सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकप खेल्ने यु–१९ टोलीलाई प्रमको टिप्स : खेलेका बेला नेपाल सम्झनुहोस्, तपार्इंको ब्याटले छक्का–चौका हानोस्

मङ्गलबार, ०५ माघ २०७२, १७ : ००
मङ्गलबार, ०५ माघ २०७२

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप खेल्ने तयारीमा रहेका उन्नाइस वर्षमुनि ९यु–१९०को राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई देशको नाम जपेर मैदानमा उत्रन आग्रह गरेका छन् ।

आगामी हप्ता बङ्गलादेशमा हुने विश्वकप खेल्न जानुअघि आशीर्वाद लिन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका टोलीका सदस्य र पदाधिकारीलाई सफलताको शुभकामना दिँदै उनले भने, “खेलेका बेला नेपाल सम्झनुहोस्, सगरमाथा सम्झनुहोस् ताकि तपार्इंको ब्याटले छक्का–चौका हानोस्, तपाईंको बलले विकेट ढालोस् ।”

प्रधानमन्त्री ओलीले खेलमा सफलता हासिल गर्न दक्षतासँगै आत्मविश्वास र अनुशासन पनि उत्तिकै जरुरी रहेको बताउँदै भने, “अहिले क्रिकेटमा आकर्षण छ, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले ढिलो पाइला चालेको भए पनि यसले राष्ट्रिय गौरव बढाएको छ ।” क्रिकेट विकासका लागि सरकार संवेदनशील रहेको बताउँदै उनले भनै, “सरकारका तर्फबाट के गर्नुपर्छ, प्रस्ताव लिएर आउनुहोस्, गर्न सक्ने म गर्न तयार छु ।”

सो अवसरमा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल क्रिकेट सङ्घ तदर्थ समितिका अध्यक्ष रमेश सिलवाललगायतले नेपाली युवा खेलाडीबाट नेपालले राम्रो परिणामको आशा राखेको बताए ।

मुख्य प्रशिक्षक जगतबहादुर टमाटा र कप्तान राजु रिजालले टोलीले भारतमा गएर धेरै अभ्यास खेल खेलेका कारण राम्रो तयारी भएको बताउँदै शतप्रतिशत प्रदर्शन गर्दै सुखद् परिणाम ल्याएर देशवासीलाई खुसी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

खेलाडी, प्रशिक्षक र पदाधिकारीसहितको २० सदस्यीय नेपाली टोली बुधबार बङ्गलादेश प्रस्थान गर्दैछ । टोलीमा कप्तान रिजाल, उपकप्तान आरिफ शेख, सुनिल धमला, सन्दीप सुनार, शङ्कर राना, योगेन्द्रसिंह कार्की, दीपेन्द्रसिंह ऐरी, राजवीर सिंह, प्रेम तामाङ, इशान पाण्डे, दीपेश श्रेष्ठ, सन्दीप लामिछाने, सुशील कँडेल, हिमांशु दत्त र कुशल भुर्तेल छन् ।

त्यस्तै मुख्य प्रशिक्षकमा टमाटा, बलिङ प्रशिक्षकमा विनोद दास, व्यवस्थापकमा सुदीप शर्मा, प्राविधिक विश्लेषकमा रमण सिवाकोटी तथा चिकित्सकमा दिनेश भट्ट छन् ।

नेपालले पहिलो खेल यही माघ १४ गते न्युजिल्यान्डविरुद्ध खेल्दैछ भने भारत र आयरल्यान्ड पनि सोही समूहमा छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप