शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिलौटो लगायत ढुंगाका सामग्री बनाउने पत्थरकट्टा काठमाडौँबाट विस्थापित हुँदै

आइतबार, १८ मङ्सिर २०७९, १२ : ५६
आइतबार, १८ मङ्सिर २०७९

मंगलबार बालाजु औद्योगिक क्षेत्रको गेटनजिक सडकछेउमा दीपक कुसबाडिया (पत्थरकट्टा)ले जाँतो, सिलौटो, लोहोरो बेच्न राखेका थिए । कलापूर्ण यी सामग्री उनी आफैँले ढुंगालाई कुदेर बनाएका थिए । यस्ता सामग्री बनाउनु उनको पुख्र्यौली पेसा हो । पछिल्लो १२ वर्षदेखि उनले यही ठाउँमा ढुंगाका यी सामग्री बनाएर बेच्दै आएका थिए । अहिले उनलाई काठमाडौं महानगरले फुटपाथमा यस्ता सामग्री नबनाउन र नबेच्न भनेको छ । ‘दसैँ अघिदेखि हामीलाई महानगरले यहाँ नबस्न भनेको छ । यी सामान मैले पहिले नै बनाएको हुँ, यी बिक्री भएपछि म यहाँ बस्नेछैन,’ ३० वर्षीय कुसबाडियाले भने ।

यतिखेर उनी आफ्नो घर भैरहवा फर्कने तयारीमा छन् । बुटवलबाट ढुंगा ल्याएर उनको परिवारले यी सामग्री बनाउने गर्थे । यही पेसाबाट काठमाडौंंमा उनको ६ जनाको परिवार धानिएको थियो । ‘महानगरले धेरैचोटि हाम्रो सामान उठाएर लग्यो,’ दीपक भन्छन्, ‘यहाँ सटर भाडामा लिन मासिक २०–२५ हजार रुपैयाँ लाग्छ । पहिलेजस्तो कमाइ पनि छैन । त्यसैले अब भैरहवा नै फर्कने तयारीमा छु ।’

उनका अनुसार, अचेल मसला पिस्नका लागि मेसिन (मिक्सचर) प्रयोग बढेकाले ढुंगाको सिलौटोको माग घटेको छ । सिलौटोको मूल्य सानोको तीन सय रुपैयाँ र  ठूलोको ६ सय रुपैयाँ पर्छ । त्यस्तै, एउटा जाँतोको दुई हजारदेखि २५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । आफूहरुको पेसा संकटमा पर्दा सरकारले बेवास्ता गरेको उनको गुनासो छ । 

काठमाडौं महानगरले फुटपाथमा काम गर्न र सामान बेच्न बस्न नदिएपछि सिलौटो बनाउने आफ्ना धेरै साथीहरु गाउँ फर्किसकेको उनी बताउँछन् । 

यही ठाउँमा सिलौटो लगायत सामान बनाएर बेच्दै आएकी २६ वर्षीया सरस्वती कुसबाडिया पनि आफ्नो घर (भैरहवा) फर्कने सुरसारमा छन् । उनले यस ठाउँमा श्रीमानसँग सिलौटो लगायत ढुंगाका सामान बनाउने गर्थिन् । सोमबार उनले पनि ८–१० वटा सिलौटो लगायत ढुंगाका सामान बिक्रीका लागि राखेकी थिइन् । ‘हाम्रो आठ जनाको परिवारले यही काम गथ्र्यो । मैले श्रीमानबाट यो काम सिकेकी हुँ,’ उनले भनिन् ।  

कुसबाडिया (पत्थरकट्टा) लाई सरकारले १० वटा लोपोन्मुख जातिभित्र राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप