काठमाडौँमा १३.२ प्रतिशतले मूल्य वृद्धि, नाका बन्द हुँदा निर्यात घट्योः राष्ट्रबैँक
काठमाडौँ - नेपाल राष्ट्र बैंकले मुलुकको निर्यात व्यापार घट्दै गएको देखाएको छ । बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक अवस्था आज सार्वजनिक गर्दै कुल वस्तु निर्यात २९.१ प्रतिशतले ह्रास आई रु २६ अर्ब १७ करोडमा सीमित भएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि दक्षिणका भन्सार नाका बन्द भएका छन् भने गोरखा भूकम्पका कारण उत्तरतर्फको तातोपानी नाकासमेत अवरुद्ध भएका कारण निर्यात घटेको बैंकले उल्लेख गरेको हो । वस्तुगत आधारमा भारतर्फ जिङ्क, लत्ताकपडा, जुस, जिआइ पाइपलगायतका वस्तु र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाकलगायतका वस्तु र अन्य मुलुकतर्फ दाल, चिया, हस्तकलाका सामानको निर्यात घटेको हो । अघिल्लो वर्ष सोही अवधिमा निर्यात १.२ प्रतिशतले कमी भई रु ३६ अर्ब ९१ करोड रहेको थियो । यस्तै, समीक्षा अवधिमा कुल वस्तु आयात ३२ प्रतिशतले घटेर रु दुई खर्ब १३ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो आयात १६.३ प्रतिशतले वृद्धि भई रु तीन खर्ब १४ अर्ब ५२ करोड पुगेको थियो । तराई क्षेत्रमा जारी आन्दोलन र दक्षिणी सीमा नाकामा रहेको अवरोधका कारण आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकाले पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घट्न गई समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर ऋणात्मक रहन गएको बैंकले जनाएको छ । बैंकका अनुसार भारतबाट आयात ३९.२ प्रतिशतले, चीनबाट १४.१ प्रतिशतले र अन्य मुलुकबाट हुने आयात २२.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको पाँच महिनाको रु ४९ अर्ब ८८ करोडबाट ६६.२ प्रतिशतले घटी रु १८ अर्ब ३५ करोडमा सीमित भएको छ । मेसिनरी पार्टपूर्जा, स्टिल डण्डी, चाँदी, कच्चा सोयाविन तेल र खाद्य तेललगायत पुँजीगत सरसामान, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको आयात उल्लेख्य घटेको छ । विप्रेषण बढ्यो त्यसैगरी, बैंकका अनुसार पाँच महिनाको अवधिमा विप्रेषण आप्रवाह १९.४ प्रतिशतले बढेको छ । सो अवधिमा विप्रेषण आय रु तीन खर्ब १५ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको पाँच महिनामा यस्तो आय १.३ प्रतिशतले मात्रै बढेको थियो । तर अन्तिम श्रम स्वीकृतिका आधारमा हेर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने २२.६ प्रतिशतले घटेको छ । विदेशी विनिमय सञ्चिती बढ्यो बैंकका अनुसार वैदेशिक मुद्रा सञ्चितिमा २०७२ असार मसान्तको रु आठ खर्ब २४ अर्ब छ करोडबाट १९.६ प्रतिशतले वृद्धि भई २०७२ मङ्सिर मसान्तमा रु नौ खर्ब ८५ अर्ब ५२ करोड रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.१ प्रतिशत रहेको छ । धान उत्पादन घट्ने बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार धानको उत्पादन १० प्रतिशतले घट्ने देखिएको छ । तर मकैको उत्पादन भने चार प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रासायनिक मलको आपूर्ति सहज हुन नसकेकाले हिउँदे बाली, खासगरी गहुँ उत्पादनसमेत प्रभावित हुने देखिएको छ । खाद्य तथा पेयपदार्थमा मूल्य वृद्धि भएको छ । दलहन तथा गेडागुडीको मूल्य ४८.९ प्रतिशत, घिउ तथा तेलको मूल्य ४२.३ प्रतिशतले बढेको छ । मसला, लत्ताकपडा एवम् जुत्ता, फलफूल तथा माछा मासुको मूल्यमा क्रमशः १५.३ प्रतिशत, १४.६ प्रतिशत, १४.३ प्रतिशत र १३.९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.२ प्रतिशतले मूल्य वृद्धि भएको छ । यस्तै, पहाडमा १२.४ प्रतिशत, हिमालमा १०.३ प्रतिशत र तराईमा १०.२ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौँ उपत्यका र पहाड दुवैमा ६.९ प्रतिशत र तराईमा ७.२ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण