शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिने कार्यकालको फेहरिस्त प्रस्तुत गर्दै बिदा भए पर्यटनमन्त्री श्रेष्ठ

सोमबार, ११ पुस २०७९, १२ : ५२
सोमबार, ११ पुस २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ मन्त्रालयबाट विदा भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट ५ दलीय वाम–लोकतान्त्रिक गठबन्धनको सरकारमा सहभागी भएका मन्त्री श्रेष्ठ आफ्नो १ सय ८३ दिन अर्थात् ६ महिने कार्यकाल पुरा गरी सोमबार विवाद भएका हुन् । 

२०७९ असार १३ गते मात्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । आफ्नै पार्टीका नेता प्रेमबहादुर आलेलाई विस्तापन गर्दै मन्त्री बनेका श्रेष्ठले आफ्नो १ सय ८३ दिने कार्यकालमा गरेका काम कारबाहीको फेहरिस्त ४५ बुँदामा समेट्दै विदा भएका छन् ।

कोरोना महामारीबाट थिलथिलो हुन पुगेको पर्यटन क्षेत्रलाई उत्थान गर्ने रणनीतिक पहल, व्यवसायीहरुको आत्मबल बढाउनुका साथसाथै आफ्नो कार्याकालमा पर्यटन प्रवर्द्धन तथा विकासका यावत् कामहरू भएको मन्त्री श्रेष्ठले आफ्नो वक्तव्यमा बताएका छन् । 

कोरोना महामारीले सबैभन्दा धेरै असर गरेको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रवर्द्धन, नेपाल पर्यटन दशक घोषणा जस्ता केही महत्वपूर्ण कामहरुको शुरुवात गरेको श्रेष्ठको भनाइ छ । 

साथै, संस्कृति र पुरातत्वतर्फ सम्पदाहरुको पुनःनिर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धनका लागि ‘होप अन होप अफ बस’ संचालनको अवधारणा अघि बढाउनु आफ्नो उत्कृष्ट कार्य रहेको बताएका श्रेष्ठले रात्रिकालिन सम्पदा यात्रा र नागरिक उड्डयनतर्फ विमानस्थल सेवा विस्तारमा गरिएको थप प्रगतिमा गर्वगर्न लाएक भएको बताएका छन् । आफ्नै पहलमा भर्खरै मात्र २०२३ देखि २०३३ भ्रमण दशक घोषणा भएको समेत मन्त्री श्रेष्ठले बताएका छन् ।
विदा हुँदै गरेका श्रेष्ठले आफूलाई मन्त्रीका रूपमा जिम्मेवारी प्रदान गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष माधवकुमार नेपाल, लगायत बाम–लोकतान्त्रिक गठबन्धन सम्बद्ध  पार्टीका नेताहरूलाई समेत कृतज्ञता व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप