वार्ताको प्रभाव : यसरी हट्दैछ आमहड्ताल
काठमाडौं – तराई–मधेस लोकतान्त्रिक पार्टी र प्रमुख तीन दलले कार्यदल गठन गरी थालिएको वार्ताको असर मधेस आन्दोलनमा समेत परेको थियो । कार्यदलको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको र ५ गतेभित्र सहमति हुन्छ भनि मधेसमा ठूलो सन्देश गएको थियो । त्यसले गर्दा मधेसी जनता खुसी पनि भएका थिए । सहमति हुँदैछ भन्दै मधेसी जनता आन्दोलनमा जान पनि छाडिसकेका थिए । तर, अहिले सहमति नभएपछि जनतामा निराशा देखिएको छ । पाँच गते सहमति हुँदैछ भनेर मधेसी जनता आन्दोलनमा पनि आउन छाडिसकेका थिए । कलकारखाना, उद्योग, पसलहरु पनि खुलेका थिए । राती चल्ने रात्री बसहरुलाई पनि रोकटोक गर्न छाडेको थियो । अर्थात आन्दोलन फिर्ता भए जस्तो भएको थियो । मधेस आन्दोलनको कारण महोत्तरीमा पाँच महिनाभन्दा बढी समयदेखि बन्द रहेको बससेवा आजदेखि खुलेको छ त्यो पनि वार्ताकै कारण । साउन महिनाको अन्तिम हप्तादेखि बन्द रहेको बस सेवा बुधबारबाट सुचारु भएपछि स्थानीयबासीहरु हर्षित भएका छन् । वार्ता शुरु भएपछि व्यपारीहरुले बजाहरु खोल्न थालेपछि बस व्यवसायीहरु पनि आफूहरुले बस सञ्चालन गर्न पाउनुपर्छ भनि आन्दोलनकारीसँग माग गरेका थिए । त्यसपछि मोर्चाका नेताहरुले पाँच गते सहमति हुँदैछ । ६ गतेदेखि चलाउनुहोला भनि आश्वासन दिएका थिए । तर, ५ गते सहमति नभएपनि बस व्यवसायीहरुले आजदेखि बस सञ्चालन गरेका छन् । जनकपुरदेखि भिठामोड, जलेश्वरदेखि मटिहानी तथा जलेश्वरदेखि बर्दिबाससम्मको यातायात सुचारु भएको छ भने राजधानी जाने बसहरु पनि सञ्चालनमा आउने भएको छ । आन्दोनलको गढ मानिएको सप्तरी जिल्ला पनि पूर्ण रुपमा खुलेको छ । सरकारी कार्यालयबाहेक सबै थोक खुल्ला भएको छ । सप्तरीका पत्रकार श्यामसुन्दर यादवका अनुसार कार्यदलसँग लगातार वार्ता हुन थालेपछि आन्दोलनकारीहरु निकै आशावादी भएका थिए । अब सहमति होला र आन्दोलन स्थगित हुन्छ भनेर सबैलाई विश्वास लागेको थियो र त्यही भएर बजारहरु खुल्ला भयो, गाडीहरु चल्न थाल्यो तर वार्ता भाँडिएपछि अब के गर्ने के नगर्ने अवस्था आएको छ । विहानै खुल्ने विद्यालयहरु पनि १० बजेदेखि चल्न थालेको छ । बैंकहरु पनि सञ्चालनमा आएको छ । तर, लामोदुरीका बसहरु सञ्चालनमा आएपनि छोटो दुरीका बसहरु सप्तरीमा अझै सञ्चालनमा आएको छैन । मधेसी मोर्चाले पुस २७ गतेदेखि माघ ७ गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । त्यसलाई अहिले औपचारिकता दिने कार्य मात्र भइरहेको छ । लाठी जुलुसमा एक दिन शक्ति प्रदर्शन भएपनि त्यसपछिको कार्यक्रमहरु औपचारिकतामा सिमित भएको छ । सिरहास्थित लहानका पत्रकार जिवछ यादवले भने, ‘आन्दोलन लामो भएका कारण आन्दोलनमा शिथिलता आएको हो । अर्को चिसो पनि त्यतिकै बढेको छ । त्यही भएर आन्दोलन औपचारिकतामा सिमित भएको छ । यद्यपी आन्दोलन कसैले छाडेको भने छैन ।’ सिरहामा पनि सबै बजार खुलेको छ । विद्यालय, संघसंस्था, उद्योगहरु खुलेको छ । लामो दुरीका रात्रीकालिन बसहरु सञ्चालनमा आएका छन् । यसअघि साना–साना नाकाहरुमा पनि अवरोध थियो, तर अहिले सबै खुलेको छ । जनकपुरको अवस्था पनि त्यस्तै छ । त्यहाँका व्यपारीले मोर्चाकै नेताहरुको गाडी जलाई दिएपछि दुई चार दिन पूर्णरुपमा ठप्प रहेका जनकपुर बजार फेरि खुलेको छ । नागरिक दैनिकका पत्रकार सुरेश यादवले भने, ‘बजार अब समान्य भएको छ । बजार खुलेको जस्तो देखिन्छ । चहलपहल अलि बढेको छ । सरकारसँग वार्ता हुँदैछ सहमति हुन्छ भने कुराले गर्दा बजारहरु एकाएक खुल्न थाल्यो र चहल पहल बढ्न थाल्यो ।’ पहिला–पहिला नाइट बस सञ्चालन गर्दा प्रहरीको स्कर्टिङ हुन्थ्यो अहिले निर्वाध रुपमा सञ्चालनमा आएको छ । रात्री बसलाई आन्दोलनकारीले कहिँ कतै रोकेको छैनन् । संघीय समाजवादी फोरम नेपालका सर्लाही अध्यक्ष अशोक यादव समातिएपछि सर्लाहीको मलगंवा केही दिन पहिले अशान्त थियो । दिनदिनै प्रहरीसँग झडप हुन्थ्यो । तर, अहिले आएर शान्त भएको छ र बजार पनि पूर्णरुपमा खुलेको छ । सर्लाहीका पत्रकार सन्तोष सिंहका अनुसार छोटो दुरीका कुनै पनि गाडीहरु चलेका छैन् । तर, अन्य बजार तथा कलकारखाना, विद्यालयहरु खुलेका छन् । नाकामा हुने धर्ना पनि अहिले बन्द भएका छन् । नाका पूर्ण रुपमा सञ्चालनमा आएका छन् । यता वीरगञ्जमा पनि बजारहरु पूर्णरुपले खुलेका छन् । यद्यपी सधैँ चर्चामा रहने रक्सौल नाका अहिले पनि ठप्प छ । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरु अहिले पनि नाकामा बसिरहन्छन्, पत्रकार चन्द्रकिशोरले भने, ‘वीरगञ्जको रक्सौल नाकाबन्दी अहिले पनि जारी छ, तर बजारहरु खुल्न थालेका छन् । लामोदुरीका बस सीमराबाट मात्र सञ्चालन भइरहेका छन् भने वीरगञ्जमा स्थानीय टेम्पो, रिक्साहरु सञ्चालनमा आएका छन् ।’ सरकार र मधेसी मोर्चाबीच वार्ताका प्रभाव मधेशको ग्रमिण क्षेत्रभन्दा शहरमा बढी परेको बताउँदै पत्रकार चन्द्रकिशोरले भने, ‘ग्रामिण क्षेत्रका आन्दोलनकारी थाकेका छैन, उनीहरु कुनै न कुनै रुपमा एसिस्ट गर्न सक्छन्, तर शहरमा गाह्रो हुन्छ किनभने यहाँ उद्योग, व्यपार, विद्यालयहरु भएका कारणले शहरीयाहरु चाहन्छन् कि यो कति छिट्टो समाधान होस् त्यसैले सरकारसँग वार्ता हुँदा गाउँले भन्दा शहरिया बढी आशावादी हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण