शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गगनको हिसाबमा कहाँ भयो गोलमाल ?

बुधबार, ०६ पुस २०७९, १९ : ४९
बुधबार, ०६ पुस २०७९

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले ‘अनपेक्षित’ मत पाए । बुधबार बिहान भएको दलको नेताको निर्वाचनमा ८९ सांसदमध्ये २५ जनाले मात्र थापालाई मतदान गरे । बाँकी ६४ जना सांसदले सभापति शेरबहादुर देउवालाई समर्थन जनाए ।

योसँगै देउवा कांग्रेस संसदीय दलमा पाँचौं पटक निर्वाचित भए । देउवा ०५१, ०५८, ०७२ र ०७४ पनि कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए । ४६ वर्षीय थापाको भने संसदीय दलको नेता बन्ने पहिलो प्रयास असफल भएको छ ।

देउवासँगको प्रतिस्पर्धामा उत्रिँदा नै थापालाई नतिजा आफ्नो प्रतिकूल आउने थाहा थियो । जबरजस्त रुपमा कांग्रेसको वैकल्पिक नेता बन्ने ध्येयका साथ उनले संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको बुझ्न कठिन थिएन ।

नेता डा. शेखर कोइरालाले अन्तिम समयमा रुपान्तरणको सन्देश प्रवाह हुने भन्दै थापालाई समर्थनमात्र जनाएनन्, उनको प्रस्तावक नै बसे । यसबाट थापा थप हौसिएका थिए । त्यसमा पनि महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलको समर्थन पाएपछि गणितको ग्राफ उकालो लाग्ने थापाको विश्वास थियो ।

थापाले ३९ जना सांसदको भोट प्राप्त गर्ने दाबी मंगलबार साँझ गरेका थिए । उनी ३५ भन्दा बढी सांसदको भोट पाउनेमा ढुक्क जस्तै देखिन्थे । तर बुधबार बिहान भएको मतदानमा थापालाई २५ जना सांसदले मात्रै रोजे । संसदीय दलको चुनावमा थापा अहिलेसम्मकै सबैभन्दा कम मत ल्याउने उम्मेदवार बन्न पुगे । ७४ मा नेता प्रकाशमान सिंहले ३० प्रतिशत सांसदको मत पाएका थिए भने थापा २८ प्रतिशतमा सीमित भए ।

उक्त परिणामपछि थापाको टीमभित्र गोलमाल भएको बाँकी मतको हिसाब भइरहेको छ । चुनावको नतिजापछि थापा समूहका सांसद कोइराला, थापा, विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी, सञ्जय गौतमलगायतले छलफल गरेका थिए । समूहका ‘सिनियर’ नेताको असहयोग हुँदा अनपेक्षित मत आएको थापा निकटको बुझाइ छ ।

विगतमा देउवा इतर समूहको नेतृत्व सम्हालेका रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, शशांक कोइराला अहिले देउवाको साथमा उभिँदा मत तलमाथि भएको थापा निकट एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।

पौडेल, कोइराला, सिंहसँग निकट मानिने सांसदहरुको मत नपाएको थापा पक्षको भनाइ छ । सांसद दिपक गिरि, सुरेन्द्रराज आचार्य, राजेन्द्र बजगाईँ, दिक्पाल शाही, राजेन्द्र केसी, दिलेन्द्र बडू, सन्तोष चालिसे लगायतकोे मत गोलमाल भएको थापा निकटको आशंका छ । कोइराला निकट गिरि, पौडेल निकट आचार्य, शाही, बडू र सिंह निकट केसी र चालिसेको मत पाउने विश्वासमा थापा थिए ।

मंगलबार साँझ पौडेलले आफू निकट सांसदलाई बोहराटार बोलाएर देउवालाई मतदान गर्न आग्रह गरेको कांग्रेस स्रोतले रातोपाटीलाई बतायो । सिंहले पनि केसी र चालिसेलाई दायाँ बायाँ हुन नदिएको थापा समूहको ठहर छ । १४ औं महाधिवेशनताका शेखर कोइराला पक्षमा उभिएका केही सांसदले अहिले आएर देउवालाई भोट दिएको अवस्था छ ।

उनीहरुका मुख्य नेता नै देउवाको पक्षमा उभिँदा थापाले ती मत प्राप्त गर्न नसकेको देखिन्छ । संस्थापन इतर पक्षबाट थापाको एकल उम्मेदवारी परेपछि देउवाले पौडेल, सिंह र कोइरालालाई फकाउन लगाएका थिए ।

यस्तै मंगलबार साँझ थापा समूहका भनिएका केही सांसद बालुवाटार पुगेको थापा निकट स्रोतको भनाइ छ । थापालाई देउवा समूहका ४–५ जना सांसदको मत पाउने विश्वास थियो । देउवा समूहले सांसदको निगरानी बढाएपछि मत तलमाथि हुन नसकेको थापा पक्षको बुझाइ छ ।

सांसद आरजु राणा र मञ्जु खाणले ११ जना सांसदलाई दबाब दिएर मतपत्रको तस्बिर खिच्न लगाएको थापाको आरोप छ । ‘मतदान केन्द्रमा केही सांसदले फोटो खिच्नुभयो, त्यो अशोभनीय देखियो । १०–११ जना सांसदले यस्तो गर्नुभएको छ,’ थापाले भने ।

मतपत्रको फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा सेयर गर्न थापाले आग्रह गरेका छन् । ‘नखिच्नुस् भन्दाभन्दै १०–११ जनाले तस्बिर खिच्नु भयो । को–कसले खिच्नु भयो मलाई सबै थाहा छ, मेरो आग्रह छ,’ उनी भन्छन्, ‘खिचेका साथीहरुले आ–आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दिनुस् ।’

सांसद अर्जुनरसिंह केसीले समूहमा रहेर भोट नहाल्नेमाथि छानबिन हुने बताए । केसीले भने, ‘भोट कसले कसले खसालेनन् भन्ने छानबिन हुन्छ । आशंका गर्नुपर्ने ठाउँ धेरै छन् । देउवा पक्षबाट नै पाँच मत गगनजीलाई आएको छ । यताबाट धेरै मत देउवातिर गयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप