शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चारतारे होटलको ‘किचन’ मा महिला सेफ

बुधबार, २८ मङ्सिर २०७९, २० : ०४
बुधबार, २८ मङ्सिर २०७९

 नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गरेकी छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चोकमा जन्मिएकी कार्यकारी सेफ्स भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौँको किचनको नेतृत्व सम्हालेकी हुन् । उनी रमदाको कन्टिनेन्टल सेफ्स हुन् ।

विसं २०४३ मा बुबा विश्वनाथ शाह र आमा शान्तिदेवी शाहको ज्येष्ठ सुपुत्रीका रूपमा जन्मिएकी शाहले स्कूल शिक्षा सुनसरीस्थित पाथिभरा इङ्लिस बोर्डिङ स्कूलबाट पूरा गरिन् । आफ्नो परिवार व्यापार–व्यवसायमा आबद्ध भए पनि उनी भने सेफ्स पेशामा आबद्ध भइन् ।

गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कूल अफ बिजनेश म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेकी शाहले सन् २००६ देखि सेफ्स पेशा सुरु गरेकी हुन् ।

“मलाई बुबाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो”, उनले भनिन् । आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको सङ्ख्या एकदमै कम भएको उनको भनाइ छ ।

शाहले सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा सेफ्ससम्बन्धी इन्टर्नसीप गरेकी थिइन् । इन्टर्नसीपसँगै द पार्क होटल बिशाखापट्टनम भारत, नोभोटेल होटल हैदराबाद भारत, अमनबाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उनीसँग छ । 

सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने शाहले कार्यकारी सेफ्सको रूपमा नै काम गरेकी थिइन् । “अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्समात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेको हुँ, म मेरो पेशा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ्स हुँ भन्दा गर्वको अनुभूति हुन्छ”, उनले भनिन् ।

कोरोनाको समयसँगै काठमाडौँ महानगरपालिका–१६ ठमेलमा रु दुई अर्ब ५० करोड लगानीमा स्थापना भएको रमदामा हाल ९० कोठा रहेका छन् । नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल छन् ।

होटलका महाप्रबन्धक महेश फुँयाल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउँछन् । “एउटा रेष्टुराँमार्फत स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेसियन र इण्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ”, उनी भन्छन् ।

नेपाली सेफ्सहरुको छाता संस्था सेफ्स एशोसियशन अफ नेपालमा हाल एक हजार पाँच सय सेफ्स आबद्ध छन् । विसं २०५३ मा स्थापना भएको एशोसियशनले नेपाली सेफ्सको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

एशोसियशनका अध्यक्ष श्यामबहादुर लामा सेफ्समा आबद्ध एक हजार पाँच सय सेफ्समध्ये जम्मा १५ जनामात्र महिला सेफ्स आबद्ध भएको बताउनुहुन्छ । महिला सेफ्स एशोसियशनमा आबद्ध कुल सेफ्स सङ्ख्याको एक प्रतिशतमात्र हो ।

“एशोशियसनमा आबद्ध महिला सेफ्स नेपाली रेष्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ्स अहिलेसम्म कोही महिला सेफ्स भएका छैनन्”, उनी भन्छन् ।

ग्लोबल नेप्लीज सेफ्स फेडेरेशनका अध्यक्ष एवं वरिष्ठ सेफ्स लक्ष्मणप्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ्स नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफ्सका लागि गर्वको कुरा भएको बताउँछन् । आगामी दिनमा महिलालाई सेफ्समा अगाडि बढाउन सेफ्ससम्बन्धी संस्थाले काम गर्नुपर्ने उनको भनाइ छ ।

होटल एशोसियशन अफ नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफ्सको सङ्ख्या एकदमै न्यून रहेको बताउँछन् । “नेपाली होटलमा विदेशी महिला सेफ्सले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ्स बनेको पाइँदैन”, उनी भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप