आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

सोमबार, १९ मंसिर २०७९, १५ : ४४
सोमबार, १९ मंसिर २०७९

वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ ।  

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । 

विद्यालयमा  विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै हुन् । विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो ।  त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन् ।

“गत वर्षसम्म १०/१५ विद्यार्थी नियमित पढ्न आउँथे”, उनले भनिन्, “गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ  तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक  छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।” 

विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो  चाहना रहेको उनले सुनाइन् । विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरू एक घण्टा टाढाको विद्यालयमा पुग्छन् । 

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । “गाउँको ७० घरका  विद्यार्थी पढ्ने एक्लो विद्यालय हो”, स्थानीयवासी शेरबहादुर केसीले भनिन्, “विद्यालय आउने  खोलामा पुल, सहज बाटो निर्माण र  अङ्ग्रेजी माध्यमबाट पठनपाठन  गर्न पालिकामा छलफल भइरहेको छ ।”

गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ । “एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनुहुँदैन”, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, “बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप