आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नाकाबन्दीले मुलुक तहसनहस : उपसभापति पौडेल

शुक्रबार, ११ मङ्सिर २०७२, १७ : २३
शुक्रबार, ११ मङ्सिर २०७२

दमौली–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले १० वर्षे द्वन्द्व, गत वैशाखको विनाशकारी भूकम्प र अहिले भारतले गरेको नाकाबन्दीले मुलुकलाई तहसनहस बनाएको भन्दै यसको छिटो अन्त्य हुनुपर्ने बताएका छन् ।

तनहुँको साभुङ भगवतीपुर–६ ध्यानुङस्थित कामधेनु माविको नवनिर्मित चारकोठे भवनको आज उद्घाटन गर्दै उनले मुलुकको विद्यमान सङ्कट समाधानका लागि विपक्षमा रहेर पनि काँग्रेसले उलेख्खनीय भूमिका खेल्ने बताए । कृषि, पर्यटन र जलस्रोतको विकास हुनसके मात्रै मुलुक माथि उठ्ने उपसभापति पौडेलको धारणा थियो ।

उनले उक्त भवन निर्माणपछि ग्रामीण क्षेत्रका बासिन्दालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने बताउँदै अबको शिक्षा वैज्ञानिक र सीपमूलक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसदहरू धु्रव वाग्ले, रामचन्द्र पोख्रेल र झुलबहादुर आले, जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठलगायतकाले विद्यालयको प्रगतिको कामना गरेका थिए । रु तीस लाख १७ हजार ३६१ को लागतमा सो चारकोठे भवन निर्माण गरिएको हो ।

सो अवसरमा विद्यालय भवन निर्माणका लागि रु १५ लाख ६५ हजार ३०९ उपलब्ध गराउने नाम्लो युरोपा स्पेनका कार्यकारी अध्यक्ष नेग्डा किङलाई सम्मानसमेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप