शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

सागर ढकाललाई परदेशीको पत्र

सोमबार, १२ मंसिर २०७९, १६ : ४३
सोमबार, १२ मंसिर २०७९

प्रिय छोरा, सागर शुभाशीष ।

। सञ्चै छौ भन्ने कामनासहित परदेशबाट एउटा सानो पत्र लेख्ने धृष्टता गर्दैछु । अन्यथा नलेऊ ल । ‘छोरा’ सम्वोधन गरिरहेछु । किनकि मेरो छोरा लगभग तिम्रै उमेरमा हिँडिरहेको छ र ‘छोरा’ लेख्नुको पछाडि तिमीले निरन्तर रुपमा भन्दै आएको हजुरबा, बा र नाति पुस्ताको पुस्तान्तरणमा म तिम्रो बाबुको उमेरको भएको कारण नै हो ।

यो निर्वाचनका दौरान तिमीले जुन साहस र सौर्य देखायौ, त्यो कुनै दन्त्यकथाको राजकुमार भन्दा कम देखिदैन । त्यसबाट म नतमस्तक भएर यो लेख्ने आँट गरेको हुँ ।

छोरा सागर, सागर जस्तै अविचलित र शालीन । ‘म्यान अफ दि इलेक्सन ।’ फलेको वृक्षको हाँगोजस्तै निहुरिने स्वभाव । तिमीले यो निर्वाचनमा एउटा अथक युद्ध लड्यौ । त्यो कुनै मल्ल युद्ध थिएन । विचारको युद्ध थियो, समृद्धिको युद्ध थियो, अग्रगमनको थियो, विकासको थियो ।

तर मल्लयुद्धमा निस्केका भुसतिघ्रेहरुले तिमीलाई पराजित गरे । वास्तवमा तिमी पराजित भएका छैनौ, तिम्रो विचारको विजय भएको छ, नेपाली जन र मनमा तिमी युग युगान्तरसम्म बाँचिरहनेछौ,  रहिरहनेछौ भन्ने मेरो बुझाइ छ ।

तिमी अंकगणितीय रुपमा हारेर पनि सबैको मनमा विराजित हुनु तिम्रो ठूलो जित हो, विजय हो । तिमीले बोकेको विचारको शंखनाद दूरदराजसम्म फैलिएको छ ।

यहाँसम्म कि तिमीले फुकेको शंख कृष्णले महाभारतको युद्धमा फुकेको शंखभन्दा कुनै दृष्टिले पनि कम छैन । धेरै पर परसम्म पनि ध्वनित भइरहेको छ । हो, तिमी संसद भवन सम्मको यात्रा तय गर्न रोकिएका छौ । तर, नसोच्नु मेरो विचार मरेको छ । विचारहरु कालजयी हुन्छन् कहिल्यै मर्दैनन् । तिम्रा विचारहरु पनि मरेका छैनन्, ज्यूँदा छन् । कसै न कसैले यो संसद भवनभित्र पुर्याएर तिमीलाई ज्युँदो भएको आभास दिनेछन् ।

छोरा, केही वर्ष अघि प्रम देउवालाई जुन हिम्मतका साथ तिमीले प्रश्न गरेका थियौ, त्यसबाट अरुजस्तै म पनि प्रभावित भएको हुँ र तिम्रो निडरताको वकालत गर्दै आएको पनि हुँ ।

तिमी युवा हौ । युवासँग देश बोक्न सक्ने सामथ्र्य हुन्छ र त्यो तिमीसँँग पनि छ । त्यही साहसले तिमीलाई त्यो पहाडी जिल्ला डडेल्धुरासम्म पुर्याएको हो ।

मलाई लाग्छ, डडेल्धुराबाहेक तिमी जुनसुकै जिल्ला वा क्षेत्रमा उम्मेदवार भएको भए तिमी विजय पताका फहराएर संसद भवन छिर्ने थियौ । तर, त्यो तिम्रो ध्येय थिएन, नेपाली नागरिक जोसुकै जुन जिल्लामा गएर पनि लड्न सक्छ भन्ने सन्देश थियो ।

यो पराजयले त तिमीलाई झन् बढी खारिने र तिखो हुने अवसर प्रदान गरेको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति एवम् तिमीले भन्ने गरेको ‘हजुरबा’ शेरबहादुर देउवा मात्र होइन, त्यसभित्र सत्ता ठगबन्धनीय सिन्डिकेट थियो ।

तथापि प्रतिस्पर्धा गर्न कम्मर कसेर लाग्नु त्यो तिम्रो साहस हो, त्यो सौर्य हो, त्यो पराक्रम हो, त्यो वीरता हो । एउटा ब्राह्मणको छोरासँग यी सवै कुरा हुनु चानचुने कुरा होइन । यो कुहिनाले पहाड धकेल्नु जस्तै दुसाध्य काम थियो ।

धर्म गुरु दलाई लामा तिब्बतबाट धर्मशालाको बास बस्न जानुको मुख्य ध्येय चिनिया विशाल साम्राज्यलाई कुहिनाले धकेल्न सक्दिन भनेर नै हो । ज्यान अर्पण गर्नुभन्दा धर्मशालामा नै बसेर धर्मसन्देश दिनुलाई उनले श्रेयस्कर सम्झिए र त्यसै गरे ।

मलाई लाग्छ, तिमीलाई थाहा थियो कि करिब चार दशकदेखि पहाड सरी गजधम्म परेर बसेका शक्ति, सत्ता र पैसाका कुबेर देउवालाई पराजय गर्न कठिन छ । तथापि तिमीले त्यहीँबाट उम्मेदवारी दिएर तिनीहरुलाई तर्सायो । तिनीहरुको निद हराम गर्यौ । कुहिनो जुधाउने हिम्मत गर्यौ । आफू छिया छिया भयो तर त्यो पहाड त हल्लायौ नि । निरन्तरको प्रयासले त्यो पहाड त हल्लियो नि ।

त्यसको राप र कम्पनको असर नेपालको सहरदभित्र मात्रै होइन, जहाँ जहाँ नेपालीहरु पुगेका छन्, त्यहाँसम्म पुग्यो । उनीहरुको मन र दिमागमा एउटा जिउँदो जाग्दो नेपालीको तस्वीर अंकित गर्न सफल भयौ । मासुभात, पैसाको चलखेल, हेलिकप्टरको उडान, असंख्य मोटर गाडीको ओहोर दोहोर र गोएबल्स शैली विरुद्ध सुखा चाउचाउ, पाउरोटी, चिया र एकाध मोटरसाइकलको भरमा केही गतिला साथीहरुको साथले दुइ तीन महिनाको छोटो समयमा नै डडेल्धुराका जुन डाँडा काँडा नाघ्यौ र विचारको सतबीज छर्यौ, त्यो निकै साहसिक काम थियो ।

कसैले कल्पना पनि गर्न नसकेको त्यो काम तिमीले गर्यौ । यत्ति सम्झ, डडेलधुराको जनताले तिमीलाई पूर्ण विश्वास नगरे पनि माया गरे । १३ हजार ४२ जनाले मत दिए । कुहिना जुधाउने हिम्मत त दिए नि । के त्यो चानचुने कुरा हो र ? म त डडेल्धुराबासीलाई धन्यवाद दिन चाहन्छु ।

बधाई छ छोरा । तिम्रो भविष्य मैले उज्ज्वल देखेको छु । आगामी दिनमा तिमीमाथि देश निर्माणको ठूलै जिम्मा आउन सक्छ । तिमीलाई राष्ट्रिय सभा, योजना आयोगको उपाध्यक्ष वा अख्तियारमा लैजान पनि सक्छन् । त्यसका लागि तिमी तयार नै छौ र हुनु पनि पर्छ । र, हजुरबाहरुलाई ससम्मान पाखा लगाउनुपर्छ ।

तिम्रो लगन, तिम्रो शिक्षा, अरुलाई इष्र्या लाग्ने किसिमको दक्षता र क्षमताको एकदिन कदर हुने नै छ ।

आशा छ, यी सबै विचार र सिद्धान्त मरेकाको साम्राज्य पनि त केही दिनमा समाप्त होला र एउटा नवीन नेपाल निर्माणको सुरुवात गर्ने जिम्मा तिमीजस्तै युवाको काँधमा आउला नि त । अनि त परदेशिने युवाको पनि त दिन फिर्नेछ ।

बस् कर्मण्येव धिकारेस्तु...आफ्नो कर्ममा लागिरहनु । तिमीलाई बाटोमा हिँड्दा कुनै ठेस नलागोस्, तिम्रो विचार अविचलित रुपमा अगाडि बढिरहोस् । शुभकामना ।

उही तिम्रो

कृष्ण खनाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कृष्णराज खनाल
कृष्णराज खनाल
लेखकबाट थप