सिलौटो लगायत ढुंगाका सामग्री बनाउने पत्थरकट्टा काठमाडौँबाट विस्थापित हुँदै
मंगलबार बालाजु औद्योगिक क्षेत्रको गेटनजिक सडकछेउमा दीपक कुसबाडिया (पत्थरकट्टा)ले जाँतो, सिलौटो, लोहोरो बेच्न राखेका थिए । कलापूर्ण यी सामग्री उनी आफैँले ढुंगालाई कुदेर बनाएका थिए । यस्ता सामग्री बनाउनु उनको पुख्र्यौली पेसा हो । पछिल्लो १२ वर्षदेखि उनले यही ठाउँमा ढुंगाका यी सामग्री बनाएर बेच्दै आएका थिए । अहिले उनलाई काठमाडौं महानगरले फुटपाथमा यस्ता सामग्री नबनाउन र नबेच्न भनेको छ । ‘दसैँ अघिदेखि हामीलाई महानगरले यहाँ नबस्न भनेको छ । यी सामान मैले पहिले नै बनाएको हुँ, यी बिक्री भएपछि म यहाँ बस्नेछैन,’ ३० वर्षीय कुसबाडियाले भने ।
यतिखेर उनी आफ्नो घर भैरहवा फर्कने तयारीमा छन् । बुटवलबाट ढुंगा ल्याएर उनको परिवारले यी सामग्री बनाउने गर्थे । यही पेसाबाट काठमाडौंंमा उनको ६ जनाको परिवार धानिएको थियो । ‘महानगरले धेरैचोटि हाम्रो सामान उठाएर लग्यो,’ दीपक भन्छन्, ‘यहाँ सटर भाडामा लिन मासिक २०–२५ हजार रुपैयाँ लाग्छ । पहिलेजस्तो कमाइ पनि छैन । त्यसैले अब भैरहवा नै फर्कने तयारीमा छु ।’

उनका अनुसार, अचेल मसला पिस्नका लागि मेसिन (मिक्सचर) प्रयोग बढेकाले ढुंगाको सिलौटोको माग घटेको छ । सिलौटोको मूल्य सानोको तीन सय रुपैयाँ र ठूलोको ६ सय रुपैयाँ पर्छ । त्यस्तै, एउटा जाँतोको दुई हजारदेखि २५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । आफूहरुको पेसा संकटमा पर्दा सरकारले बेवास्ता गरेको उनको गुनासो छ ।
काठमाडौं महानगरले फुटपाथमा काम गर्न र सामान बेच्न बस्न नदिएपछि सिलौटो बनाउने आफ्ना धेरै साथीहरु गाउँ फर्किसकेको उनी बताउँछन् ।
यही ठाउँमा सिलौटो लगायत सामान बनाएर बेच्दै आएकी २६ वर्षीया सरस्वती कुसबाडिया पनि आफ्नो घर (भैरहवा) फर्कने सुरसारमा छन् । उनले यस ठाउँमा श्रीमानसँग सिलौटो लगायत ढुंगाका सामान बनाउने गर्थिन् । सोमबार उनले पनि ८–१० वटा सिलौटो लगायत ढुंगाका सामान बिक्रीका लागि राखेकी थिइन् । ‘हाम्रो आठ जनाको परिवारले यही काम गथ्र्यो । मैले श्रीमानबाट यो काम सिकेकी हुँ,’ उनले भनिन् ।
कुसबाडिया (पत्थरकट्टा) लाई सरकारले १० वटा लोपोन्मुख जातिभित्र राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण