शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय दलमा चुनाव लड्न पनि तयार छु : रामचन्द्र पौडेल (भिडियोसहित)

'युवा चाहियो भन्दैमा विवेकको हत्या गर्नु हुँदैन'
शुक्रबार, १६ मङ्सिर २०७९, ११ : १८
शुक्रबार, १६ मङ्सिर २०७९

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि चुनाव लड्न तयार भएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । आफ्नो नाममा सर्वसम्मत हुनेमा विश्वस्त देखिएका पौडेलले सबै गम्भीरता बुझेर प्रस्तुत भएको बताए । आफूलाई कांग्रेस संसदीय दलको नेता बनाउन पार्टी सभापति शेरबहादुर देउवा लचक देखिएको पौडेलले रातोपाटीसँगको कुराकानीमा बताए ।

यस्तै सत्ता गठबन्धनका चुनावी कमान्डर पौडेलले प्रतिनिधि सभा र प्रदेश सभाको नजिता भने सन्तोषजनक नआएको बताए । तर आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने उनको दाबी छ ।​चुनावी परिणाम, आगामी सत्ता समीकरण र भावी प्रधानमन्त्रीबारे कांग्रेस नेता पौडेलसँग रातोपाटीका लागि रोहित दाहाल र लोकेन्द्र भट्टले गरेको कुराकानीको सम्पादित अंश-

–अहिले विश्वकप फुटबल चलिरहेको छ । खेलाडीलाई गोल पोस्टमा गोल हान्न गाह्रो भएजस्तै यहाँलाई पनि गोल गर्न निकै सङ्घर्ष गर्नु पर्यो हैन ?

तनहुँ मेरा लागि असजिलो हुनुपर्ने जिल्ला होइन । आन्तरिक कारणले असजिलो भयो । पार्टीका साथीहरूले पार्टीलाई बिगार्न र भत्काउन मेहनत गर्नुभयो । त्यसैले अहिले गाउँगाउँ पुग्नुपर्यो ।

–त्यसो भए जनतासँगको भेटघाटलाई नवीकरण गर्ने अवसर मिल्यो ?

सकारात्मक रूपमा हेर्दा त्यो पनि राम्रै भयो भन्न पनि मिल्छ । तनहुँमा कतिपय गाउँ देखेकै थिइनँ । पाँच पटक चुनाव जित्दा पनि नदेखेका गाउँमा अहिले गएँ ।

–​कांग्रेसले प्राप्त गरेको सिट सङ्ख्यालाई तपाईंले कसरी लिनुभएको छ ?

यसलाई मैले सन्तोषजनक रूपमा लिएको छैन । गठबन्धन भएकाले कांग्रेसले कम्तीमा ८० सिटको वरपर प्राप्त गर्नुपर्ने थियो । त्यसमा विभिन्न फ्याक्टरले काम गरे । मुख्यतः उम्मेदवारी चयनमै कमी कमजोरी भयो ।

मैले सभापतिलगायतलाई जनतालाई हेप्न सकिने अवस्था छैन है भनेर भनेको थिएँ । जनताको चाहना र मनोभावना के छ भन्ने कुरालाई संवेदनशील भएर मात्र निर्णय गर्नुपर्छ है भनेँ । तर त्यो अनुसारको काम भएन ।

–गठबन्धन गरेर चुनाव लड्नुभएको थियो । भोट ट्रान्सफर भएन भन्ने पनि छ । अहिलेको परिणाम हेर्दा गठबन्धनप्रति तपाईंको धारणा के छ ?

गठबन्धन राष्ट्रको आवश्यकता हो । गठबन्धन उपयुक्त पनि थियो, गर्नु पनि पथ्र्यो । गठबन्धनमा त्यति ठूलो बेइमानी पनि भएको छैन । केही केही चाहिँ भयो । सालाखाला गठबन्धन ठिकै छ ।

–तपाईं गठबन्धनको चुनावी परिचालन समितिको संयोजक हुनुहुन्थ्यो । गठबन्धनलाई बहुमत पुर्याउन पनि मुस्किल हुने अवस्था बन्यो । तपाईंको चुनावी अभियान असफल भयो हैन ?

गठबन्धन सम्बद्ध पार्टीहरू आआफ्नो पार्टीलाई बलियो कसरी बनाउने र धेरै सिट कसरी पाउने भन्ने कुरामा धेरै केन्द्रित हुनुभयो ।

ग्राउन्ड रियालिटीलाई हेर्नुभन्दा आफूलाई कसरी धेरै सिट प्राप्त गर्ने  भन्ने मनोभावनाले अवास्तविक निर्णय भए । जसले गर्दा गठबन्धन पूर्ण सफल नहुनुमा कारक छ ।

–माओवादी र एकीकृत समाजवादीका नेताहरूले कांग्रेसको मत ट्रान्सफर भएन । आफ्ना उम्मेदवारलाई आएन भन्ने उहाँहरूको गुनासो छ नि ?

माओवादी केन्द्रका हकमा कतिपय ठाउँमा द्वन्द्वको धेरै गहिरो घाउ परेको छ । त्यहाँ मानिसलाई माओवादीलाई मत दिन असजिलो भयो होला । तर असजिलो मान्दामान्दै पनि हाम्रा साथीहरूले मुटुमा गाँठो पारेर माओवादीलाई भोट हालेका छन् ।

पार्टीको निर्णय हो, गठबन्धन आवश्यकता हो, नेताहरूले यसलाई राष्ट्रिय आवश्यकता भन्नुभएको छ । त्यसकारण भोट हालौँ भनेर हाम्रा धेरै साथीहरू भोट हाले । उहाँहरूको तीन हजार मत छैन ।

हाम्रो २८ हजार मत कसरी जान्छ ? लुम्जुङकै कुरा गरौँन । समानुपातिकमा माओवादीको तीन हजार मत रहेछ । उहाँ (माओवादीका महासचिव देव गुरुङ)ले २८ हजार मत पाउनुभयो । कांग्रेसको मत ट्रान्सफर नभएर उहाँले त्यो मत कहाँबाट पाउनुभयो त ? त्यो कांग्रेसको भोट होइन ?

–गठबन्धनसँगै कतिपय जिल्लाको परिणाम हेर्दा कांग्रेस पनि एक भएन निर्वाचनमा गएको रहेन छ भन्ने देखियो नि ?

कांग्रेसभित्र गुटबन्दीको मानसिकताले घर गरिरह्यो । नेतृत्वले गुटबन्दीभन्दा माथि उठेर व्यवहार गर्न सकेको भए सबैलाई सम्हाल्न सजिलो हुन्थ्यो । मैले धेरै भन्ने गरेको छु– एकताको आधार न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कन हो । त्यसो नहुँदा मनोमानी भयो, आउनुपर्ने भोट आएन ।

–शेखर कोइराला र गगन थापा समूहले गठबन्धनमा भोट हाल्दै हालेन भने कतिपय ठाउँमा कांग्रेसकै उम्मेदवारलाई पनि मत हालेन भन्ने आरोप छ नि ?

उहाँहरूले मत हाल्नुभएन भन्ने कुरा हुँदै होइन । त्यो गलत भयो । जित खुलेर आउनुपर्ने थियो । त्यति भएन होला । उहाँहरूले बेइमानी गर्नुभएको छैन ।

–आगामी सरकार कसरी बन्ने देख्नुभएको छ ?

गठबन्धनको तालमेल मिलाएरै सरकार बन्छ । पावर सेरिङ मिलाएरै गर्नुपर्छ । अरू उपाय छैन । कांग्रेस, माओवादी, समाजवादीलगायत जोडेर बहुमतको सरकार बनाउनुपर्छ ।

–त्यसो भए चुनावमा भएको सत्ता गठन्धनकै सरकार बन्छ ?

त्यसैको बन्छ । त्यसैको बनाउनुपर्छ । त्यसले मात्र देशलाई स्थायित्व दिन सक्छ ।

–एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत गरिरहेको छ नि ?

एमालेको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैन ।

–कांग्रेस र एमाले मिल्ने कुरा पनि त छ नि ?

त्यो पनि सम्भव छैन । तर कहिलेकहीँ राष्ट्रका लागि त्यस्तो अवस्था पनि आउन सक्छ । हामी मिलौँ, कच्याङमच्याङ धेरै भयो, राष्ट्रलाई सङ्कट पर्न लाग्यो, एकोहोरिएर जाउ भन्ने कुरा पनि हुन सक्छ । तर अहिले म त्यो अवस्था देख्दिनँ ।

–सत्ता गठबन्धनको सरकार बन्दा नेतृत्व कसले गर्छ ?

नेपाली कांग्रेसले नेतृत्व गर्ने कुरा स्वाभाविक हो । नेपाली कांग्रेसले नै देशको नेतृत्व गर्नुपर्छ । त्यसभित्र मैले आफ्नो पनि दाबी राखेको छु । मेरो दाबीका पछाडि केही कारण पनि छन्, केही लजिक पनि छन् ।

म समकालीन राजनीतिमा सबैभन्दा सिनियर हुँ । लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा धेरै योगदान पुर्याएको मान्छे हुँ । सबैभन्दा धेरै योगदान मेरो छ । सबैभन्दा बढी निष्ठा बचाएर बसेको मान्छे पनि म हो । त्यति मात्र होइन, भोलिलाई विभजन दिन र अहिलेको निराशालाई सम्बोधन गर्ने सामथ्र्य मसँग छ भन्ने मलाई लाग्छ । एक हाम्रो सभापतिले ‘राष्ट्रलाई तपाईंको आवश्यकता छ, स्वास्थ्यको राम्रो राखेर बस्नुस्’ भन्नुभएको थियो । त्यो कुरा  मैले अहिले सम्झिएको छ । मैले अस्ति उहाँलाई यो कुरा सम्झाएँ । त्यतिखेर मैले यसको अर्थ खोजिनँ । मैले लेनदेन र जोखतौल गरेर राजनीति गर्न कहिल्यै जानिनँ । मैले त्योबेला केही पनि भनिनँ । अहिले त्यसको अर्थ खोज्दा राष्ट्रलाई मेरो आवश्यकता परिसक्यो भनेर मैले सभापतिलाई भनेँ । उहाँ लचक हुनुहुन्छ । ‘सल्लाह गरौँला, सल्लाह गरौँला’ भन्नुभएको छ ।

–यी सैद्धान्तिक कुरा गरिरहँदा पनि प्रधानमन्त्री हुन त सङ्ख्या चाहिन्छ ? टाउको गन्नुपर्छ । तपाईं प्रधानमन्त्री बन्न कांग्रेसको संसदीय दलको नेता बन्नुपर्ला । तपाईं कांग्रेस संसदीय दलको नेता बन्ने आधार के के छ ?

कांग्रेसबाट चुनिएर आएका सबै सांसद मेरा साथी हुन् । ती सबैको मप्रति साहनुभूति छ । गुटबन्दीमा कोही कता कोही कता पर्लान् । त्यो अर्को कुरा हो । गुटबन्दीभन्दा पनि कांग्रेसभित्रको एकता र कांग्रेसी सम्बन्ध मसँग सबैको राम्रो छ ।

–सभापति आफैँ प्रधानमन्त्री बन्न लागिराख्नु भएको छ । महामन्त्री गगन थापाले घोषणा नै गरिसक्नुभयो । प्रकाशमान सिंहजी पनि लागिराख्नु भएको छ । शेखर कोइराला पनि दौडमै देखिनुहुन्छ नि ?

राजनीतिमा त्यस्तो हुन्छ । त्यो स्वाभाविक कुरा हो । आकाङ्क्षा सबैका हुन्छन् । तर एउटा निर्णयमा पुग्नुपर्छ । त्यसका लागि छलफल गरौँ । कसको आवश्यकता हो । कसलाई दिँदा न्याय हुन्छ । न्याय मर्यो भने लोकतन्त्रलाई धेरै अप्ठ्यारो हुन्छ ।

–गठबन्धनका सबै शीर्ष नेता प्रधानमन्त्री भइसके । म हुन बाँकी छ भन्ने तपाईंको दाबी होला हैन ?

प्रधानमन्त्री हुन बाँकी छ भन्ने तर्कभन्दा पनि प्रधानमन्त्री कसलाई बनाउँदा न्याय हुन्छ भन्ने प्रश्न हो । साथै देश, लोकतन्त्र, व्यवस्था, परिवर्तन र देशको भविष्यलाई न्याय को हुँदा हुन्छ ? त्यसको सही मूल्याङ्कन गरौँ भनेर मैले सबैलाई भनिराखेको छु ।

–तपाईं प्रतिस्पर्धामा जानुहुन्छ कि सर्वसम्मत भए मात्र दलको नेता बन्नुहुन्छ ?

मैले प्रतिस्पर्धा र सर्वसम्मत दुवै कुरालाई मध्यनजर गरी आफ्नो दाबीलाई अत्यन्त न्यायोचित सोचेर नै आफूलाई प्रस्तुत गरेको छु । म सबै परिस्थितिलाई फेस गर्न तयार भएर नै म अग्रसर भएको हुँ ।

–संसदीय दलमा चुनाव लड्नुहुन्छ ?

पर्यो भने चुनाव लड्न पनि तयार छु तर कांग्रेसमा चुनाव लड्नुपर्ने स्थिति नआउला ।

–तपाईंकै नाममा सर्वसम्मत हुने सम्भावना छ ?

 मेरो नाममा सर्वसम्मत हुन सक्ने धेरै कारण छन् । म हरेक दृष्टिकोणले त्यसको हकदार हुँ भन्ने लाग्छ । सभापतिले छोड्नुपर्दा मलाई नै छोड्नुहुन्छ ।

किनभने उहाँसँग ६० वर्षदेखि निरन्तर सहकार्य मेरो नै हो । कांग्रेसको राजनीतिमा खेलिखाएका नेताहरूमध्ये उहाँ र म नै हो । एकले अर्कालाई विश्वास गर्ने र देशको जिम्मा दिन सक्ने उहाँ र म नै हो । उहाँ र मेरोबीचमा धेरै असजिलो नपर्ला । उहाँले स्वीकार गरेको अवस्थामा अरू साथीहरूले पनि स्वीकार गर्नुहुन्छ । अरू पनि मेरा साथीहरू हुन् । उहाँहरूसँग मेरो धेरै कुरामा सहमति, सहयात्रा भएको छ । मैले उनीहरूलाई धेरै ठाउँमा सहयोग गरेको छु ।

–कांग्रेसभित्र देखिएका प्रधानमान्त्रीका आकाङ्क्षीमध्ये तपाईंले कसलाई चुनौतीका रूपमा लिनुभएको छ ?

मैले चुनौतीका रूपमा कसैलाई पनि लिएको छैन । पार्टीको केन्द्रीय समितिमा सभापतिको वर्चस्व छ । संसदीय दलमा उहाँले टिकट दिएर जितेका सांसदको बाहुल्यता छ । उहाँ एउटा फोर्स उहाँ हो । उहाँलाई बाइपास गरेर कांग्रेसमा निर्णयमा पुग्न सकिन्छ जस्तो लाग्दैन ।

–महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गरेर यस्तो भन्नुभएको हो ?

महाधिवेशनमा मैले उहाँलाई एक पैसा पनि सघाइनँ । म नउठ्नु नै उहाँलाई सहयोग भएको हो । मलाई तपाईं अलग्न बसिदिनुस् भनेर शेखरजीहरूले भन्नुभयो । त्यसपछि म घर आएर सुतेको हो । म सुत्नु नै उहाँका लागि प्लस पइन्ट भएको हुन सक्छ । मैले कसैलाई भोट दिऊँ भनेको होइन । म आफैँ भोट हाल्न गइनँ । भोट हाल्न गयो भने एक ठाउँमा भोट हाल्नुपर्छ भनेर भोटै हालिनँ ।

–शेरबहादुर देउवालाई महाधिवेशनमा मौन बसेर सघाएको कुरा अहिले आउला नि त ? त्यसको गुन तिर्नुस् भनेर भन्नुहुन्छ ?

म त्यो भन्दिनँ, भनेको पनि छैन र भन्दा पनि भन्दिनँ । मैले महाधिवेशनमा सहयोग पुर्याएको पनि होइन । म लड्नु नै सहयोग भयो । त्यसमा मैले दाबी गर्दिनँ ।

अहिलेको आवश्यकता के हो भन्ने कुरा हो । देशमा यत्रो निराशा छ, असन्तुष्टि छ, यत्रा चुनौतीका पहाड समुन्ने कांग्रेस उभिनुपरेको छ । यस्ता दसथरी पार्टी मिलाएर लैजानुपर्ने छ । त्यसका लागि को हो उपयुक्त म त त्यो मात्र भन्छु ।

–त्यो सामर्थ्य रामचन्द्र पौडेलमा छ भनेर कसरी पत्याउने ?

यो सबैलाई थाहा छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन भनेजस्तो छ । जसले आफ्ना संरचना बनाएर राखेको हुन्छ, तीनका संरचना बोल्छन् । म सिधा राजनीति गरेर आएँ । मैले आफ्नो व्यवस्थापन गर्न कहिले लागिनँ ।

–युवा नेतृत्वको पक्षमा जनमत देखिएको छ । महामन्त्री गगन थापा अगाडि आउनुभएको छ । जनभावना त युवालाई प्रधानमन्त्री बनाउने देखिन्छ नि ?

युवालाई मैले सम्मान गर्छु । युवाको जोश, जाँगर नभईकन देश बन्दैन । युवाको क्षमताले देशलाई उचाल्नुपर्छ । तर बलिदानको इतिहासलाई बेवास्ता गर्न हुँदैन । लोकतन्त्र र संविधानका लागि सङ्घर्ष गर्दा गति गाह्रो भएको छ । राजनीति हावादारीमा हुन्छ ? प्रचारबाजीमा हुन्छ ? अराजनीतिक तरिकाबाट राजनीति हुन्छ ?

राजीतिक रूपले विश्लेषण गरौँ । उमेरले म सिनियर हुँ भनेर दाबी गर्नुहुँदैन । तर नेपालमा जो बार्धिकी निन्दा चलेको छ । त्यसरी लहै लहैमा जाँदा विवेकको हत्या हुन सक्छ ।

–सत्ता गठबन्धन सम्बद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग म प्रधानमन्त्री बन्छु भनेर कुराकानी भएको छ ?

गठबन्धनका नेताहरूले पटक पटक बैठकमा भन्नुभएको छ । रामचन्द्रजी तपाईं नउभिएको भए कांग्रेसभित्रबाट यो प्रतिगमन रोक्न सकिँदैन थियो । यो गठबन्धन बन्ने थिएन भन्नुहुन्थ्यो । त्यो कुरालाई उहाँहरूले आत्मसाथ गर्नुहोला नि ।

–प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीमा समर्थन गर्छु भन्नुभएको छ ?

उहाँहरू मसँग सकारात्मक हुनुहुन्छ । उहाँहरूका लागि म असजिलो छैन ।

–तपाईंले प्रधानमन्त्रीको दाबी गर्दा पनि अभिभावकीय जिम्मेवारी लिएर बसिदिए हुन्थ्यो भनेर चाहना राख्ने मान्छेहरू छन् नि ?

राष्ट्रलाई अलपत्र छाडेर अभिभावक भए भनेर फत्याकफुतुक मैले चाहिनँ । राष्ट्रलाई अभिभावकत्व दिन म प्रधानमन्त्री हुन खोजेको हो । यो राष्ट्र संविधान, लोकतन्त्रको अभिभावकत्व दिनका लागि मैले आफूलाई प्रस्तुत गरेको हुँ । भागेर अभिभावकत्व हुन्छ भन्ने ढोङ मलाई छैन ।

–तपाईंले प्रधानमन्त्रीको दाबी गरेर राष्ट्रपतिको तयारी गर्नुभएको पनि त छ नि ?

राष्ट्रपतिमा मेरो कुनै तयारी छैन । मुलुकको निराशा हटाउनुपर्छ भन्ने हो । त्यसका लागि सुशासन र विकासको प्राथमिकता छान्न सक्ने भिजन चाहिन्छ । त्यो मसँग छ । त्यसैले कार्यकारी जिम्मेवारी लिएर मात्र हुन्छ ।

–गठबन्धनले भोलि रामचन्द्र पौडेलजीलाई राष्ट्रपति बनाउन्नौँ भन्यो भने तपाईं स्वीकार्नुहुन्छ कि हुँदैन ?

राष्ट्रको आवश्यकता के हो, राम्रै छलफल गर्न चाहन्छु म । मैले पदका लागि मात्र राजनीति गरेको होइन । मलाई फलानो पद चाहियो, ढिस्कानो पद चाहियो भन्ने मान्छे होइन । म केही गर्न चाहन्छु मलाई मौका दिऊँ । यो राष्ट्रले एक पटक मेरो परीक्षण गरोस् । यो राष्ट्रले मेरो परीक्षा लिन किन नपाउने ?

–अहिले प्रधानमन्त्रीको दाबीबाहेक दायाँ बायाँ छैन ?

मैले केही बार्गेनिङको कुरा गरिराखेको छैन । मैले बार्गेनिङका लागि गर्दैन । मेरो सोझो राजनीति हो ।

–एक जनाले देश र एक जनाले पार्टी चलाउने गरी सभापति शेरबहादुर देउवा र तपाईंबीच सहमति हुनसक्छ भन्ने सुनिन्छ । तपाईं पार्टी चलाउन जान सक्ने सम्भावना छ कि छैन ?

वान मेन वान पोस्ट सुरुदेखि आइराखेको शब्द हो । व्यावहारिक कारणले त्यो उपयुक्त कुरा पनि हो । तर यहाँ जसले मैका पायो सबै आफैंले सोहोर्ने कुरा हुँदै आयो ।

आफू बाहिर हुँदा वान मेन वान पोस्ट भन्ने तर आफू नेतृत्वमा पुगेपछि दुवै मेरै हो भन्ने ठूलो विडम्बना छ । वान मेन वान पोस्ट भइदिए राम्रो हुन्थ्यो ।

–प्रमुख दलका नेताहरूको अकर्मण्यता देखाएका भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले जुन मत प्राप्त गरेको छ, यसमा तपाईंको टिप्पणी के हुन्छ ?

निराशाको कालो बादल मडारिराखेको छ । असन्तुष्टि छताछुल्ल छ । यसलाई सम्हानका लागि मेरो आवश्यकता पर्यो भनेरै म अग्रसर भएको हुँ ।

यसलाई सम्बोधन गर्न सकिएन भने मुलुक कहाँ पुग्छ भन्न सकिँदैन भन्ने चिन्ताले नै म गम्भीर भएर अगाडि आएको हुँ ।

–तपाईंले यसको सम्बोधन कसरी गर्नु हुन्छ ?

वार फुटिङमा काम गर्नुपर्छ । एकै पटक १० वटा कुरा सोच्ने, ११ वटा निर्णय गर्ने र १२ वटा एक्सन गर्ने हो । त्यो हुनुपर्यो नि । अनि पो यो देश बन्छ । नभए पछाडि परेको देशलाई कसरी जुरुक्क उठाउने हो ? एक पटक देशलाई जुरुक्क उठाउने भन्ने हो ।

–संसद्को कम्पोजिसनले राजनीति अस्थिरता बढाउने भयो भन्ने छ । कतिपयले ५ वर्षसम्म यो संसद् जाँदैन भन्ने आकलन गरिरहेका छन् । तपाईंलाई के लाग्छ ?

यतिखेर हामीले ठीक निर्णय गर्न सकेनौँ भने परिस्थिति बिग्रन सक्छ । अहिले नै सम्हालिदिनुपर्छ । नेताहरू अहिले सचेत हुनुपर्छ । नेताहरू आफ्नो स्वार्थमा होइन कि राष्ट्रको स्वार्थमा लाग्नुपर्छ । कस्ता प्रवृत्तिको उदय हुँदैछ ? किन र के कारणले हुँदैछ ? सोच्ने बेला यही हो । विश्लेषण नगरीकन आफ्नो निहित स्वार्थका लागि अङ्कगणित मिलाएर मात्रै भनिराख्ने बेला होइन । त्यसैले अहिले फराकिलो भएर सोचौँ भनेर मैले मेरा कलिस्हरू भनेको छु ।

–गठबन्धन शक्ति बाँडफाँट के भइरहेको छ ? राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगातका पदमा कसरी भागबण्डा मिलाउनुहुन्छ ?

अहिले केही भएको छैन । मैले माधवजीलाई भेटेको हो । त्यहाँ नारायणकाजी पनि हुनुहुन्थ्यो । गठबन्धन जोगाउने विषयमा छलफल भएको हो । मेरो मुख्य एजेन्डा त्यही हो । यो गठबन्धन जोगिनुपर्छ । यो परिवर्तन जोगाउनका लागि गठबन्धन बचाउँदै एक भएर जानुपर्छ मैले भनेँ ।

–यी सबै समस्या पार लगाउने प्रधानमन्त्रीले हो । त्यो तपाईं हो ?

एउटा व्यक्तिले मात्र होइन । सबैको भावना लिएर काम गर्ने क्षमता हुनुपर्छ । समस्याको उत्तर दिने कुरा गर्नुपर्छ ।

 भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप