शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रमुख दलले साझा धारणा बनाउन सकेनन्, मधेसी मोर्चासँगको वार्ता स्थगित

बुधबार, १६ मङ्सिर २०७२, १६ : २२
बुधबार, १६ मङ्सिर २०७२

काठमाडौं– सत्तारुढ दल , नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीचको आज हुने भनिएको वार्ता स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेको लागि वार्ताको आह्वान गरेका थिए । आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषयमा प्रमुख दलहरुले साझा धारणा बनाउन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।

भोलि बिहान बस्ने तीन दलको बैठकले वार्ताको मिति तय गर्ने बताइएको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेसी मोर्चाले सरकारसामु राखेको ११ बुँदे मागबारे अनविज्ञता प्रकट गरेपछि मधेसी मोर्चासँग सोमबार भएको वार्ता विफल भएको थियो ।

सो विषयमा कांग्रेसले पार्टीभित्र छलफल गर्ने र प्रमुख दलहरुबीच मोर्चाको मागबारे साझा धारणा बनाएर आज बैठकमा बस्ने तय गरिएको थियो ।

मधेसी मोर्चाले समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग अगाडि सारेको छ । यस्तै, सङ्घीय संरचनाको सीमाङ्कनमा पनि प्रष्ट धारणा आउनुपर्ने मोर्चाको माग छ । मोर्चाले उठाएका विषयमध्ये तत्काल पूरा गर्न सकिने मागलाई संविधान संशोधनका माध्यमबाट समाधान गर्ने र अन्य मागलाई उच्चस्तरीय राजनीतिक समिति तथा संसदीय समितिमार्फत अगाडि बढाउन सकिने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले राख्दै आएका छन् । तर, काँग्रेसले भने आफू नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई पारित गरिए समस्या समाधानमा मार्गप्रशस्त हुने धारणा राख्दै आएको छ ।

लामो समयदेखिको तराई मधेसको बन्द र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन प्रभावित भएकोमा सबै विषयलाई वार्ता र संवादका माध्यमबाट अगाडि बढाउनुपर्नेमा प्रमुख दलहरु एक मत रहेपनि साझा धारणा बनाउने क्रममा भने विवाद भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप