आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कमनवेल्थ बैठकमा विनोद चौधरीद्वारा नाकाबन्दीबारे जानकारी

शुक्रबार, ११ मङ्सिर २०७२, ०९ : २२
शुक्रबार, ११ मङ्सिर २०७२

काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा जारी नाकाबन्दीले चरम मानवीय संकट उत्पन्न हुनसक्ने भन्दै अन्र्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

माल्टामा आयोजित कमनवेल्थ राष्ट्रप्रमुखहरुको सम्मेलन २०१५ मा अतिथि वक्ताको रुपमा विहीबार सम्बोधन गर्दै अध्यक्ष चौधरीले भूकम्पबाट थिलोथिलो भएको नेपाल हाल जारी नाकावन्दीका कारण आर्थिक संकटतर्फ धकेलिएको बताए । नाकाबन्दीले मानिसहरुको दैनिक जनजीवन अस्तव्यस्त बनाएको र उद्योग एवं व्यवसायहरु बन्द गराएको जानकारी अध्यक्ष चौधरीले बैठकलाई गराए ।

सम्मेलनमा विश्वका करिब ८० राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख र निजीक्षेत्रका अग्रणीहरुको सहभागिता रहेको छ । नेपाल कमनवेल्थ राष्ट्र नरहे पनि अध्यक्ष चौधरीलाई अतिथी वक्ताका रुपमा सम्मेलनमा आमन्त्रण गरिएको थियो । क्षेत्रीय समन्वयका लागि उदार भावना भएको क्षेत्रीय नेतृत्वको आवश्यकतामा अध्यक्ष चौधरीले जोड दिए । ‘दक्षिण एसियाली क्षेत्रीय समन्वयको कुरा गर्दा यस क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेको राष्ट्र भारतले छिमेकीहरुप्रति उदारता देखाएर मात्रै क्षेत्रीय समन्वय संभव हुनेछ’ अध्यक्ष चौधरीले युरोपियन यूनियनको प्रसंग जोड्दै भने,‘भारतले पनि युरोपियन युनियनको स्थापनाकालमा जर्मनीले देखाएको जस्तै उदार भुमिका देखाउन सक्नुपर्छ ।’

अध्यक्ष चौधरीले भूपरिवेष्टित राष्ट्र नेपालले निर्वाध पारवहनको सुविधाको आधारभूत हकसमेतबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा चिन्ता ब्यक्त गरे । उनले नेपालमा जारी नाकाबन्दीले जीवनरक्षाका लागि अत्यावश्यक औषधी, खाना पकाउने ग्यास, र सवारी इन्धनको चरम अभाव भएको जानकारी पनि अन्तर्राष्ट्रिय समुदायलाई दिए ।

नेपालमाथिको नाकाबन्दी अन्त्यका लागि कुनै पक्षबाट सहयोग नभएको उल्लेख गर्दै अध्यक्ष चौधरीले यो परिस्थितिले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता र प्रभावकारितामा प्रश्न उठेको बताए ।

“सार्क विश्वमै अत्यन्तै कमजोर क्षेत्रीय संगठनका रुपमा चर्चित छ । बेलाबेलामा प्रस्तुत हुने गरेका राम्रा पहलहरु र योजनाहरुका वावजूद पनि एक आपसमा देखिने गम्भीर मतभेदका कारण क्षेत्रीय समन्वय र विकासका हिसाबले सार्क सधै“ पछाडि पर्दै आएको छ,” चौधरीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप