शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीका नेता–कार्यकर्तालाई जेलबाट तत्काल रिहा गर्न सरकारलाई विप्लव नेतृत्वको नेकपाको दबाब

मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ४२
मङ्गलबार, २० मङ्सिर २०७९

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरी तत्काल जेलबाट रिहाइ गर्न सरकारलाई दबाब दिएको छ । मंगलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको हो । 

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकारलाई दबाब दिइएको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनु भयो । यता, गृहमन्त्री खाँणले पनि सो समस्या समाधान गर्न सरकार इमानदार र प्रतिबद्ध रहेको बताएका थिए । 

गृहमन्त्रीसँगको भेटपछि न्युज एजेन्सी नेपालसँग सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले भने, ‘सरकार र हामीबीच भएको सहमति छिटोभन्दा छिटो यसलाई रिजल्टमा उर्तानुस् र हामीलाई रिजल्ट दिनुस्, जनतालाई रिजल्ट दिनुस् भनेर हामीले आज भनेका छौँ । र, सरकारले के भनेको छ भने हामी यसप्रति इमानदार र प्रतिबद्ध छौँ । यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौँ । र, लागिरहेका छौँ भन्ने सरकारको जवाफ छ । उहाँहरूको अहिले यो  विषयमा पनि थुप्रै एक्सरसाईजहरु चलिराखेका छन् । त्यसैको अभिव्यक्ति पनि होला । आज हेर्दाखेरि वार्ता सकारात्मक छ । तर, अहिले हामीले फोकस गरेको भनेको परिणाम हो । त्यो हेर्नुपर्छ । छिटो सरकारले यो परिणाम सार्वजनिक गरोस् भन्ने हाम्रो चाहना छ ।’ 

उनले थपे, ‘धेरै पटक सहमति पनि भएको छ । पछिल्लो सहमति भइसकेपछि त्यो क्याबिनेटले डिसिजन पनि गरिसकेको छ । क्याबिनेटले भनेको के छ भने नेपाल कम्युनिस्ट पार्टी र सरकारको बीचमा भएको वार्तामा र भएका सहमतिहरूमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरूमाथि लगाइएको कतिपय मुद्दाहरू अहिलेको कानुनसँग बाझिने भएको हुनाले र त्यसलाई समाधान गर्नका लागि कानुनी रिक्तता भएको हुनाले यो समस्यालाई समाधान गर्ने भनेर सरकार र हामीबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने भनेर क्याबिनेटले नै भनिसकेको हुनाले कार्यान्वयनको प्रक्रिया फाइनल गर्नुस् भन्ने हाम्रो कुरा हो । त्यही विषयमा आज सरकार सकारात्मक ढङ्गले नै प्रस्तुत भएको छ । र, गम्भीरताका साथ नै प्रस्तुत भएको छ । हाम्रो कुरा यही सरकारले फाइनल गर्नुपर्छ भन्ने छ । त्यो गम्भीरताका साथ सरकार प्रस्तुत हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बूँदे सहमति गरी नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप