शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाका नेपालीहरूले यसरी मनाए धन्यवाद दिवस

शुक्रबार, ०९ मङ्सिर २०७९, ०८ : १२
शुक्रबार, ०९ मङ्सिर २०७९

अमेरिकामा कोरोना भाइरसको बिगबिगी समाप्त भएको र अत्यधिकले खोप लगाई सकेको हुनाले नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ निर्धक्कका साथ मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्यहरुमा समयको फरक हुने हुनाले मनाउने क्रम अझ जारी छ । आफन्त भेट्न र महत्वपूर्ण चाड भएकोले आवत जावत गर्ने क्रम गत बर्ष भन्दा अत्यधिक वृद्धि भएको छ । अमेरिकामा धन्यवाद दिवसको संघार (इभ)देखि नै चहल पहल सुरु हुने र अघिल्लो दिन देखि नै साथी भाइ, आफन्तहरुले मनाएका छन् ।  

अमेरिकामा ईसाई पर्व (क्रिसमस)पछिको सर्वाधिक दोश्रो ठूलो पर्वका रुपमा मनाइने ‘धन्यवाद दिवस’मा नेपाली समुदायले पनि आफ्ना परिवार र आफन्त बीच आफैले विभिन्न परिकारका खानेकुराहरु बनाएर या खरिद गरिएका चिजहरु खाएर धन्यवाद दिवस मनाएका छन् ।

धन्यवाद दिवस’ पर्वमा मुख्यरुपमा अमेरिकामा पाइने कालिज जस्तो ठूलो चरा टर्की अर्थात् पातालमयूरको मासुलाई विभिन्न तरिकाले बनाएर खाइन्छ भने साथमा अन्य परिकारका चिजहरु समेत व्यवस्था गरिन्छ ।

उक्त पर्वको अवसरमा परम्परा अनुसार व्हाइट हाउसमा राष्ट्रपतिको अगाडि जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ‘पार्डोनिंग’ अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । अमेरिकी राष्ट्रपति जो बाईडेनले गत नोभेम्बर २१  सोमबारका दिन अगाडी राखिएको थियो भने उनले क्षमायाचना दिएका थिए ।

सन् १८६५ देखि यो प्रचलन राष्ट्रपतिको भवनमा लगिन थालिएको हो । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।

यो ‘थ्याङ्कसगिभिङ् डे’ अर्थात् धन्यवाद दिवसमा सार्वजनिक विदा हुने हुनाले नेपाली समुदायका अधिकांश विशेष गरि दोश्रो पुस्ताका किशोर किशोरी ,बालबालिका लगायत पहिला पुस्ताले पनि यसलाई आफ्नै चाड झैँ मनाउन थालेका छन ।

यस पर्वमा अमेरिकाका धेरै राज्य तथा शहरहरुमा झाँकी प्रदर्शन (परेड) गरिएको छ । गत वर्ष देखि खुल्लम खुला रुपमा धन्यवाद दिवस मनाइएको छ । यस वर्ष देखि सबै  स्थानमा झाँकी प्रदर्शन गरिएको छ ।

‘थ्याङ्कसगिभिङ् डे’ इसाईहरुको एउटा प्रमुख चाड हो भने अमेरिकामा यो पर्व बढो धुमधाम र अझ उत्साहजनक रुपमा मनाइन्छ । यो पर्व संयुक्त राज्य अमेरिका, क्यानाडा, क्यारिबियन केही द्वीपहरू र लाइबेरियामा विभिन्न मितिहरूमा एक राष्ट्रिय छुट्टीको रुपमा मनाइन्छ । त्यसैगरी जर्मनी र जापानमा पनि अर्कै नाममा यो चाडपर्व मनाइन्छ ।

स्मरण रहोस, अमेरिकामा यो नोभेम्बर महिनाको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ र मनाइन्छ । अमेरिकामा धन्यवाद दिवसको भोलिपल्ट शुक्रबार पर्छ र उक्त शुक्रबारलाई कालो शुक्रबार (ब्ल्याक फ्राइडे) भनिन्छ। उक्त कालो शुक्रबारको दिन अत्यधिक सस्तोमा सामान बिक्री गरिने हुनाले सामान पसलहरुमा खरिद गर्न मानिसहरुको अत्यधिक भिड हुन्छ ।

इतिहास : तत्कालीन समयमा सराह हेल नाम गरेकी लेखिका तथा सम्पादकले राष्ट्रपति अब्राहम लिंकनलाई धन्यवाद दिवसको बारेमा पत्र लेखि यसलाई वार्षिक राष्ट्रिय बिदा दिनु पर्छ भनेर उत्प्रेरणा गरेकी थिइन् । त्यसैले अमेरिकामा धन्यवाद दिवसमा सराह हेललाई सबैले सम्झन्छन् ।

१८६३ मा हेलले ३५ वर्ष सम्म उनले गरेको याचिका र अभिव्यक्तिको कारण राष्ट्रपति लिंकन सोच्न बाध्य भए । अन्तत्वगत्वा सोही वर्ष लिङ्कनले राष्ट्रिय सार्वजनिक बिदाको घोषणा गरेका थिए ।​

वास्तवमा यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने एक पर्व हो। यो भगवानलाई धन्यवाद दिन मनाउन थालिएको चाड हो । युरोपेलीहरु आप्रवासीहरु जव अमेरिका आए त्यतिबेला उनीहरुले मेहनत र कष्ट साथ तत्कालीन समयमा खेतीपाती गर्न प्रारम्भ गरे ।

फसल (बाली काट्ने) बेलामा खुसीका साथ एक आपसमा धन्यवाद आदान प्रदान गरे । यहीबाट धन्यवाद दिवस सुरु भएको मानिन्छ । अमेरिकामा यो कहाँ बाट सुरु भयो भन्ने नै छलफल कै विषय भएको छ तर अमेरिकाको न्यू इङ्गल्याण्ड तथा भर्जिनियाबाट प्रारम्भ भएको मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप