सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

काँग्रेसको निर्वाचन सामग्री १० गतेसम्म जिल्लाजिल्लामा पुग्ने

मङ्गलबार, ०५ माघ २०७२, १९ : ०६
मङ्गलबार, ०५ माघ २०७२

काठमाडौँ– नेपाली काँग्रेसको स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन सामग्री माघ १० गतेभित्र सबै जिल्लामा पठाइने भएको छ ।

यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन सामग्री तयार पार्ने काम भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका संयोजक राधेश्याम अधिकारीले हरेक जिल्लामा निर्वाचन अधिकृतसँगै निर्वाचित भएपछि दिने प्रमाणपत्र, निर्वाचन निर्देशिका, पार्टीको विधान, नियमावली, क्रियाशील सदस्यको नामावलीलगायतका सामग्री पठाइने जानकारी दिए । उनले केन्द्रबाट जिल्लामा पठाउने र जिल्लाले गाउँ तथा नगर र क्षेत्रमा पठाउने पनि बताए ।

जिल्लामा पठाउनु पर्ने निर्वाचन सामग्री छपाउने, सङ्कलन गर्ने ती सामग्री कुन जिल्लामा कति आवश्यक पर्छ भन्ने लेखाजोखा गर्ने काम भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । उनका अनुसार निर्वाचन निर्देशिका र प्रमाणपत्र अझै केही छाप्न बाँकी रहेको छ ।

देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँका लागि निर्वाचन सामग्री पठाउनुपर्ने सचिव शर्माले बताए ।

गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप