शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

माछा बेचेर मनग्य आम्दानी, भन्छन्, ‘फोन चलाउने जानेको भए झन् धेरै कमाई हुन्थ्यो’

मङ्गलबार, १५ मङ्सिर २०७२, १४ : २०
मङ्गलबार, १५ मङ्सिर २०७२

दाङ–एउटा बाँसको भाटा, त्यसको वरीपरि प्लाष्टिकका दुई वटा डब्बा छन् । त्यो संगै एउटा व्याग पनि साथमा छ । दुबै तिरका डब्बामा माछा छन् , भने ब्यागमा माछा जोख्ने ढक तराजु । माछासँगै ढकतराजु बोकेर तुलसीपुरका शहर बजारका घर–घर र होटेलमा जान्छन् र सोध्छन्, ‘माछा राख्नुहुन्छ ?’ हो, यसरी नै पश्चिम दाङको पवननगर गाविस ५ कुमलगढीका रिश्मान चौंधरीको दिनचर्या गत तीन वर्षदेखि बित्ने गरेको छ । बर्षमा ६ महिना माछा बेचेर सिजनमा ६० देखि ७० हजार रुपैयाँ कमाई गर्ने गरेको चौधरीको भनाई छ ।

उनका अनुसार यो पनि आफुले व्यावसायिक रुपमा गरेको माछापालन नभई अर्काले पालेको माछा खरिद गरि विक्रि गरेर चोख्खो गरेको कमाइ हो ।

घर देखी झण्डै ढाइ–तीन घण्टाको पैदल दुरीमा रहेको गौंरीगाउँ तालमा पुगेर चौधरीले खरिद गरेको माछा तुलसीपुरबजार, रजौरा, बरुवागाउँ, डुम्रीगाउँ, बसपार्क, दोघरे लगायतका स्थानमा डुलाएर विक्रि गर्ने गर्छन् । ३ सय रुपैयाँमा खरिद गरेर साढे ३ सय रुपैयामा विक्रि गर्दा पनि दैनिक ७ सय देखि एक हजार रुपैयाँ सम्म कमाइ गरेको चौंधरीले बताए ।

“लगानी लगाउनु पर्दैन तर हेर्नुस दुःख धेरै हुन्छ,’ कुममा भाटा बोक्दा ठेला बसेको देखाउँदै उनले भने, ‘काम जे भए पनि धौ हुन्छ ।’ पहिलो बर्ष ५० हजार कमाइ गरेका चौधरीले दोस्रो बर्ष कमाइ गरेको ७० हजारले जग्गा खरिद गरेको खुसी हुँदै बताए । माछा बेचेर गरेको कमाइले छोराछारीलाई, पढाउनेलेखाउने, साबुनपानी, नुनतेल, सबै पुर्याएको उनले बताए ।

कात्तिक महिनादेखि उनको सिजन सुरु हुन्छ, अनि बैशाख महिनासम्म माछा विक्रि गरेर त्यस पछिको समय खेतीपातीमा लगाउने गर्छन् । “जेठ महिनाबाट कुलानालालाग्नु पर्छ, त्यस पछि लगत्तै खेतिपातीको सिजन सुरु भइजान्छ, अनि खेतीपाती भित्रयाएर माछा बेच्न सुरु गर्छु’ चौधरीले भने । अहिले धैरैले माछा दाई भनेर बोलाउन थालेको बताउदै उनले फोन गर्न र उठाउन नजान्दा दुःख पाएको बताए । ‘माछा चाहिएको बेला हामी फोन गर्छौं भनेर फुननम्बर माग्छन् , मैले छैन भन्छ’ु चौंधरीले हाँस्दै भने । ‘फोन चलाउन जानेको भए झन् राम्रो आन्दानी हुन्थ्यो’, उनले थपे । मोबाइल चलाउन जाने पछि मात्रै मोबाइल किन्ने इच्छा चौंधरीको छ । सधै जसो ढाँका टोपी, धर्के सेतो सट, निलो पाइन्ट अनि काला चप्पलमा हिँड्ने उनका खुट्टा पट्पटी फुटेका छन् भने हातका औलाहरु पनि त्यस्तै छन् । तर पनि सोचे अनुसार कमाइ राम्रै हुदा सबै दुःखलाई विर्सिएका छन, उनले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप