बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वयोवृद्ध कलाकार हरिप्रसाद शर्माका कला भव्य पुस्तकमा

शनिबार, ०२ पुस २०७९, १७ : ०७
शनिबार, ०२ पुस २०७९

नेपाली कलामा निरन्तर आजसम्म योगदान पु¥याउँदै आएका मूर्धन्य कलाकार हरिप्रसाद शर्मा र उनीबारे लेखिएको विशेष पुस्तकका सम्बन्धमा चर्चा गर्दैछु । नेपाली समसामयिक कलाका पुस्तक जति प्रकाशनमा आएका छन्, शर्मामाथि लेखिएको पुस्तक ‘समय क्रममा नेपाल’ (नेपाल डाउन द एजेज) अलग्ग स्वरूप र प्रकृतिको छ । 

अझ व्यापक जनसमुदायमा पु¥याउन भारतको नयाँ दिल्लीमा रहेको ‘आदर्श बुक’ डिपोले अहिले यो पुस्तक बजारमा ल्याएको हो । यसअघि यो पुस्तकलाई ‘सोसियल साइन्स बह’ले प्रकाशित गरेको थियो । अति उच्चस्तरीय विदेशी पाहुनालाई विशेष उपहार दिन काठमाडौँ महानगरपालिकाका लागि पहिले प्रकाशित यस पुस्तकमा प्रयोग भएको कागजको गुणस्तर अहिलेको भन्दा राम्रो छ । 

यो पुस्तकमा चित्रलाई विविध पाँच खण्डमा राखेर अलगअलग विषयको अलगअलग चित्रलाई समायोजन गरिएको छ । पहिलो खण्डमा इतिहास जसमा २९ वटा चित्र छन्, दोस्रो खण्डमा संस्कृति जसमा १२ वटा चित्र छन्, तेस्रोे खण्डमा जनजीवन तथा सम्पदा जसमा ३३ वटा चित्र छन्, चौथो खण्डमा बुद्धको जीवनी जसमा तीनवटा चित्र छन् र पाँचौँ खण्डमा मुहारचित्र जसमा ८ वटा चित्र छन् ।

उमेरले ८६ वर्ष काटिसकेका यी वरिष्ठ कलाकारले नेपाली समसामयिक कलाको एक निश्चित कलागत–धारमा एउटा अलग्ग इतिहास खडा गरेका छन् । नेपालको कलाको विकासमा सन् १९३० को उत्तरार्द्धमा पश्चिमी कला पद्धतिले संस्थागत रूपमै दखल दिएको इतिहास छ । यसअघि केही कम–बेसी बाह्य कलाले प्रभाव पारे पनि एक अलग्ग कलागत स्वरूपले स्पष्ट आकार लिन सकिरहेको थिएन ।  यसबेला नेपालका मूर्धन्य कलाकारद्वय चन्द्रमान सिंह मास्के र तेजबहादुर चित्रकार कलकत्ताको ‘गभर्मन्ट स्कुल अफ आर्ट’बाट पहिलोपल्ट कलाको विधिवत कला–शिक्षा हासिल गरेर नेपाल फर्केका थिए । पश्चिमी कलाका प्रवृत्ति, प्रविधि र विश्वमै स्थापित भइसकेको पश्चिमी कलाबाट यी कलाकारद्वय दीक्षित हुन पुगेका थिए । यी दुई कलाका हस्तीले नेपाल फर्केपछि सिर्जना गरेका कला नितान्त पृथक् रूपमा देखिनु स्वाभाविक थियो । उनीहरु नेपाल फर्केपछि पश्चिमी कलाको पद्धति, चित्र सिर्जना गर्ने माध्यम, संयोजन, संगठनदेखि पश्चिमी टेक्निक आदिमा नितान्त नौलो प्रकारका चित्र निर्माण हुन थाले । योसँगै नेपालको कला इतिहासमा दुई किसिमका कलाका स्पष्ट धार विकसित हुन पुगेका थिए–परम्परागत कला र समसामयिक । यसै वेलादेखि जुद्धकला पाठशाला (त्यसबेला कला सिकाउने नेपालको एक मात्र स्कुल)मा पनि पश्चिमी पद्धति अनुसारकै पाठ्यक्रम शुभारम्भ भइसकेको थियो । हरिप्रसाद शर्माले यसै कला स्कुलमा अध्ययन गरेका थिए । 

त्यसवेलाका कला परम्पराभन्दा अलग देखिएका थिए, पश्चिमी कला पद्धतिले यथेष्ट मात्रामा दख्खल दिएका कारण तिनलाई समसामयिक कला भन्न थालियो । सिर्जना गर्ने प्रविधि पश्चिमी भए पनि चित्रको विषय नेपाली विषयमा आबद्ध भएका हुन्थे । नेपाली परम्परागत चित्रकलाको विधि–विधानभन्दा अलग्गै रूपमा आकृतिमूलक चित्र बनाउने परम्परा त्यतिबेलाका कलाकारले सुरु गरेका थिए । हाम्रै संस्कृति, संस्कार र दिनचर्यालाई कलाकारले कल्पनामा बुनेर कलाको सिर्जना गर्ने गर्दथे । रंगभन्दा रेखालाई प्रधान बनाएर स–साना अवयवलाई समावेश गरी यथार्थजस्तो तर काल्पनिक परिदृश्य बढी मात्रामा यी चित्रमा दृश्यावलोकन हुने गर्दथे । यसो हुँदा यस्ता चित्र एक अलग्ग शैलीका रूपमा देखिन गएको थियो । त्यतिबेला हाम्रो आफ्नै संस्कृति, संस्कार आदिलाई आधारभूमि बनाएका चित्र तयार हुन्थे । जसलाई अलिकता पश्चिमी कलागत भाषामा भन्नुपर्दा अलिकता स्वच्छन्दवादी, अलिकता यथार्थवादीको प्रभावमा विकसित भएको भन्न सकिन्थ्यो । यद्यपि नितान्त नेपालीपनका साथ कलाको शैली देखिँदा त्यसबखत नेपाली समसामयिक कलाले नौलो मोडको प्रारम्भ भएको ढुक्क्ले भन्न सकिन्छ । त्यसपछि यो नेपालको कला–स्कुलिङ हरायो जस्तो भयो । यस्तो अवस्थामा हरिप्रसाद शर्मा मात्र एक यस्तो कलाकार देखापरे, जसले यो कलाको शैली (स्कुलिङ)लाई अपनाए, जीवन्त राखे र आजको दिनसम्म अनुशासनबद्ध भएर पालना गरिरहेका छन् । 

अहिले पनि उनको कलामा यो नेपाली मौलिक कला–शैली बाँचिरहेको हेर्न र देख्न सकिन्छ । उनले नेपाली प्राचीन, माध्यमिक कलाको ऐतिहासिक, राजनीतिक घटना, सामाजिक अवस्था, समुदायको दिनचर्या, चाडपर्व, जात्रा आदिलाई थप अध्ययन गरी यसैको प्रतिविम्बका रूपमा चित्र बनाए । जो उनका कलामा सुनमा सुगन्धझैँ भए । जसकारण नेपाली समसामयिक कलाको इतिहासमा नितान्त नौलो धार स्थापित हुन गएको देखिन्छ । यसै शैलीमा निरन्तर लागिरहने त्यसवेलाका अन्य मूर्धन्य कलाकार आज जीवित छैनन् । यसर्थ पनि यी वयोवृद्ध कलाकार शर्माको महत्ता अझ बढेर गएको छ । उनको बारेका यस्तो गहकिलो पुस्तक आउनु उनीमाथिको सम्मान हो । 

कलाकार शर्मा अझै पनि निरन्तर कला सिर्जनामा व्यस्त छन् । आफ्नै घरको माथिल्लो तलामा उनको सानो स्टुडियो छ । यस स्टुडियोमा अहिले चारैतिर छरिएर रहेका रंगका ट्युब, तुलिका, एउटा इजलमा एउटा ठिक्कको क्यानभास, क्यानभासमा बन्दै गरेको अपुरो चित्र देखिन्छ ।  

घरको बीच तलाको ठूलो हलमा उनका दर्जनौँ कला व्यवस्थित रुपमा टाँगिएका छन् । उनको कला स्टुडियोकै बाहिरपट्टि खुला कौसी छ । बिहानैदेखि साँझसम्म घामले दर्शन दिइरहने घमाइलो स्टुडियोमा अचेल यी कलाकारको जाँगर अझ पलाएकोजस्तो देखिन्छ । उनलाई यस्तो खालको वातावरण उनकै छोरा डा. विष्णुुप्रसाद शर्माले मिलाएका हुन् । यी बाबुछोराको लोभलाग्दो सम्बन्ध देख्दा बाबुले सिर्जना गरेका कलामा छोराको पनि मिहिनेत मिसिएझैँ लाग्छ । 

समय क्रममा नेपाल 

आदर्श बुक्सबाट प्रकाशित १९३ पृष्ठको यस पुस्तकको साइज ११ बाइ १७ छ । कालो हार्डकभरसहितको यस पुस्तकलाई जतनसँग राख्न कालो रंगको डब्बा समेत तयार गरिएको छ । पुस्तकभरि जम्माजम्मी (अगाडि गातामा भएको समेत गरी) ८७ वटा चित्र छन् । कलाकारले अहिलेसम्म बनाएका जुन १७७ चित्रका बारेमा पनि पुस्तकको अन्त्यतिर विस्तारमा सूचीकृत गरिएको छ । 

पुस्तकमा छापिएका चित्र अझ राम्ररी बुझ्न सकियोस् भनी चित्रकै अर्को भागमा नेपाली, अंग्रेजी अनि नेवारी भाषामा चित्रसम्बन्धी ऐतिहासिक आलेखलाई लिपिबद्ध गरिएको छ । मूलतः कलाको विषयका बारेमा मात्रै ऐतिहासिक आलेख समेटिँदा कलाको प्रकृति, लक्षण, शैली–प्रवृत्ति वा कलाकारको मौलिक विशेषता र कलाको गुणस्तरको लेखाजोखा अभिलेखन भएको छैन ।

पुस्तकको हरेक पेजमा पेजभरि नै सकभर चित्रकै झझल्को हुने गरी १२ बाई साढे ९ साइजमा चित्र मिलाएर आकर्षक ढंगले छापिएको छ । पछाडिका केही व्यक्तिचित्र अलि सानो साइज (७ बाई ९) मा छन् । सबै चित्र रंगीन छन् । यसले गर्दा यो पुस्तक अझ ओजपूर्ण देखिन्छ । यति ठूलो साइजमा यति धेरै कला राखेर पुस्तक प्रकाशनमा आएको यो पहिलो होला सायद । यस पुस्तकमा नेपाली परम्परागत कला र आधुनिक कलाको सीमाजस्ता लाग्ने चित्र प्रस्तुत छन् । धेरैजसो चित्रमा सयौँ मान्छेलाई डिटेलमा अनि विविध एक्सनमा निर्माण गरिएको छ, आकर्षक संयोजन देखिन्छ । यो सँगसँगै रुखपात अन्य वस्तुलाई समेत विस्तारमा चित्रण गरिएको छ । यसर्थ स्वाभाविक हिसाबमा यी चित्र अलौकिक लाग्छन् । प्रिन्टको गुणस्तरले चित्रलाई न्याय गरेको देखिन्छ । बजार मूल्य २४ हजार रुपैयाँ रहेको यस पुस्तकको तौल नै तीन किलोभन्दा बढी छ ।

पाँचौँ खण्डमा रहेका आठवटा मुहारचित्रमा एकैजसो भावका साथ मुखाकृति देखिन्छन् । यी आठवटा चित्रमा पाँचौँ शताब्दीका राजा मानदेव, छैटौँ शताब्दीका राजा अंशुवर्मा, १४औँ शताब्दीका राजा जयस्थिति मल्ल, १६औँ शताब्दीका राजा महिन्द्र मल्ल, १७औँ शताब्दीका राजा सिद्धिनरसिह मल्ल १७औँ शताब्दीका राजा प्रताप मल्ल, १७–१८औँ शताब्दीका अर्का राजा भूपतिन्द्र मल्ल, १८औँ शताब्दीका राजा जयप्रकाश मल्लका व्यक्तिचित्र छन् । 

भेटेजतिको अभिलेखनका आधार (शालिक, शिलालेख, वंशावली आदि)मा कलाकारले सूचना संकलन गरी मुहारको परिकल्पना गरिएको बुझिन्छ । यति गर्दागर्दै पनि चित्र बनाउँदा सबैजसो राजा एकै प्रकारका देखिन्छन् । ठूलाठूला आँखा, खाइलाग्दो उज्यालो र जुँगा भएका अनुहारलाई प्रधानताका साथ राखिएको छ । अझ मल्ल राजाहरूको त जुँगाको साथसाथै दारी पनि राखिएको छ । सबैजसो राजाको वेशभूषा र गरगहना एकैजसो छन् । सबै राजाले टीका लगाइएको देखाइएको छ । राजा मानदेवबाहेक अन्य राजालाई निधारभरि तीनधर्के टीका लगाइएको छ । सबै राजाले कुण्डल लगाएको देखिएको छ । सबै राजालाई मोतीका माला लगाई सिँगारिएको देखिन्छ । 

नेपालको कला इतिहासमा भारतीय कलाको सुरुवातकालदेखि नै प्रभाव परेको छ । लिच्छविकालका राजालाई भारतीय गुप्त राजाहरूको र मल्ल कालमा पालवंशको कला–संस्कृति आदिको प्रभाव गहिरो रूपमा परेको छ । विशेष गरेर वेशभूषा र श्रीपेचमा मुगल राजाहरूको पनि प्रभाव परेको देखिन्छ । राजनीतिक इतिहास योभन्दा फरक छैन । यसो हुँदा उताको राजाकोे पहिरन, वेशभूषा, गरगहना आदिलाई कलाकारले यताका राजालाई पनि लगाइदिएको देखिन्छ । लिच्छवि र मल्ल राजाहरु भारततिरबाटै नेपाल आएको ऐतिहासिक किंवदन्ती पाइन्छ । हुन सक्छ, यसैका आधारमा कलाकारले राजाको सन्दर्भमा मंगोल अनुहारलाई सम्भवतः मिसाउन नखोजेको देखिन्छ । राजा मानदेव र अंशुवर्मा लिच्छवि वंशका हुन् भने बाँकी राजा सबै मल्ल वंशका हुन् । 

बुद्धको जीवनीअन्तर्गत तीनवटा चित्रका शीर्षक छन्– दुःखको कारण बुझ्दै सिद्धार्थ, महाभिनिष्क्रमण र बुद्धको कपिलवस्तु आगमन । सिद्धार्थ गौतम महात्मा बुद्ध बन्नुअघि बुद्धत्व प्राप्तको मार्गमा जान पे्ररित गर्ने एउटा प्रमुख घटनालाई आधार बनाएर चित्र बनाइएका छन् । सिद्धार्थ दरबारबाहिर घुम्न निस्कँदा बाटोमा वृद्ध, रोगी र मृतकको पीडालाई देख्छन् । उनलाई पनि पीडाबोध हुन्छ । उनलाई यसको कारण खोज्न लालसा उत्पन्न हुन्छ । यही सिद्धार्थ गौतमको बुद्ध बन्नुअघिको भागलाई सहज ढंगले चित्रित गर्ने कोसिस कलाकारले गरेका छन् । मानिसको दुःखलाई हेर्न र बुझ्न विभिन्न पात्र र अवयव (सिद्धार्थ गौतमसँगै सारथी छन्दक, मनोरम बगैँचा, नदी, मृग, सौदन्र्यपूर्ण वातावरण आदि)लाई चित्रमा समायोजन गरिएको छ । बग्गीमा आफू चढी घुम्न निस्केको परिदृश्यलाई बडो रमाइलो ढंगबाट संयोजन गरिएको छ । अग्रभागमा एक बुढो व्यक्ति र अलि पर बाटोमा लास लैजाँदै गरेको दृश्य देखाइएको छ । दोस्रो भागमा महाभिनिष्क्रमणमा श्रीमती र छोरालाई सुतिरहेको अवस्थामै छाडेर सुटुक्क बाहिरिँदै गरेका सिद्धार्थ गौतमलाई चित्रित गरिएको छ । तेस्रोमा बुद्धको कपिलवस्तुमा आगमनमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछि (महात्मा बुद्ध बनिसकेपछि) शाक्यमुनि बुद्ध कपिलवस्तुमा (आफ्नै दरबारमा) भिक्षुगणका साथ भिक्षा माग्न आएको दृश्य छ । पत्नी यशोधरा र विशेष गरेर छोरा राहुलले पितासँग पैतृक सम्पत्ति माग गर्दै गरेको दृश्यलाई चित्रित गरिएको छ ।

जनजीवन तथा सम्पदा खण्डमा खर्पन बोकेको किसान, कुमाले टोल, बाँडाको ज्यासल, मूर्तिकारका तीन पुस्ता, परम्परागत कपडा बुनाइ, व्यापारीको तिब्बत यात्रा, झारफुक गर्ने गुभाजु, नगिनी र युवतीहरू, बत्ती सल्काउँदै गरेकी दुलही, ओखलमा चिउरा कुट्दै, बँुइगलको ज्यापु भान्छा, इनारबाट पानी झिक्दै महिला, सामुदायिक ढुंगेधारा, बहाःमा सामुदायिक दिनचर्या, सहरका पाटीमा दिनचर्या, चिबहाः, साँढे जुधाइ, ढुंगेधारामा प्रेमजोडी, ज्यापुदम्पती, नृत्य गर्दै युगल जोडी, नेवार जात्राको रौनक, तमाखु तान्दै एक प्रौढ, जुवाखालको रमिता, भानुभक्तको कान्तिपुर नगरी, जैसीदेवल, त्यो कञ्चन वागमती, गुह्येश्वर मन्दिर र वागमती नदी, धन्दो चैत्य, बौद्धनाथ, काठमाडौंको काठ, चराको आँखामा काठमाडौं उपत्यका, सिक्लेसको गुरुङ गाउँ, तामाङ जोडीको नृत्य देखिन्छ । 

सबैजसो चित्रमा विशेष गरेर नेवार समुदायको दिनचर्या प्रमुख रूपमा चित्रित गरिएको छ । यसबाहेक सफा सुग्घर चिटिक्क परेका घर, पाटीपौवा, हँसिलासुकिला मानिसले आनन्दले जीवन बिताइरहेको परिदृश्य उनका चित्रमा देखिन्छन् । महिला मिहिनेत, आ–आफ्नो काममा इमानदार र तनमन दिएर संलग्न भएका दृश्य यथेष्ट मात्रामा देखिन्छन् । यी सबैजसो चित्र वास्तविक (अन द स्पट आर्ट) नभएर कलाकारको कल्पनाले बुनीवरी स्टुडियोमै बसेर बनाएका हुन् । यसो हुँदा हुँदै पनि कुनै न कुनै गाथा, लोकोक्ति, कलाकारको अनुभव, केटाकेटी छँदै देखेका घटना, अवस्था आदिलाई आधार लिएको देखिन्छ । कुराकानी गर्दै गरेको दृश्यमा पनि कल्पनाले निर्देशित गर्दा अलगअलग पात्र, आ–आफ्नै अलगअलग क्रियाकलाप समेटिएका छन् । जसले गर्दा चित्रहरु नाटकको परिदृश्य जस्ता पनि देखिन्छन् । 

चित्रमा सुखमय, रमाइलो वातावरण देखिन्छ । कुनै न कुनै काम चलिरहेको, त्यसको वरिपरिका वृद्धा, बालबच्चा कुतूहलताका साथ हेरिरहेका आदि दृश्यले गर्दा उतिवेलाको काठमाडौं उपत्यका (लिच्छवि, मल्लकाल वा सय वर्ष अगाडिसम्म) भित्रको समाज धेरै नै खुसहाल थिए भन्ने देखाउन खोजेको भान हुन्छ । मन्दिर पाटीपौवा आदिले हाम्रो ऐतिहासिक वास्तुकला, सम्पदा, गौरवपूर्ण धरोहर चित्रित भएका छन् । यी चित्र यथार्थ पनि हुन्, कल्पनाले बढी मात्रामा थिच्दा स्वच्छन्दवादको छाया परेको बोध हुन्छ । कलाकारले बाल्यकालमा देखेको गुहेश्वरीकै दृश्यचित्र बनाउँदा पनि स्वच्छ सफा, हराभरा वागमती र अनुपम कलालाई समेटेका छन् । 

संस्कृतिको खण्डमा पचली भैरवजात्रा, आकाश भैरवजात्रा, नवरात्रि बाजा, सेतो मच्छिन्द्रनाथको रथजात्रा, खटजात्रा, बाँसुरी टोली, फागु, काठमाडौंको गाईजात्रा पर्व, भक्कु भैरव नृत्य, सिंह सार्थ वाहु, नेवारी शवयात्रा आदि छन् । विशेष गरेर नेवार समुदायका चाडपर्व र जात्राका बारेमा चित्र बनाइएका छन् । सयौँ मान्छेका भीड, हर्षोल्लास अनि परम्परागत विधिविधानका साथ महिला–पुरुष एक भएर यस्ता जात्रा मनाइराखेको दृश्यलाई चित्रित गरिएको छ । विशेष गरेर रातको समयलाई कलाकारले कल्पनामा ल्याएका छन् । परम्परागत लोकोक्ति, गाथाको आधारमा कलाकारले बच्चै बेलादेखि सुन्दै, हेर्दै आएका यस्ता जात्रालाई नेवार समुदायले कसरी भक्तिभावका साथ, एकजुट भएर मनाउँछन् भन्ने उनका चित्रमा स्पष्ट देखिन्छ । 

इतिहास खण्डमा अशोकको लुम्बिनी तीर्थयात्रा, गरुड स्तम्भ स्थापना गर्दै मानदेव, मानदेवको कलापक्ष, कैलाशकुट भवन, भृकुटीको स्वागत गर्दै स्रङ्चन गम्पो, अरनिको चीन प्रस्थान, जयस्थिति मल्ललाई स्वागत गर्दै देवलदेवी, जगज्ज्योतिर्मल्ल नृत्यको निर्देशन गर्दै, सिद्धिनरसिह मल्लको बिदाइ, प्रताप मल्ल स्वयम्भुमा बज्र चढाउँदै, रानीपोखरी, प्रताप मल्ल रानीहरुको शृँगार कक्षमा, प्रताप मल्लको रंगीन साँझ, प्रताप मल्ल होली मनाउँदै, प्रताप मल्लको अन्त्य, नागपोखरीमा जितामित्र मल्ल, पाटनदरबार भण्डारखाल बगैँचाको कमलपोखरी, मल्लकालीन हात्तीखेदा, जयप्रकाश मल्ल र तलेजु भवानी, नवकुमारीको गृह प्रवेश, पृथ्वीनारायण शाह र जयप्रकाश मल्लको कूटनीतिक मितेरी, कालु पाण्डेलाई आदेश दिँदै पृथ्वीनारायण शाह, पृथ्वीनारायण शाहद्वारा कान्तिपुरमाथि आक्रमण, पृथ्वीनारायण शाह कुमारीको हातबाट टीका थाप्दै, पृथ्वीनारायण शाह नेवारी नाच हेर्दै, पृथ्वीनारायण शाह पाटनका जनतासँग भेट्दै, पृथ्वीनारायण शाहको दिव्योपदेश, नेपाल एकीकरणका नायकबहादुर शाह, महादेव पार्वती मन्दिर स्थापनामा बहादुर शाह, कोत हत्याकाण्ड, जंगबहादुर र लाउरा बेल, राणाकालीन चाकरी प्रथा आदि छन् । 

यो खण्डमा लिच्छविकालदेखि मल्लकाल हँुदै शाहकालसम्मका ऐतिहासिक राजा, राजनीतिक घटना आदिलाई क्रमबद्ध रूपमा चित्रित गरिएको देखिन्छ । संगीत, नाच, वास्तुकलाको अनुपम नमुना, सामुदायिक र धार्मिक काममा राजाको सक्रिय संलग्नता आदिलाई देखाउन कोसिस गरिएको छ । नेपाली वास्तुकलाका यस्ता अद्वितीय नमुना (प्यागोडा, शिखर, स्तुपा आदि शैली)लाई कुनै न कुनै प्रसंगमा कलाकारले आफ्नो चित्रमा प्रवेश गराएको देखिन्छ । झ्याल, चौकस ढोका आदिलाई सुन्दर काष्ठकलाले सिँगारिएको छ । कलाले भरिएको कलात्मक दरबार, कलालाई उपहार दिने प्रचलन आदिलाई पनि देखाउन कोसिस गरिएको छ । 

हरेकजसो चित्रमा मान्छेको ठूलो भीड देखाउने कलाकारको मूल विशेषता देखिन्छ । राजाहरूको रंगीन साँझको परिकल्पना मात्रै होइन, रानीहरूको शृंगारलाई विशेष चासोका साथ चित्रित गर्ने कोसिस कलाकारको देखिन्छ । तान्त्रिक शक्तिद्वारा देवीलाई बोलाउन सक्ने राजाको पनि परिकल्पना गरिएको छ । यस्ता धेरै विशेषता छन् । यी सबैलाई यो सानो आलेखमा अटाउन सकिँदैन । समग्रमा सफा, सुन्दर, कलाकारको धेरै कलाकृति समेटिएर प्रकाशनमा आएको यो पुस्तक सर्वगुणले सम्पन्न देखिन्छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप