शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

किताब जात्रा दिल्लीको दोस्रो संस्करण सम्पन्न

विहीबार, २२ मंसिर २०७९, १७ : १७
विहीबार, २२ मंसिर २०७९

किताब जात्रा, भारतको दोस्रो संस्करण आइतबार नयाँ दिल्लीस्थित पिएचडी च्याम्बर अफ कमर्सको अडिटोरियममा सम्पन्न भएको छ । उद्घाटन सत्रमा बोल्दै भारतका लागि नेपाली राजदूत राजदूत डा. शंकर शर्माले नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक तथा आर्थिकका साथै जन–जन एवं मन–मनको समेत रहेकाले किताब जात्राजस्ता कार्यक्रमले त्यसलाई सदैव प्रगाढ पारिराख्न बल पुर्याउने विचार व्यक्त गरे । 

किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किताब जात्रामा राजदूत डा. शर्माले अगाडि भने, ‘नेपाल र भारतबीचको सम्बन्धको मूल धागो धर्म, संस्कृति र शिक्षामा जोडिएको छ । हिन्दू धर्मसँग जोडिएको पशुपतिनाथ, अन्य सांस्कृतिक सहचार्य र शिक्षा आर्जनका लागि भारतमा आउने नेपाली विद्यार्थी यस सम्बन्धका सेतु हुन् ।’

जात्रामा साहित्यकार नयनराज पाण्डेले ‘नेपाली साहित्यको विश्वव्यापीकरण’ शीर्षकमा ‘कि नोट स्पीच’ प्रस्तुत गरेका थिए । नेपाली साहित्य बिस्तारै विश्वयात्रामा निस्किएको र त्यसले हाम्रा कथा विश्वले पढ्ने वातावरणको जग बन्दै गएको उनको भनाइ थियो । 

पाण्डेले भारतमा बस्ने नेपाली साहित्यकार र साहित्यप्रेमीले त्यसमा एकताबद्ध योगदान गर्न सके त्यसले अर्को महत्त्वपूर्ण फड्को मार्ने विचार व्यक्त गरे । ‘विश्वबजारमा भारतको स्थान निकै बलियो छ, त्यसमा साहित्यको बजार पनि पर्छ । भारतमा बसेर शिक्षा आर्जन गरिरहेका र कर्म गरिरहेका नेपालीको सम्बन्ध त्यो विश्वबजारका हस्तीहरूसँग बनिरहेको छ । त्यसलाई साहित्यको विश्वबजारीकरण एवं विश्वव्यापीकरणको प्रयोजनमा उपयोग गर्नुहुने विश्वास छ’, उनले भने । 

कार्यक्रमको उद्घाटन सत्रमा गान्तोक, सिक्किमका विधायक वाइटी लेप्चा, पीएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, इन्डिया नेपाल सेन्टरका नोडल को–अर्डिनेटर अतुल के. ठाकुर, टाइटल पार्टनर प्रभु मनी ट्रान्सफर, भारतका प्रतिनिधि मित्र घिमिरे र सगरमाथा नेपाली पुस्तकालयका अध्यक्ष मोहन कार्कीले मन्तव्य राखेका थिए । 

यस वर्ष किताब जात्रा, दिल्ली संस्करण नेपाल र भारतलाई जोड्न सक्ने कसीलाई केन्द्रमा राखेर विमर्श चलाइएको किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले बताए । उनले भने, ‘हामीले सहित्य र पत्रकारिता तथा अर्को आर्थिक गरी दुईवटा विषयलाई केन्द्रमा राख्यौं । यी दुवै विषय नेपाल–भारतलाई जोड्ने महत्वपूर्ण कडी हुन् भन्ने हाम्रो निक्र्यौल हो ।’

कुन कुन विषयमा भयो छलफल ?
जात्राको विमर्श सत्रको पहिलो चरण ‘नेपाली साहित्यको चित्र र चरित्र’ शीर्षकबाट सुरु भएको थियो । आख्यानकार अमर न्यौपानेले सहजीकरण गरेको सत्रमा आख्यानकार नयनराज पाण्डे र रामलाल जोशीले नेपाली साहित्यको साङ्गोपाङ्गो चित्र र चरित्रबारे छलफल गरे । छलफलले नेपाली साहित्यको चित्र र चरित्र गुण तथा रूप दुवै स्वरूपमा परिवर्तन भइरहेको निष्कर्ष निकालेको थियो । अघिल्लो पुस्ताले छोडेका पदचाप पछ्याउँदै साहित्यको पछिल्लो पुस्ताले विषयको खोज र शैलीको आविष्कारमा कुनै न कुनै तवरले नवप्रवर्तन गरिरहेको छलफलको अर्को निचोड थियो । 

त्यस्तै, भरत रिजालको सहजीकरणमा ‘अन्तरमन्थन’ शीर्षकमा अन्तर्वार्ताकार टीकाराम यात्री र राजेन्द्र बानियाँले आफ्नो टेलिभिजन पत्रकारिता र अन्तरवार्ता यात्राबारे मन्थन गरेका थिए । एपीवान एचडी टेलिभिजनका प्रधानसम्पादक तथा विमर्श कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’का विमर्शकार यात्री र हिमालयन टेलिभिजनका प्रधानसम्पादक तथा विमर्श कार्यक्रम ‘यक्ष प्रश्न’का विमर्शकार बानियाँले टेलिभिजन अन्तर्वार्ता तथा पत्रकारिताका आफ्नो जीवनयात्राका रोमाञ्चक पक्षको समेत खुलासा गरेका थिए ।

विमर्श सत्रको दोस्रो चरणमा नेपाल–भारत सम्बन्धबारे बहस भएको थियो । ‘इन्डिया–नेपाल रिलेसन्सः इन वर्ड्स एन्ड बियोन्ड’ शीर्षक सत्रमा पिएचडी च्याम्बरका नोडल कोअर्डिनेटर अतुल के. ठाकुरले सहजीकरण गरेका थिए । त्यसमा अर्थविद् तथा स्तम्भकार विशाल थापा, पत्रकार तथा लेखक रशीद किडवाइ, प्रकाशन संस्था पेन्गुइन र्यान्डम हाउस, भारतका सह–प्रकाशक प्रेमंका गोस्वामी र रणनीतिक मामिलाविद् तथा स्तम्भकार मेजर जनरल बिनोज बस्न्यातले आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

विमर्शको अन्तिम सत्रमा ‘द आर्ट अफ इन्टरप्रेनरशिप’ शीर्षकमा पत्रकार तथा प्रस्तोता समा थापाले भारतमा ‘वाउ मःम फुड चेन’ फैलाइरहेका नेपाली उद्यमी विनोदकुमार हुँमागाई र नेपालमा समेत मेडिकल क्षेत्रमा काम गरिरहेका भारतीय युवा उद्यमी डा. सार्थक वक्षीसँग छलफल गरेकी थिइन् । 

किताब जात्रामा नेपाली समुदायका साथै भारतका साहित्यकार, पत्रकार, साहित्यप्रेमी, उद्यमी र विद्यार्थीको सहभागिता रहेको थियो । जात्राको समापन मन्तव्य राख्दै जात्राका प्रमुख सल्लाहकार भरत रिजालले नेपाल–भारत सम्बन्धलाई जीवन्त राख्न यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप