सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

समय क्रममा प्रदेश सङ्ख्या थपघट हुन्छ : सिटौला

बुधबार, ०६ माघ २०७२, ०६ : ५३
बुधबार, ०६ माघ २०७२

रौतहट–नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले समय क्रममा प्रदेशको सङ्ख्या थपघट हुँदै जाने बताएका छन् ।

नेपाली काँग्रेस चन्द्रपुर नगर कमिटीद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलामा उनले संविधानको कार्यान्वयनमा राजनीतिक दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । सङ्घीयता र सीमाङ्कन परिवर्तनशील विषय भएको भन्दै उनले हालै जारी भएको संधिवान लचिलो र गतिशील भएको पनि बताए । उनले भने–“संविधान कार्यान्वयनमा देखिएको जटिलता हटाउन काँग्रेस दृढ सङ्कल्पित भएको लागेको छ, यसले नै मुलुकमा राजनीतिक स्थायित्व दिनेछ ।”

उनले संविधान जारी हुँदाका बखत सात प्रदेशको व्यवस्था गरिएको बताउँदै मुलुकमा सङ्घीय व्यवस्थाको शासन अनुभव कुनै पनि राजनीतिक दललाई नभएकाले कुन प्रदेश राम्रो वानराम्रो भन्नेबारेमा अन्योल कायम रहेको बताए ।

झण्डै ८५ प्रतिशत जनप्रतिनिधिको सहभागितामा जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको उल्लेख गर्दै उनले ठूलो सङ्घर्षपश्चात् जारी भएको संविधानले सामाजिक सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विभिन्न विचार र वाद बोकेका राजनीतिक दललाई लोकतान्त्रिक धारमा ल्याउन इतिहासदेखि नै काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट गर्दै उनले काँग्रेसको १३औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने बताए । चन्द्रपुरनगर समितिका अध्यक्ष धनलाल ठोक्करको अध्यक्षमा आयोजित भेलामा काँग्रेस जिल्ला कार्यसमितिका उपाध्यक्ष अनन्त कोइराला, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सूर्य थापालगायत सो पार्टीका विभिन्न भ्रातृ सङ्घ सङ्गठनका अगुवा कार्यकर्ताको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप