शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा छनौट भएर पनि भारतले आखिर किन खेलेन ?

शनिबार, ०३ मङ्सिर २०७९, ०८ : १०
शनिबार, ०३ मङ्सिर २०७९

नोभेम्बर २० बाट कतारमा विश्वकप फुटबल सुरु हुँदैछ । विश्वभर फुटबल खेल्ने ३२ उत्कृष्ट टोलीबीचको यो भिडन्तपछि चार वर्षको लागि फुटबल विश्वको राजा को हो भन्ने टुङ्गो लाग्नेछ । विश्वभर फुटबलको खेललाई नियन्त्रण गर्ने संस्था फिफाका अनुसार नोभेम्बर २० देखि १८ डिसेम्बरसम्म चल्ने यो विश्वकप करिब पाँच अर्ब मानिसले हेर्नेछन् ।

सन् २०१८ को विश्वकपको चार अर्ब दर्शकले हेरेकाले यस पटक त्योभन्दा एक अर्ब बढीले हेर्नेछन् । कतारमा हुने विश्वकप समग्रमा २२ औँ विश्वकप फुटबल प्रतियोगिता हो । तर यति लामो समयसम्म विशाल जनसङ्ख्या भएको भारतले भने  एक पटक पनि भाग लिन सकेको छैन ।

भारतले कहिल्यै फुटबल विश्वकपमा भाग लिन नसकेको भए पनि कुनै समय भारतका सामु फुटबल विश्वकपमा भाग लिने अवसर आएको थियो । ७२ वर्षअघि ब्राजिलमा सन् १९५० मा हुने विश्वकपमा भारतीय फुटबल टोली सहभागी हुन लागेको थियो । तर पछि आएको केही कारणले भारतीय फुटबल टोलीले प्रतियोगिता खेलेन । 

कसरी आएको थियो भारतका सामु मौका ? 

दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ मा विश्वकप फुटबल आयोजना हुन सकेन । सन् १९५० मा १२ वर्षको अन्तरालपछि विश्वकप हुन लागेको थियो । ब्राजिलमा हुने तय भएको उक्त विश्वकपको छनोट चरणमा ३३ देश मात्रै खेल्न सहमत भएका थिए ।

भारतले बर्मा (म्यानमार) र फिलिपिन्ससँगै छनोट समूह १० मा थियो । तर बर्मा र फिलिपिन्सले बीचमै छनोट चरणबाट आफ्नो नाम फिर्ता लिए । यसले भारत कुनै खेल नखेली विश्वकपमा छनोट भएको थियो । विश्वकपको पहिलो सहभागिताको लागि भारतको बाटो खुल्यो । 

सन् १९५० को विश्वकप फुटबलको अन्तिम चरणको ड्रको तयारी हुँदा भारतले स्विडेन, इटाली र पाराग्वेसँगै पूल–३ मा स्थान रह्यो । यो प्रतियोगितामा भारत सहभागी भएको भए उसले कस्तो परिणाम निकाल्थ्यो होला ?

यस सम्बन्धमा दिवङ्गत फुटबल पत्रकार नोभी कपाडियाले विश्वकप फुटबलको गाइड बुकमा लेखेका छन् ,‘ पराग्वेको टोली त्यतिबेला त्यति बलियो थिएन । इटालीले अनुशासनहीनताका कारण आफ्ना आठ मुख्य खेलाडीलाई टोलीमा समावेश गरेको थिएन । ब्राजिल पुगेपछि प्रशिक्षक भिटोरियो पोज्जोले राजीनामा दिएका थिए । स्विडेनको टोली भारतविरुद्ध निकै राम्रो स्थितिमा थियो । यसको हिसाबले भारत समूहमा दोस्रो स्थानमा रहन सक्थ्यो । यसले टिमले राम्रो अनुभव पाउने थियो । ’

सन् १९५० मा भारतीय फुटबलको अवस्था कस्तो थियो ?

सन् १९५० को दशकमा भारतीय फुटबल टिमले भलै धेरै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन तर टोलीले राम्रो खेल खेल्ने राष्ट्रको रूपमा प्रतिष्ठा पाएको थियो । यसको झलक सन् १९४८ को लन्डन ओलम्पिकमा भारतीय टोलीले पनि देखाएको थियो । त्यहाँ उसले फ्रान्सजस्तो बलियो टोलीसँग भारत १–२ को अन्तरले पराजित भयो ।

त्यो अवधिमा टोलीका फरवार्ड र ड्रिबलरको कौसलले भारतीय फुटबलले आफ्नो छाप छोड्न खोजेको थियो । अहमद खान, एस रमन, एमए सत्तार र एस मेवलाल जस्ता खेलाडीका मानिसहरू प्रशंसक थिए ।

भारतका यी सबै खेलाडी लन्डन ओलम्पिकमा खाली खुट्टा उत्रिएका थिए । राइट ब्याक खेल्ने ताज मोहम्मदले मात्र जुत्ता लगाएर खेले । 

किन टोलीले ब्राजिल विश्वकपमा भाग लिन सकेन ?

भारतीय फुटबल टोलीले सन् १९५० को विश्वकपमा किन सहभागी भएन भन्ने स्पष्ट जवाफ छैन । तर, अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले दिएको आधिकारिक कारण अनुसार टोली छनोटमा उत्पन्न असहमति र अभ्यासका लागि अपर्याप्त समयका कारण टोली फिर्ता भएको हो ।

तर यस विषयमा वर्षौँदेखि धेरै चर्चाहरू हुँदै आएका छन्, सबैभन्दा बढी चर्चा भारतीय खेलाडीहरूले खाली खुट्टा फुटबल खेल्न चाहेको र फिफाले यसलाई अनुमोदन नगरेको भन्ने कुराको हुने गर्छ । 

तर नोभी कपाडियाको अतिरिक्त वरिष्ठ खेल पत्रकार जयदीप बसुको पछिल्लो समय प्रकाशित पुस्तकले पनि यस कारणलाई त्यति विश्वसनीय मानेको छैन । जयदीप बसुले सम्पादन गरेको पुस्तक ‘बक्स टु बक्सः ७५ इयर्स अफ द इन्डियन फुटबल टिम’ मा लेखिएको छ ,‘ भारतीय खेलाडीले खाली खुट्टा खेल्दा फिफाले आपत्ति जनाउने प्रश्न नै थिएन ।’

लन्डन ओलम्पिकमा सहभागी भएका सात–आठ खेलाडीलाई उद्धृत गर्दै जयदीप बसुले लेख्छन् ,‘त्यो टोलीका सात–आठ खेलाडीको ट्राभल झोलामा स्पाइक बुट थियो र यो खेलाडीको रोजाइको विषय थियो । खासमा त्यो समयका धेरै फुटबल खेलाडीहरू तिनको खुट्टामा बाक्लो पट्टी लगाएर खेल्न रुचाउँथे । सन् १९५४ सम्म यो प्रवृत्ति विश्वका अन्य धेरै देशहरूमा पनि थियो ।र

भारतको विश्वकप फुटबलमा सहभागी नहुनुको एउटा कारण आर्थिक रहेको चर्चा हुने गर्छ । तर यो दाबी पनि सत्य हो जस्तो लाग्दैन । जयदीप बसुले आफ्नो पुस्तकमा ब्राजिल पुग्न टोलीको खर्चको समस्या भए पनि समाधान भएको बताएका छन् ।

उनले त्यो बेला भारतका तीन राज्यस्तरीय फुटबल संघले खर्चमा बाँडफाँड गर्ने आश्वासन दिएको लेखेका छन् । यति मात्र होइन, नोवी कपाडियाले आफ्नो पुस्तकमा मार्च र अप्रिल महिनामा ब्राजिलले भारतीय फुटबल संघसँग सम्पर्क गरी टोलीको अधिकांश खर्च बेहोर्ने आश्वासन दिएको बताएका छन् ।

नोभी कपाडियाको पुस्तकका अनुसार ब्राजिलले त्यसो भन्नु पछाडिका दुईवटा कारण थिए– एक स्कटल्याण्ड, फ्रान्स, टर्की र चेकोस्लोभाकियाका टोलीले पनि विश्वकप फुटबलबाट आफ्नो नाम फिर्ता लिएका थिए । दोस्रो, ब्राजिल महात्मा गान्धी र जवाहरलाल नेहरूको देशका फुटबल टोलीले तिनको देशमा खेल खेलुन भन्ने चाहन्थ्यो ।

जयदीप बसुको पुस्तक अनुसार भारतले मे १६, १९५० मा विश्वकप खेल्ने टोली घोषणा गरेको थियो । भारतको प्रस्तावित तालिका अनुसार भारतीय टोली १५ जुनमा ब्राजिल प्रस्थान गर्ने थियो र भारतको पहिलो खेल जुन २५ मा पाराग्वेसँग परेको थियो ।

तर त्यस पछि के भयो ? जयदीप बसुले यसलाई भारतीय फुटबल जगतको सबैभन्दा ठूलो रहस्य भनेका छन्, जुन अहिलेसम्म उजागर हुन सकेको छैन ।

अहिलेजस्तो लोकप्रिय थिएन विश्वकप

नोभी कपाडिया र जयदीप बसुका पुस्तकबाट यो भने प्रष्ट हुन्छ कि त्यस बेला न भारतीय फुटबल खेलाडी न फुटबल अधिकारीले त्यस अवसरको महत्त्व बुझे । वास्तवमा, त्यतिबेला भारतीय हक्की टोली ओलम्पिक खेलको च्याम्पियन टोली बनिसकेको थियो । हरेक खेलाडीको लोकप्रियताको अन्तिम मापन ओलम्पिक बनेको थियो ।

यस्तो अवस्थामा भारतीय फुटबल टोलीमा खेल्ने र खेल चलाउने दुवैलाई ओलम्पिक खेलमा राम्रो प्रदर्शन गर्नेतर्फ बढी ध्यान केन्द्रित भयो ।
यसबाहेक सन् १९५१ को एसियाली खेलकुद पनि दिल्लीमा हुने भएको थियो । आयोजक टोलीको हैसियतमा भारतको लक्ष्य यसमा अझ राम्रो गर्ने थियो ।

यहाँ उल्लेखनीय कुरा के छ भने सन् १९५० सम्म विश्वकप फुटबलको लोकप्रियता पछिका वर्षहरूमा जति थिएन । त्यसपछि यो ग्ल्यामरहिन खेलकुद प्रतियोगिता मानिन्थ्यो । त्यसैले भारतले ग्ल्यामर भएको ओलम्पिक र उसकै देशमा हुने एसियाली गेमलाई महत्त्व दियो ।  

नियमको ज्ञानको कमी

नियमको ज्ञान नभएका कारण भारतका फुटबल अधिकारीहरूले यस्तो निर्णय गरेको हुनुपर्छ । वास्तवमा त्यसबेला विश्वकप फुटबलमा सहभागी खेलाडीलाई व्यावसायिक खेलाडीको ट्याग लाग्ने गर्दथ्यो ।
खेलाडीहरू व्यावसायिक हुनुको अर्थ उनीहरूले ओलम्पिक र एसियाली खेलकुदमा सहभागी हुने मन्जुर प्राप्त हुँदैनथ्यो । किनभने त्यसबेला यी प्रतियोगितामा सहभागी हुने खेलाडीहरू एमेच्योर हुनुपर्थ्यो ।

यस नियमका कमजोरी भए पनि हंगेरी, रुसलगायत समाजवादी मुलुकले विश्वकप फुटबलमा सहभागी खेलाडीहरू सेनाका सदस्य भएको भन्दै सेनाका सदस्य व्यावसायिक हुन नसक्ने दाबी गर्थे र दुवैमा खेलाउँथे । तर सायद त्यतिबेला भारतीय फुटबलका अधिकारीहरूलाई यो कुरा थाहा थिएन ।

एसियाली खेलकुद र ओलम्पिक खेलकुदमा सहभागिताबाट हटाइने डरले भारतीय फुटबल संघले सन् १९५० को विश्वकपमा सहभागी नहुने निर्णय गरेको हुनसक्छ । तर यो निर्णय ठूलो गल्ती साबित भयो । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप