सडकबाट : लेखकहरू भन्छन्– इमान बेचेर चलेको सरकारबाट के अपेक्षा राख्नु ?
सोमबार, ०४ माघ २०७२, १४ : १५
अभि सुवेदी, लेखक
हामी लेखक कुनै अद्भुत होइनौँ । नाकाबन्दीमा पनि हाम्रो जिवन सामान्य मानिसहरूको जस्तै नै छ । अभाव नै अभावकाबिच रुमल्लिरहेका छु । मिठो जिब्रो सधैँ मिठो खान खोज्छ, पैसो तिरेर पनि खान पाइएको छैन, के गर्नु ! ग्यास अभाव हुन थालेदेखि नै घरमा कम कमभन्दा कम परिकार बन्न थालेको छ । पहिले त मन लागेका परिकार बनाएर मजा मानी–मानी खाइन्थ्यो, आजभोलि भोक मार्न मात्र खाने गरेको छु । कहिले त खिचडी मात्र खाएर पनि सुत्नुपर्ने अवस्था आउँछ । दिक्दार लागेको छ ।
आफू लेखक मान्छे । धेरै पढेर कम लेख्नुपर्ने सिद्धान्तजस्तै हो । दिनभर काममा हिँड्नुपर्छ । राती बत्ती काटिदिन्छन् । पढ्न पाइएको छैन । अनि लेख्ने काम पनि ठप्पै । पहिले राती १ बजेसम्म पढिन्थ्यो । आजभोलि बत्ती आएको मौका पारेरमात्र पढ्छु । दिनानुदिन लोडसेडिङ बढिरहेको छ । कापीकलमको जमाना छैन । सबै काम कम्प्युटरमा गर्नुपर्छ । चार्ज टिक्दैन । आधा अधुरा काम गरेर छोड्नुपर्दा जाँगर नै मरेर जान्छ । आफ्नो हिसाबले काम गर्न नपाउँदा औडाहा भएर आउँछ । कसलाइ रिस पोख्नु खै ? सरकार लाचार छ । गुनासो पोख्नुको अर्थ पनि देख्दिन म त । बकम्फुसे गफ छाँटेर देश चल्दैन । सरकारले हावा गफ गर्न छाडेर राजनितिक सम्झौता गर्नुपर्यो । कुरा होइन काम गरेर देखाउनुपर्यो ।
कुमार नगरकोटी, लेखक
नाकाबन्दीको मारमा आम जनता जसरी मार खेपिरहेका छन् हामी लेखकका समस्या र पिडा पनि उस्तै छ । समस्या , अप्ठ्यारो कहाँ छ भन्दा पनि कहाँ छैन भन्दा जवाफ भेट्दिनँ । यहाँ जनताका लागि काम गर्ने सरकार या कुनै निकाय छन् जस्तै लाग्दैन । यदि हुन्थे भने त आज आम जनताले बिनाकसुरको सजाय भोग्नै पर्ने थिएन नि । काठमाडौंमा आगो बालेर खाना बनाउने ठाउँ नै छैन । जसोतसो आधा सिलिण्डर ग्यास मिलाएको छु । बचाइ–बचाइ ग्यास प्रयोग गर्छु । खानामा कटौती गर्दै खाएको छु ।
लेखक मान्छे, पढ्ने लेख्ने काम हुन्छन् । राती बत्ती नहुँदा समस्यामा पर्छु । यसरी त प्रगतिको बाटोमा बाधा आउँछ । चिन्ता लागेको छ । आजभोलि त दिनभरि उज्यालो भएको मौका छोपेर बाँकी काम पन्छाएर भए पनि कोठामा बसेर पढिमात्र रहन्छु । अरु त उपाय नै नभेटेपछि के गर्नु त ? कतै जानुपरे गाडी चढ्नै मुस्किल छ । त्यसैले म त घरबाट बाहिर नै निस्किन्नँ । नाकाबन्दीले जीवन ध्वस्तै भो नि ।
राजनीतिको घिनौना खेलमा सोझा जनतालाइ मुछेर सरकारले निर्दोष जनतामाथि अन्याय गरिरहेको छ । यसलाइ रोक्नुपर्यो । राजनितिक मुद्दा मिलाएर जनतालाई तत्काल राहत दिनु सरकारको दायित्व हो ।
नयनराज पाण्डे, लेखक
नाकाबन्दीमा लेखकको जीवन फरक छ भन्नु त हास्यास्पद हुन्छ । समस्या अप्ठ्यारा उही आम जनतालाइ जस्तै हो । ग्यास छैन । न त पहुँच नै । दाउरामा खाना पाक्छ । कहिलेकाहीँ मट्टीतेलमा पनि ।
कतै जान सजिलो छैन । ब्ल्याकमा तेल किन्दिनँ । दशैँ–तिहारमा आपत नै परेको थियो, नकिनी सुखै थिएन, ४ लिटर किनेँ । त्यसपछि मैले ब्ल्याकको तेल किनिन । सँधै किनेर साध्य पनि छैन । आवश्यकता भन्दै ब्ल्याकको तेल किन्नु भनेको कालोबजारलाइ बढावा दिनु पनि हो । म विगत ४ महिनादेखि सार्वजनिक गाडीमै हिँडिरहेको छु ।
लेखक हुँ । लोडसेडिङको मारमा परेको छु । मलाइ पढिरहनुपर्छ । लेख्नु पनि पर्छ । ल्यापटपमा २ घण्टा भन्दा वढि चार्ज नै टिक्दैन । मेरो त कलम नै रोकिएको छ । कलम रोकिनु भनेको सिर्जना रोकिनु हो । मेरो सिर्जना नै रोकिँदा साह्रै दुःख लागेको छ । हाम्रो त सरकार नै बेइमान छ । कतै पनि सरकारको उपस्थिति छैन । इमान बेचेर चलेको सरकारबाट अपेक्षा राख्नुको अर्थ पनि छैन । विडम्वना भन्नुपर्छ, हाम्रा नेताहरू हावाजस्ता कुरामा जनतालाई भुलाएर देश चलाइरहेका छन् । जबसम्म सरकार जनताप्रति इमान्दार हुँदैनन्, तबसम्म देश बन्दैन । जनताले यसरी नै दुःख खेपिरहनुपर्छ । जनताप्रति इमान्दार बन्न सरकारलाई मेरो सुझाब छ ।
प्रस्तुति : फातिमा बानु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण