बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुस्टर डोजका लागि खोपको अभाव

औषधि व्यवस्था विभागले अनुमति दिएसँगै खोप ल्याउने सरकारको तयारी
शुक्रबार, १५ पुस २०७९, १० : ३४
शुक्रबार, १५ पुस २०७९

सरकारले छिमेकी राष्ट्रहरुमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको सब–भेरियन्ट बीएफ.७ फैलिएसँगै  बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोज लगाउन आग्रह गरे पनि पर्याप्त मात्रामा सरकारसँग खोप छैन ।

१८ वर्षमाथिका खोप लगाउने समूहलाई दिइने बुस्टर डोज टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा छैन । बुस्टर डोजका लागि स्वास्थ्य संस्थाहरुले खोप माग गरे पनि विभागले उपलब्ध गराउन नसकेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

उता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाविरुद्धको खोप सकिएकाले एक सातादेखि खोप दिने अभियान रोकिएको सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । छिमेकी राष्ट्रमा सङ्क्रमण दर बढेपछि बुस्टर डोज कोभिशिल्ड, फाइजर, मोडर्ना खोप लगाउन भन्दै अस्पताल पुग्नेहरू खोपको अभावमा त्यसै फर्किन थालेको अधिकारीले बताए । 

यद्यपि केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल खोप स्टक छ । सो खोप बुस्टर डोजका रुपमा प्रयोग गर्न नसकिने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए ।

विश्व स्वास्थ्य संगठन र राष्ट्रिय खोप सल्लाहकार समितिले सिनोफार्मको खोपलाई बुस्टर डोजको रुपमा लगाउन अनुमति नदिइएकोले प्रयोगमा ल्याउन नसकिएको उनको भनाइ छ । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर विवेक लाल भन्छन्, ‘कोरोना महामारीको चौथो लहरपछि खोप लगाउने दर ह्वात्तै कम हुँदा केही मात्रा खोपको म्याद गुज्रिदा आलोचना भयो ।’

डा. लालका अनुसार सोही समयमा सरकारले कोभ्याक्स सुविधाअन्तर्गत ९० लाख डोज खोप ल्याउने सुनिश्चित गरेको थियो । जसमा ३० लाख मात्रा खोप प्राप्त गरिएको उनले सुनाए । ‘हामीले यता स्वदेशमा पनि खोपको म्याद गुज्रियो भनेर आलोचना हुने, उताबाट सुनिश्चत गरिएको खोपको पनि म्याद कम भएकाले ल्याएनौँ,’ उनले भने ।

शाखाका अनुसार बागमती प्रदेशमा भेरोेसेल १ लाख २० हजार ७२९, फाइजर १४ हजार ४००, बालबालिकाका लागि  दिइने फाइजर खोप ४ लाख १३ हजार ३२० गरी जम्मा ५ लाख ४८ हजार ४४९ मात्रा भण्डारण छ । सो प्रदेशकै हेटौँडामा भेरोसेल ६३ हजार २०३ र फाइजर ७२ हजार गरी १ लाख ३५ हजार २०३ मात्रा खोप छ ।

शाखा प्रमुख डा चौरसियाले १२ वर्ष उमेर माथिकालाई दिइने  बुस्टर डोजका लागि खोप केन्द्रीय भण्डारणबाट प्रदेशमा पठाइएको बताए ।

खोप कहिले आउँछ ?

चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चत गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख मात्रा ल्याउन लागिएको छ । ओमिक्रोनको सब भेरिएन्ट बिएफ.७ को सङ्क्रमण छिमेकी राष्ट्रसँगै यूरोपेली राष्ट्रमा फैलिदाँ नेपालमा पनि जोखिम बढेकाले बुस्टर डोज लगाउन सरकारले आग्रह गरेको छ ।

त्यसैले सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई समेत काम गर्ने नयाँ खोप बाइभलेन्ट ल्याउन लागेको निर्देशक डा. लालले बताए । सो खोप प्राप्तिका लागि औषधि व्यवस्था विभागबाट अनुमति आएको उनको भनाइ छ ।

उनले भने, ‘विभागबाट आकस्मिक प्रयोगका लागि हिजो अनुमति पायौं । त्यस लगत्तै कोभ्याक्सलाई पत्र पठाएका छौँ । पत्रमा हामीले १५ लाख बाइभलेन्ट खोपसँगै अझै आवश्यक पर्ने जानकारी गराएका छौँ । खोप प्राप्तिको प्रक्रियामा छौँ ।’ अंग्रेजी नयाँ वर्ष नजिकिएकाले खोप आइपुग्न केही समय लाग्ने उनको ठहर छ ।

बुस्टर डोज तत्काल लगाऔँ

कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप लगाएको ६ महिनापछि क्रमशः एन्टिबडी कम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहका ९५.७ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाइसकेका छन् । बुस्टर डोज अर्थात् अतिरिक्त मात्रा खोप हालसम्म ७९ लाख ७२ हजार ७९१ जनाले मात्रै लगाएका छन् । पूर्ण मात्रा खोप र बुस्टर डोज लगाएको ६ महिना कटिसकेकाले सरकारले बुस्टर डोजको व्यवस्था गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । सब–भेरियन्ट बीएफ.७ भाइरस सङ्क्रामक र घातकताबारे पूर्णरुपमा जानकारी नभए पनि दीर्घरोगी, ज्येष्ठ नागरिक र फ्रन्टलाइनर जोखिममा रहन सक्ने भएकाले बुस्टर डोज तत्काल लगाउन उनको आग्रह छ ।

उनी भन्छन्, ‘बुस्टर डोज लगाए पनि त्यसले पूर्णरुपमा काम गर्न १०÷१५ दिन लाग्न सक्छ । त्यसैले सकेसम्म चाँडै खोप लगाऔँ ।’

भण्डारण केन्द्रमा खोप कति छ ?

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले बुस्टर डोजका लागि खोप प्रदेशमा पठाइसकिएको जनाएको छ । व्यवस्थापन शाखाका अनुसार प्रदेश १ को खोप भण्डारण केन्द्रमा भेरोसेल खोप ५ हजार ३७३ मात्रा छ । मधेश प्रदेशमा भेरोसेल ४ हजार ६०० र फाइजर ४३ हजार २९० गरी ४७ हजार ८९० मात्रा भण्डारणमा छ ।

यस्तै बागमती प्रदेशमा भेरोसेल, फाइजर, १२ वर्षभन्दा मुनिका उमेर समूहका लागि फाइजर खोप ५ लाख ४८ हजार ४४९ मात्रा भण्डारणमा छ । यस्तै, बागमती प्रदेश अन्र्तगत हेटौंडामा एक लाख ३५ हजार २०३ मात्रा र केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल खोप स्टक छ ।

उता गण्डकी प्रदेशमा भेरोसेल एक हजार ७६०, फाइजर एक हजार ३२६ र बालबालिकालाई दिइने फाइजर खोप ४ हजार ६१० मात्रा भण्डारणमा छ ।

लुम्बिनी प्रदेशमा भेरोसेल १ लाख ११ हजार ६ मात्रा छ भने कर्णाली प्रदेशमा भेरोसेल ५० हजार ५४६ मात्रा छ । सुदूरपश्चिम प्रदेशमा ८ हजार ७५४ मात्रा भेरोसेल खोप छ ।

कुन प्रदेशमा कुनकुन खोप छ ?

१२ वर्षभन्दा माथि उमेर समूहलाई दिइने फाइजर खोप ३ वटा प्रदेशको खोप भण्डारण केन्द्रमा रहेको शाखाले जनाएको छ । यस्तै, खोप बागमती प्रदेश, गण्डकी प्रदेशका भण्डारण केन्द्रहरुमा ५ हजार ९१६ मात्रा छ । यस्तै, बालबालिकाका लागि दिइने फाइजर खोप हेटौँडा, बागमती र गण्डकी प्रदेशमा गरी ४ लाख ८९ हजार ९३० मात्रा भण्डारणमा छ ।

भेरोसेल खोप केन्द्रीय भण्डारण केन्द्रमा ४० लाख र सातै प्रदेशका भण्डारण केन्द्रमा गरी ४३ लाख ६५ हजार ९७१ मात्रा रहेको व्यवस्थापन शाखाले जनाएको छ ।

कुन खोप कति आयो ?  

नेपालमा पहिलो पटक २०७७ माघ १४ गतेबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप दिन सुरु गरिएको हो । भारत सरकारको अनुदान सहयोगमा ०७७ माघ ८ गते १० लाख मात्रा खोप प्राप्त भएको थियो । हालसम्म सरकारले खरिद अनुदानमार्फत विभिन्न सात थरी फरक नामका ६ करोड ३२ लाख ७६ हजार ७१० मात्रा खोप प्राप्त गरेको छ । जसमा कोभिशिल्ड खोप ९४ लाख ८७ हजार मात्रा प्राप्त गर्दा भेरोसेल  एक करोड ९७ लाख ३६ हजार ४०० सय मात्रा प्राप्त गरेको व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

यस्तै, जोन्सन ३७ लाख ११ हजार ५०० मात्रा, एष्ट्राजेनिका ६५ लाख ३० हजार ७२०, फाइजर ३७ लाख ६३ हजार ८९० मात्रा, बालबालिकाका लागि दिइने फाइजर खोप ८३ लाख ९५ हजार २०० मात्रा प्राप्त गरेको छ । मोडर्ना ७६ लाख ५२ हजार मात्रा, सेनेभ्याक ४० लाख मात्रा खोप प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप