बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

किन बढ्दैछ हृदयाघातका घटना ? कसरी जोगिने ?

बिहीबार, २९ मङ्सिर २०७९, ०९ : ०९
बिहीबार, २९ मङ्सिर २०७९

मुटुमा समस्या आउनुमा ७५ प्रतिशत हार्ट अट्याक अर्थात् हृदयाघातसँग सम्बन्धित हुन्छ । मुटुरोग हुनुको मुख्य कारण अव्यवस्थित जीवनशैली भएको चिकित्सकहरू बताउँछन् । 

बुढ्यौलीमा मुटुरोगसँग सम्बन्धित समस्याले सताउने आम बुझाइ रहे पनि युवावस्थामै  हार्ट अट्याक भएर ज्यान गुमाउनेहरू बढिरहेका छन् । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल लगायतका मुटुमा धेरै समस्या आउनु अस्वस्थ जीवनशैली मुख्य कारकतत्व बनेको छ ।   मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयाघात रोकथाम गर्न सकिन्छ ।

सन् २०२० मै विश्व स्वास्थ्य संगठनले विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको थियो ।  हार्ट अट्याक जसलाई हार्ट फेल भनेर पनि बुझ्ने गरिन्छ । खास गरी यो रोग ४० वर्ष भन्दा बढी उमेर समूहका मानिसहरूमा देखिन्छ भनिए पनि पछिल्लो समय यो रोग युवाहरूमा देखिन थालेको छ । 

हाल नेपालमा १८ वर्ष उमेर माथिका रक्तचाप, कोरोनरी मुटुको रोग, मधुमेह, स्कुल जाने बालबालिकालाई समेत बाथ, मुटुको रोग देखिएको चिकित्सकहरू बताउँछन् ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण मृत्यु हुनेमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका मानिस हुन्छन् । नेपालको सन्दर्भमा भने हृदयाघात बारे वृहत् रूपमा अध्ययन भएको छैन । औद्योगीकरण र जीवनशैलीको परिवर्तनकै कारण मुटुरोग पुरुष/महिला दुवैजनालाई  बढ्दो क्रममा छ ।

कसरी थाहा पाउने ?

मुटु रोगको लक्षणबारे धेरैलाई जानकारी नहुँदा धेरै मानिस ढिला अस्पताल पुग्ने गर्छन् । मुटुमा समस्या देखिदा छातीको बीच भागमा पीडा हुनु, काम गर्दा दम बढ्नु, खुट्टाहरु सुन्निनु, मुटु धेरै धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्ने हुन्छ । 

यस्तै, बालबालिकामा जोर्नी दुख्नु, ज्वरो आउनु, जिब्रो, औँलाका टुप्पाहरू नीलो भएमा मुटुरोगको लक्षण हुन सक्छ । शारीरिक, मानसिक रूपमा तनाव हुँदा छातीको बीच भागमा थिचेको जस्तो अनुभव हुने र आराम गरेपछि हराएर जान्छ । जसलाई  एन्जाइना पनि  भनिन्छ ।

हृदयाघात, अन्जाइना, मुटुको एक÷दुई सेकेण्डको दुखाइलाई एन्जाइना भन्न मिल्दैन । एन्जाइना पेन हुँदा छातीनेर कम्तीमा २०÷२५ मिनेट बढी दुख्नुपर्छ । दुखाइ सर्दै चिउँडोमा आउने, दाँया हाततिर जाने, पसिना आउने, जिब्रो मुनि नाइट्रोविल्सिन ट्याब्लेट राख्दा मात्रै कम हुने, उकालो भ¥याङ चढ्दा दुख्दा झन् दुख्ने, बसेपछि कम भएमा यो मुटु दुखाइ हो भनेर बुझ्नुपर्छ ।

पहिलो पटक कसै कसैलाई अत्यधिक छाती दुख्ने, देब्रे छातीतिर झनै श्वास फेर्न गाह्रो भई चिटचिट पसिना आउने हृदयाघातका लक्षण हुन् । मुटुमा रक्तप्रवाह गर्ने मुख्य तीन वटा नसामा रगत, बोसो जमेर रक्तनली साँघुरो भएमा वा धमनीहरु बन्द हुनुलाई हृदयाघात भनिन्छ । 

मुटुका केही रोगहरू उच्च रक्तचाप, उच्च रक्त कोलेस्ट्रोल, मधुमेह हुँदा हार्ट अट्याकका कुनै पनि लक्षण नदेखिन सक्छ । यी रोगहरू परीक्षण गरेपछि पत्ता लाग्छ । जसका कारण मुटुरोगले आकस्मिक ढंगले ज्यान जान सक्छ । 

मुटुको समस्या नआउन दिन दैनिक रूपमा कम्तीमा ३० मिनेट शारीरिक अभ्यास गर्नुपर्छ । सकेसम्म शाकाहारी पोषणयुक्त खानेकुराहरू खानुपर्छ । वनस्पति तेल, डाल्डा घिउ नखाने, तौल कम गर्ने, धूम्रपान कम गर्नुपर्छ ।  

हृदयाघात हुँदाको प्राथमिक उपचार  

हृदयाघात भएपछि घरमै प्राथमिक उपचार गरेमा पनि यसबाट हुने ३७ प्रतिशत मृत्युलाई जोगाउन सकिन्छ । यद्यपि पेटको दुखाइ र हृदयाघातको लक्षणबारे थाहा पाउनुपर्छ । 

हृदयाघातको लक्षण देखिएमा एक्सिप्रिङ खानुपर्छ । हृदयाघात भई पल्टिएको अवस्थामा हातले सीटीआर दिने कार्य सबैलाई सिकाउनु पर्छ । हातको पल्स हेरेर, माउथ टु माउथ श्वास दिन सकिन्छ । त्यसका लागि सरकारले प्राथमिक स्वास्थ्य संस्थादेखि सर्वसाधारणलाई तालिम दिन अत्यावश्यक छ । 

 मुटुरोग विषेशज्ञ डा. जेपी जयसवालसँग कुराकानीमा आधारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप