आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गोरखाको पुनःनिर्माण गर्न बाह्रबुँदे घोषणापत्र जारी

आइतबार, १३ मङ्सिर २०७२, १६ : ०५
आइतबार, १३ मङ्सिर २०७२
गोरखा– भूकम्पपछि गोरखाको गाउँ र बस्ती पुनःनिर्माण गर्न बाह्रबुँदे घोषणापत्र जारी गरिएको छ । सरकारले पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ गरेपछि जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ सङ्घसंस्थाको समन्वयमा १२ बुँदे पुनःनिर्माणको खाका तयार गरी लागू गरेको हो । पुनःनिर्माणको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तयार गर्न शुक्रबारदेखि पोखरामा सुरु भएको सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै आज सकिएको छ । डिएफआइडी, सिआरएस, अक्सफाम, इको नेपाल, पिपुल इन निड, युएनडिपीलगायत ठूला दातृ निकायको सहयोगमा जिल्ला दैवी प्रकोप उद्धार समितिले पुनःनिर्माणका लागि निर्देशिका जारी गरेको हो । सम्मेलनले पुनःनिर्माणका लागि ‘सुरक्षित, गतिशील र समृद्ध गोरखा हाम्रो प्रतिबद्धता’ मुख्य नारा तय गरेको छ । “गोरखाको पुनःनिर्माणका लागि करिब रु ३० अर्ब ३२ करोड लाग्ने देखिएको छ”– घोषणापत्रमा उल्लेख छ । घोषणापत्र अनुसार आगामी तीन वर्षका लागि आवश्यक रु १२ अर्ब सहयोग सरकार र दातृ निकायबाट सङ्कलन गरी खर्च गरिने छ । सम्मेलनले तात्कालिक रुपमा आवश्यक भौतिक संरचना तीन वर्षभित्र निर्माण गरिसक्ने गरी रणनीति तयार गरेको छ । घर, विद्यालय, सरकारी भवनलगायत भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रभावित हुनुपर्ने सम्मेलनको निष्कर्ष छ । पुनःनिर्माणका लागि आवश्यक रकम सङ्कलन गर्न जिल्ला दैवी प्रकोप उद्धार समिति, जिविसले दातृ निकाय, विकासका साझेदार र नेपाल सरकारलाई अनुरोध गरिने छ । भूकम्पपीडित जनतालाई घर बनाउन दिइने रु दुई लाखमा दुर्गमका पीडितलाई सामग्री ढुवानीका लागि थप अनुदान रकम दिनुपर्ने सम्मेलनले माग गरेको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका संरचना पुनःनिर्माणका लागि आन्तरिक तथा बाह्य स्रोत परिचालन तथा लगानी आकर्षित गर्ने रणनीति तयार गर्ने सम्मेलनले अठोट गरेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए । बारपाकमा ‘भूकम्प स्मृति उद्यान’ बनाइने भूकम्पको केन्द्रबिन्दू रहेको गोरखाको बारपाक गाउँमा भूकम्प अध्ययन तथा स्रोत केन्द्र स्थापना गर्ने तयारी गरिएको तिमल्सेनाको भनाइ छ । “भूकम्पमा परेर देशभर मृत्युवरण गरेकाहरुको नाउँमा बारपाकमा भूकम्प स्मृति उद्यान बनाउने निर्णय गरियो,” प्रजिअ तिमल्सेनाले भने – “जग्गा अधिग्रहण गर्न र उद्यान क्षेत्र छनोट गर्न कार्यदल गठन गरिएको छ ।” उद्यानभित्र भूकम्पले पु¥याएको क्षति ‘जस्ताको त्यस्तै’ राख्ने र मृत्युवरण गरेका व्यक्तिको नामसमेत राखिनेछ । आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापनाको तयारी विपद्का बेला पीडितलाई सहयोग गर्न पाँच हजार घरपरिवारका लागि आवश्यक पर्ने राहत सामग्री र अत्यावश्यक उपकरण भण्डारण गरी राख्न जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने तयारी गरिएको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले जानकारी दिए । “प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न आवश्यक सामग्री खरिद गरी केन्द्रमा राख्ने तयारी गरिएको हो” – गिरीले भने । भूकम्पपछि जिल्लाको समग्र दस्तावेजको सङ्ग्रह किताबमा उल्लेख गर्ने पनि घोषणापत्रमा लेखिएको छ । “घोषणापत्रअनुसार तीन वर्षभित्र सक्ने गरी पुनःनिर्माणको काम सुरु गर्छौँ,”–सम्मेलनमा सहभागी नेपाली काँग्रेसका जिल्ला सभापति हरिबहादुर घलेले भने, “सबैको सहयोग भयो भने भूकम्पपीडितले छिट्टै आवास पाउँछन् ।” जिल्लाको १३ इलाकामा पाँच जना दक्ष प्राविधिज्ञका दरले कर्मचारीसहितको कार्यालय स्थापना गरी गाउँ र बस्ती पुनःनिर्माणको काम सुरु गर्नुपर्ने घलेको भनाइ छ । सम्मेलनमा सांसद छमबहादुर गुरुङ, पूर्वसांसदद्वय परशुराम रम्तेल र अमर तमु, काँग्रेस नेता घले, नेकपा ९एमाले० जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, क्रान्तिकारी माओवादीका सेक्रेटरी नारायण अधिकारी, नयाँ शक्ति अभियानका रमेश पोखरेल, सरकारी कार्यालयका प्रमुख, भूकम्पपछि जिल्ला आएका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैससका प्रमुख तथा प्रतिनिधि, पत्रकार गरी करिब १३० जनाको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप