारण उनले सामाजिक सुरक्षा भत्ता पनि पाउँदैनन् ।

सोही टोलकी तारा ऋषिदेवले भोटको बेलामा मात्रै सबै नमस्कार गर्दै आउने गरेको बताउँछिन् । ‘काम गर्नु केही छैन । अघिल्लो पटक भनेको कसैले केही गरेन । हाम्रो समस्या भनेको जंगलको जग्गामा बसेका छौं । हामीलाई यहाँबाट जा भन्यो भने कहाँ जाने, थाहा छैन,’ उनी भन्छिन् ।

कौशिला ऋषिदेव, नन्दकुमार ऋषिदेवलाई आफ्नो क्षेत्रबाट को उम्मेद्वार छन् भन्ने पनि थाहा छैन । यहाँका बासिन्दा ट्याक्टरमा काम गर्ने तथा जंगलको दाउरा बेचेर गुजारा गर्छन् । सोही टोलका टुन्टे ऋषिदेव भने कति पटक भोट हाल्नु भनेर वाक्क छन् । ‘भर्खरै भोट हालेको कति पटक भोट हाल्नु । अस्ति भर्खर पनि हालेकै होइन ?’ उनी भन्छन् ।

सोही टोलका पर्रा ऋषिदेव र उर्मिला उरावले जन्मसिद्धका सन्तानलाई नागरिकता नदिएको भन्दै आक्रोश व्यक्त गरे । यहाँका धेरैको जन्मका आधारमा नागरिकता ल्याएका अभिभावक छन् । उनीहरु आफ्नो छोराछोरीले नागरिकता नपाएको र विदेश जान नपाएको भन्दै नेताप्रति आक्रोश व्यक्त गर्छन् ।

‘५ वर्ष अगाडि लालबाबुले जितेको हो । लालबाबु आउँदा पनि मैले त्यही प्रश्न गरें,’ उर्मिला उराव भन्छिन्, ‘जन्मसिद्धका छोराछोरीले नागरिकता पाउने गरी ५ वर्षमा काम गर्नुपथ्र्यो नि । त्यो गरेको देखिएन । नियम त उसैले बदल्नु पथ्र्यो नि त ।’

ऋषिदेव थरसँग विवाह गरेकी उरावले वस्तीको अवस्थाबारे भनिन्, ‘खोला नजिकै आएको छ, जाली चाहियो । लालबाबुले बनाउँछु भनेको थियो । तर, अहिलेसम्म बनाएनन् । अरु बस्तीमा घर घरमै धारा छ । यहाँ धारै छैन । हामीलाई रोजीरोटी पनि चाहियो ।’

वेपत्ता बहिनी चाहियो

अघिल्लो पटक निर्वाचन जितेको र पुनः अहिले उम्मेदवार बनेका एमाले नेता लालबाबु पण्डित मोरङ–६ मा पर्ने सुन्दरहरैंचा–५ मा हालै पुग्दा एक दलित महिलाले नसोचेको शर्त राखिन् । भोटका लागि उनको शर्त थियो, ‘१० वर्षदेखि बेपत्ता आफ्नी बहिनी विजया ऋषिदेव ल्याइदिनुपर्ने ।’

पण्डितले त्यसबेला खोजीको लागि पहल गर्ने बताएर हिँडे । त्यसपछि पुनः सो टोलमा उनी पुगेका छैनन् । ‘फेरि आएछन् भने मेरी बैनी खोइ भन्छु,’ वेपत्ता विजयाकी दिदी लहरी ऋषिदेव भन्छिन्, ‘जो भोट माग्न आउँदा पनि मैले सबैलाई भन्ने गरेको छु, मेरी बहिनी ल्याउनेलाई भोट दिन्छु, बहिनी ल्याइदिए भोट मात्रै होइन मुटु, कलेजो नै झिकेर दिन तयार छु ।’

लहरीको एउटै शर्तले जुनसुकै दलका उम्मेदवार तथा नेता अक्क न बक्क भएर फर्किन्छन् । ‘जबसम्म मेरी कान्छी बहिनी आउँदिन, तबसम्म कसैलाई भोटै दिन्न,’ उनी भन्छिन् ।

विजयाले सानैमा विवाह गरिन् । २० वर्ष उमेर हुँदा उनको काखमा २ वर्षकी  छोरी थिइन् । श्रीमान् ज्याला मजदुरी गरेर मात्रै छोरीको लालनपालनको समस्या भोगिरहेकी उनलाई सोही ठाउँका रुपक राईले ओमन पठाइदिने आश्वासन दिए । त्यहाँ जाँदा लाग्ने खर्चबर्च, कागजपत्र सबै उनै राईले मिलाइदिए ।

विजया ओमन पुगेको खबर पनि आयो । विदेश गएको ६ महिनासम्म परिवारमा सम्पर्कमै थिइन् । तर, त्यसपछि भने उनको खोजी खबर छैन । ‘वेपत्ता भएको १० वर्ष पुग्यो, अहिलेसम्म कुनै खोजी खबर छैन,’ उनका दाजु मनोज ऋषिदेव पनि भोट माग्न आउने उम्मेद्वारलाई लक्षित गर्दै भन्छन्, ‘जुनसुकै जोगी आओस् भिक्षा दिन छोड्दिन तर, त्यसको नियम पालना हुनुपर्छ । मेरो माग भनेको बहिनी ल्याइदिनुपर्छ ।’

धेरै वर्ष नआएपछि उनले गत असारदेखि बहिनी खोजिदिन धेरैतिर हार गुहार गरिरहेका छन् । ‘धनीमानीको पो मिडियामा कुरा आउँछ, प्रहरी चौकीले पनि खोजीनीति गर्छ । तर, हाम्रो गरीबको बोली नै बिक्दैन,’ उनी भन्छन्, ‘त्यो ठाउँमा जान हामीसँग पैसै छैन । मरेकी भएपनि हामीलाई खबर त चाहियो ।’

विजयाको छोरी अहिले १२ वर्षकी भइन् । उनी स्थानीय श्रीलाल प्राविमा कक्षा ४ मा पढ्छिन् । एक महिना अगाडि विजयालाई पठाउने रुपक राई उनको टोलमा आएका थिए । त्यसबेला उसले मैले पठाएको मान्छे फलानो फर्किए, चिलानो फर्किए भनेर टोललाई अश्वास्त पार्न खोजेको उनका आफन्त बताउँछन् ।

रुपकले विजयालाई बेचेको हुन सक्ने स्थानीय महिला नेतृ लता न्यौपानेले बताइन् । ‘ओमान भनेर भारत लगेको पनि हुन सक्छ,’ न्यौपानेले आशङ्का गर्दै भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप