शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली भारी मतान्तरले हार्दै हुनुहुन्छ : डा. खगेन्द्र पाण्डव अधिकारी

‘राम थापाले मलाई सहयोग गर्नुहुन्छ’
मङ्गलबार, २९ कात्तिक २०७९, १५ : २६
मङ्गलबार, २९ कात्तिक २०७९

झापा निर्वाचन क्षेत्र नम्बर–५ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका खगेन्द्र पाण्डव अधिकारीले एमाले अध्यक्षसमेत रहेका सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीले भारी मतान्तरका साथ हार्ने दावी गरेका छन् । ‘

बिग टक त गर्न पाइयो’, अधिकारीले रातोपाटीसँगको कुराकानीमा भने, ‘मैले पनि उहाँले नदेखेजस्तै अहिले प्रतिस्पर्धी देखिरहेको छैन । त्यसैले प्रतिस्पर्धा छ, तर यसपाली उहाँ भारी मतान्तरले हार्दै हुनुहुन्छ ।’ उनले ओली आफ्नो निर्वाचन क्षेत्रमा रक्षात्मक अवस्थामा रहेको पनि दाबी गरे ।  प्रस्तुत छ सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका अधिकारीसँग चुनावी तयारी र स्थानीय अंकगणितबारे झापा पुगेर रोहित दाहालले गरेको कुराकानीः

कस्तो चलिरहेको छ चुनावी प्रचार अभियान ?

प्रचार अभियानका क्रममा उत्साहजनक र सकारात्मक रेस्पोन्स पाइरहेको छु । आम मतदाताबाट विजयको आशीर्वादसहित उहाँहरूले गाइड गरेर साथसाथै लिएर हिँडिरहनुभएको छ । झापा–५ मा यस्तो उत्साह २०५६ मा आएको थियो, त्यस्तै उत्साह अहिले देखिएको छ । यसले विजयको नजिक पुगेको भान भइरहेको छ ।

२०७४ सालमा पनि तपाईंले यस्तै भन्नुभएको थियो तर परिणाम उल्टो आयो । यसपटक पनि... ?

२०७४ सालको वस्तुस्थिति अलि फरक थियो । त्यसबेला कांग्रेस एक्लो र वाम गठबन्धनको उभार बेग्लै किसिमको थियो । त्यसमाथि राप्रपकोा ७६ जिल्लामा हामीसँग तर झापा जिल्लामा एमालेसँग गठबन्धन थियो । तर अहिले उल्टो परिस्थिति छ । गठबन्धन हामीसँग छ, स्थानीय जनता पनि हामीसँग हुनुहुन्छ । मेरो ०७४ सालमा जे स्थिति थियो, सोही स्थिति अहिले केपी ओलीको छ । त्यो भन्दा पनि घटेको छ, उहाँले देखाएका आश्वासन, साढे तीन वर्ष शासनसत्ता चलाउँदाको नकारात्मक सन्देश गाउँघरमा फैलिएकाले ओली यस क्षेत्रको निर्वाचनमा रक्षात्मक अवस्थामा हुनुहुन्छ ।

हेवीवेट प्रतिस्पर्धी पाउनुभएको छ । केपी ओली प्रतिस्पर्धी भएकाले डराउनुपर्ने अवस्था छ भनेर पनि भनिन्छ । तपाईंले त्यस्तो महसुस गर्नुभएको छैन ?

मैले अघिल्लो पटक पनि भनेको थिएँ, उहाँ कालभैरव होइन । घटोत्कचजस्तो पनि होइन र मैले डराउनुपर्ने अवस्था छैन । प्राध्यापन पेसामा रहँदा मैले उहाँभन्दा बुढा मानिसहरूलाई पनि पढाएर आएको हो । विद्यालयदेखि एमएसीमा पनि मैले बुढा बुढा मान्छेहरूलाई पढाएँ । डराउनुपर्ने कुनै कारण छैन ।

भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको व्यक्ति पनि केपी ओली भएकाले यसको म्यासेज फरक ढंगले जान सक्दैन ?

प्रधानमन्त्री उहाँ अघिल्लोचोटी हो । तर प्रधानमन्त्री भएपछि उहाँले के गर्नुभयो भन्ने कुरा पनि महत्त्वपूर्ण हो । त्यस कार्यकालमा कति सकारात्मक र कति नकारात्मक काम गर्नुभयो ? कति हावादारी कुरामात्र गर्नुभयो भन्ने पनि जनताले मूल्यांकन गर्नुभएको छ ।

ओलीले मुलुकको एक तिहाइ बजेट झापामा खन्याएको चर्चा छ । अनि विकासका बारेमा त तुलना नै नहोला नि ?

उहाँले दीर्घकालीन विकासका काम गरेको मलाई र यहाँका जनतालाई भान भएको छैन, महसुस भएको छैन । भ्यूटावर बनाउनुभयो, त्यो आवश्यकता थियो कि थिएन ? त्यहाँ त मेडिकल कलेजको आवश्यकता थियो । शिक्षा, स्वास्थ्यका कुरा थिए । हुलाकी राजमार्गमा रतुवा पुल हेर्नुस्, गाउँमा गएर अन्य काम हेर्नुस् अनि थाहा हुन्छ कि काम र गफमा कति फरक छ भनेर । भ्यूटावरमा पौने दुई अर्ब बजेट आएको थियो तर त्यो आवश्यक थियो कि थिएन ? त्यो हेर्नुपर्छ । भ्यूटावरको छेवैका जनतालाई गएर सोध्नुस् जवाफ पाउनुहुन्छ । त्यसैले हेवीवेट भनेर केलाई भन्ने ? मैले डाक्टर, इन्जिनियर उत्पादन गरेँ । अधिकृत, समाजसेवी, पत्रकार उत्पादन गरेको छु । म शिक्षण पेसमा लागेको मान्छे, सँगै राजनीति पनि गरिरहेको छु । त्यसैले ओली हेवीवेट भन्नेकुरा गलत हो । राजनीति गर्न सुतिरहेको मान्छे काट्नुपर्ने, ठूलो भ्रष्टाचार गर्नुपर्ने वा हावादारी कुरा गर्दै हिँड्नुपर्ने हो र ? कि भएका नभएका ‘बिग टक’ गरेर हिँड्नुपर्ने हो ? उहाँ पार्टी अध्यक्ष हुनुहोला त्यो उहाँहरुको विषय हो । त्यसमा जनताले मूल्यांकन गर्छन् । तर हेवीवेट र लाइट वेट भन्ने कुरा म मान्दिनँ । उहाँको चारवटा किड्नी छ, स्वास्थ्यलाभको कामना गर्छु । उहाँले सयौँका छोराछोरीलाई बुर्जुवा शिक्षा वहिस्कारका नाममा पढ्न दिनु भएन । पढ्न नदिनेमा उहाँ हेवीवेट होला । सयौँ विद्यार्थीहरुलाई पढाएर डाक्टर इन्जिनियर बनाउनेमा मेरो देन होला ।

बाहिरबाट हेर्दा केपी ओलीसँग तपाईँको प्रतिस्पर्धा तुलना नै हुँदैन भनेर किन टिप्पणी हुन्छ त ?

त्यो उहाँहरूलाई नै सोध्ने कुरा हो, मलाई थाहा हुँदैन । तर यहाँको वस्तुस्थिति उल्टो छ । बरु उहाँ हेवीवेट होइन, लाइटवेट हो । उहाँ हार्दै हुनुहुन्छ । आम मतदाता र एमालेकै साथीहरूलाई सोध्नुस् थाहा पाउनुहुन्छ ।

उहाँले प्रधानमन्त्री हुँदा केही काम गर्नुभएन भन्ने तपाईंको तर्क हो ?

केही केही काम गर्नुभयो । तर गर्नुपर्ने र जनअपेक्षा अनुसार गर्नुभएको छैन । बाटाहरु पीच हुनेकुरा हुँदै जान्छन्, उहाँ भएपनि म भएपनि वा नभएपनि । कर्मचारी नै नभएर कर्मचारीले चलाएको अवस्थामा पनि हुने कुरा हुन् यी । तर उहाँबाट जे अपेक्षा गरिएको थियो, जस्तो किसिमको शासन व्यवस्थाको अपेक्षा राखिएको थियो–त्यो हुँदै भएन । जनताले सुतिसुति खान पाउँछन्, काम गर्न पर्दैन, धनी हुन मन भएमात्रै काम गर्नु भनेर भनेको अवस्थामा अहिले कति मानिस भोकले छट्पटाइ रहनुभएको छ ? दुई छाक दालभातमात्रै खान काम गर्नुपर्दैन भनेर उहाँले भन्नुभयो । चुच्चे रेल, हावाबाट विजुली निस्कियो ? पानी जहाज चल्यो ? घरघरमा पाइपबाट ग्यास आयो ?यस्ता हावादारी कुरा गरेर भोट बटुल्नुभयो । बेरोजगारलाई सर्टिफिकेट राखेर इलम गर्ने पैसा पाइन्छ भन्नुभयो । आज उहाँहरुलाई प्रश्न गनुस्, छर्लङ्ग हुन्छ । त्यसैले उहाँको एक्लो दलको आधा भोट कम आउँछ ।

संसद विघटनलगायतका राष्ट्रिय मुद्दाका विषय फरक होलान्, तर स्थानीय तहमा गरेको विकासलाई नजरअन्दाज गर्न मिल्ला र ?

सवै मैले नै गरेको भनेर बायोडाटा बनाएर हुन्छ ? एउटा मान्छे काठमाडौँबाट कोरिया गएछ । तर उसले नेपालबाट कोरियामा जाँदा पर्ने देशहरु सबैको भ्रमण गरेको भनेर बायोडाटा बनाएछ । त्यस्तै हो ओलीको कुरा । नबनेको चाहिँ कसले गर्दा हो त ? त्यो रतुवा पुल पनि मैले नबनाएको भन्नुपदैन ? राम्राजति सवैको जस लिने अनि नराम्राको चाहिँ अपजस लिनुपर्दैन ? गाउँखाने कथाजस्तो धरहरा मेरो, सिंहदरबार मेरो अनि पाइखाना तेरो भनेर हामी केटकेटीमा भन्थ्यौँ त्यस्तै हो भने हो नत्र विश्वास गर्न सकिँदैन ।

केपी ओलीका नकारात्मक कुरा गरेरमात्रै निर्वाचन जितिँदैन होला, तपाईंलाई चाहिँ किन भोट दिने त जनताले ?

सही प्रश्न गर्नुभयो । मेरो स्पष्ट दृष्टिकोण छ । यो देश स्रोतसाधनले सम्पन्न र प्राकृतिक हिसाबले सुन्दर भएपनि विकास हुन सकेको छैन । विकास नहुनुमा नीति गलत र त्रुटी भएकाले ती नीतिहरु नसच्याएसम्म विकास हुँदैन । जस्तो जलस्रोतको आधा क्षमतामात्रै सदुपयोग गर्यौँ र बिजुली उत्पादन गर्यौँ भने खर्बौँ रकम आम्दानी गर्न सक्छौँ । त्यसका निम्ति बजार र लगानी खोज्नुपर्छ । बिजुलीको ठुलो बजार दक्षिणतिर छ । त्यो बजारलाई आश्वस्त पारेर बिजुली खरिदबिक्रीको मूल्य निर्धारण गर्न सक्नुपर्छ ।

बंगलादेशदेखि बर्मासम्मको बजारलाई आश्वस्त पारेर, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गरेर भरोसायोग्य सम्बन्ध विस्तारसहित बिजुली र पानी बेच्ने काममा ढिला गर्नुहुँदैन । अर्को पर्यटनबाट धेरै ठुलो लगानी नगरी राम्रो आम्दानी गर्न सक्छौँ । उत्तर र दक्षिणतिर त्यति धेरै जनसंख्या भएका मुलुक छन्, भगवान गौतम बुद्ध रहेको लुम्बिनी आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ र सर्वोच्च शिखर सगरमाथा यही देशमा छ । यी कुरालाई मध्यनजर गरेर पर्यटनका पूर्वाधार विकास गर्न सक्नुपर्छ । यसमा मैले उदार तथा दिगो पर्यटन भन्ने सोच बनाएको छु, त्यो सोचअनुसार पर्यटक आकर्षण गर्ने योजना ल्याएर खर्बौ रूपैयाँ आम्दानी गर्न सक्छौ ।

तपाईंले भनेका राष्ट्रिय विषयहरू भए, झापा–५ का समस्या पनि होलान् नि ?

 मेरा राष्ट्रिय र स्थानीय एजेण्डा छन् । स्थानीय एजेण्डाका रुपमा दमक आसपास धेरै सरकारी जग्गा छ । त्यो जग्गा त्यतिकै सडेर गइरहेको छ । त्यस ठाउँमा एउटा मेडिकल कलेज स्थापना गर्ने योजना छ । मेडिकल कलेज भयो भने शिक्षा र स्वास्थ्यमा धेरै परिवर्तन ल्याउँछ । दक्षिणतिर सीमा नाकामा चार लेनका सडकले जोडेर औद्योगिकरणको विकास गर्ने रहेको छ । दमकको सौन्दर्यकरण गर्दै बस्न योग्य शहर बनाउन हरियालीको विकास गर्दै स्वच्छ र सफा राख्ने योजना छ । त्यसका निम्ति देशभरका नाङ्गा तार विस्थापित गरेर इन्सुलेटेड वायर बनाउने र हरियाली बनाउने । रवि चिसापानी सडक जोड्ने काम पुरा गर्दै पहाड र तराईको दुरी कम गर्ने अर्को योजना छ । त्यसो गर्दा दमकको समग्र विकासका लागि ठूलो योगदान हुन्छ, जसलाई हामीले फाल्गुनन्द मार्ग भनेर नामाकरण गर्ने पनि भनेका छौँ ।

साथै आदिवासी रंगशालासँग भावनात्मक सम्बन्ध समेत भएकाले त्यसलाई मदनभण्डारी रंगशाला भनेर एमालेका साथीहरुले राजनीति गर्नुभयो । त्यो कुरा बन्द गरेर हामी आदिवासी जनजाति रंगशाला भनेर नामाकरण गर्छौ र रंगशाला नै बनाउँछौ । फाल्गुनन्द सभागृह केपी ओलीले शिलान्यास गर्नुभएको थियो र मार्वलमा लेखेको पनि थियो । त्यो राष्ट्रिय विभूतिका नाममा सभागृहमा ठुलो राजनीति भयो । राष्ट्रिय विभूति देशको साझा सम्पति हो । सम्प्रदाय र जातजाति विशेषको सम्पति होइन त्यो । त्यस्तै गरेर रतुवा, कमल र मावा तीनवटा खोला बाढीमा बढी क्षति पुर्‍याउनेमा पर्छन् । ती खोला किनारहरुमा ग्रिनरी, बाटो बनाउने सोच छ । त्यस्तै प्राविधिक शिक्षालय, तालिम, शिक्षाको गुणस्तर बढाउने,भूमि समस्या समाधानका लागि शक्ति सम्पन्न आयोग बनाएर अघि बढ्नुपर्छ ।

केपी ओली जो दुई पटक प्रधानमन्त्री पनि बन्नुभयो । उहाँले गर्न नसकेको काम तपाईंले कसरी गर्न सक्नुहोला भन्ने प्रश्न उठ्दैन ?

यो प्रश्न नै गलत भयो । किनभने केपी ओलीले गर्नुभयो कि भएन भन्ने हेर्नुपर्छ । केपी ओलीले अवसर नपाएको हो र ? ४८ देखि अहिलेसम्म एक पटकबाहेक निरन्तर निर्वाचित हुनुभएको छ । फेरि वानसर्टमै केपी ओलीले गरिहाल्ने भन्ने कुरा कहाँबाट आयो ?

उहाँले नसकेको तपाईंले कसरी सक्नुहुन्छ भन्ने मेरो प्रश्न हो...

हामी संसदमा गएर नीति र कानुन बनाउने हो । आफ्ना तर्कपूर्ण कुराहरु राख्ने र कन्भिन्स गर्दै कार्यान्वयन तहमा लैजाने हो । त्यो काम गर्न उहाँले नसकेको कुरा त देखिएकै छ । हामीले नसक्ने भन्ने के छ ? संसदमा जनताको म्यान्डेट लिएर जाने हो, जनताका एजेण्डा यी हुन् भन्ने हो ।

गएको स्थानीय निर्वाचनमा तपाईंको आफ्नै पालिकामा कांग्रेसले पराजय भोगेको छ । यसले कांग्रेसमै पनि अन्तरविरोध छ पनि भनिन्छ नि ?

त्यो अन्तरविरोधका कारणले होइन । केही प्राविधिक कुराले त्यो अवस्था आयो । जनताले केही परिवर्तन पनि खोजे कि ? जितेका ठाउँ हार्ने र हारेका ठाउँ जित्ने ट्रेन पनि देखियो । अन्तरविरोधले होइन, केही प्राविधिक त्रुटिहरु भने भएका हुन् । त्यसमा हामीमा समाञ्जस्यता गर्न कमजोरी भयो, साम दाम दण्डभेदका कुरा पनि आएका छन् ।

पाँच नम्बर क्षेत्रमा मेयरको कुरा पनि छ, जस्तो हिजो उहाँ राप्रपा भएपनि गठबन्धनको सहयोगमा जित्नुभयो । उहाँको तपाईँलाई अहिले सहयोग रहन्छ ?

दमकमा स्थानीय निर्वाचनमा कांग्रेसको पोजिसन कमजोर भएर राप्रपासँग तालमेल गरेर राम थापालाई मेयर बनाउने हाम्रो धेरै अगाडिदेखिको सोच हो । रणनीति पनि हो र हामीले त्यो पहल गरेका पनि हौँ र मेयर बनाएका हौँ । उहाँपनि एक्लै मेयर हुनसक्ने अवस्था थिएन, हाम्रो र माओवादीको ब्याकिङबाट मात्रै सम्भव भएको हो । उहाँ मेयर हुँदा प्रचारप्रसारमा हिँडेका हाम्रा साथीहरुलाई ताजै छ । त्यो कुरा राम दाइले पनि बिर्सनुभएको छैन । हामीले लगाएको त्यो गुन तिर्ने प्रतीक्षामा उहाँहरू हुनुहुन्छ । प्राविधिक रुपमा केपी ओली हतास भएर अन्तिम समयमा आएर राप्रपासँग गठबन्धन गर्नुभयो । भावात्मक गठबन्धन हामीसँगै छ उहाँहरूको । त्यसैले राम थापाले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।

२०७४ को तथ्यांक हेर्दा ओली र तपाईंबीचको मतान्तर झण्डै दोब्बर छ । त्यो हेर्दा त आतेस लाग्ने हिसाब छ, कसरी पार लाग्ला त ?

२८ हजार दोब्बरले जितेकोमा माओवादीको भोट घटाउनुुस् । १०,१२ हजार भोट माओवादीको अहिले पनि छ । राप्रपाको मत १२,१४ हजार घटाउनुस् । समाजवादीको ३,४ हजार छ त्यो पनि घटाउनुस् । नाकाबन्दीका बेलाको केपी ओलीको राष्ट्रवादी ओज पनि मूल्यांकन गर्नुस् । चुच्चे नक्सामा केके गर्नुभयो, लागु गर्ने बेला र पुस्तकमा छाप्ने बेला के गर्नुभयो भन्ने पनि सम्झनुुस् । गरिव जनतालाई सुतेरै खान दिन्छु भन्ने आश्वासन, सर्टिफिकेट राखेर पैसा दिने आश्वासन, वाम एकताको ब्याकिङमा २८ हजार मात्रै आउनुपर्ने थियो होला ? सारा गरिब मजदुरको भोट उहाँले लिनु भएन ? यदि एक्लाएक्लै लडेको भए उहाँ त्यहीबेला पराजित हुनुहुन्थ्यो ।

अहिलेको तपाईंको तथ्यांक सुनाइदिनुस् न त ?

अहिलेको अवस्थामा २०७४ सालमा मेरो जे स्थिति थियो, अहिले ठ्याक्कै त्यही छ । बरु उहाँको ७४ सालको स्थिति भन्दा अहिले मेरो मजबुत छ । दोब्बर मतको अन्तर हुन्छ ।

माओवादी केन्द्र र कांग्रेसबीच भोट ट्रान्सफरमा समस्या छ भनिन्छ, यहाँको अवस्था के छ ?

यहाँ भोट ट्रान्सफरमा समस्या छैन । म सवै पार्टीहरुसँग राम्रो समन्वय गर्ने, मित्रभाव नै राख्ने,अरुलाई आक्रोशपूर्ण गाली नगर्ने, पहिला म उम्मेदवार हुँदा पनि माओवादीका साथीहरुलाई गाली गरिनँ । अर्को दललाई म गाली गर्दिन ।

केपी ओलीको आक्रामक भाषण हुन्छ, तपाई त डिफेन्सिभ हुने अवस्था पो रहेछ त होइन ?

बिल्कुल होइन । यहाँ डा. खगेन्द्र अधिकारीका बारेमा केपी ओलीले एक शब्द त्रुटिका कुराहरु देखाउन सक्नुभएको छैन ।

ओली त आफ्नो प्रतिस्पर्धी नै देख्दिन भन्नुहुन्छ नि ?

प्रतिस्पर्धी नै देख्दिन भन्ने उहाँको ‘विग टक’ हो । प्रतिस्पर्धी नदेखेको थियो भने म एक दिनमा ३,४ वटा कोणसभालाई सम्बोधन गर्दा उहाँ वृद्ध त्यसमाथि रोगले पनि ग्रसित मान्छेले ६,७ वटा कोणसभा भ्याएर हिँड्नुपर्ने हो र ? उम्मेदवारी हालेर गए त भइहाल्थ्यो नि । देखिएकै छ नि ! तर विग टक त गर्न पाइयो । मैले पनि उहाँले नदेखेजस्तै अहिले प्रतिस्पर्धी देखिरहेको छैन । त्यसैले प्रतिस्पर्धा छ, तर यसपाली उहाँले भारी मतान्तरले हार्दै हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप