सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पहिलो सल्यानी कला साहित्य तथा संस्कृति राष्ट्रिय महोत्सव २०७२

बुधबार, ०६ माघ २०७२, १७ : ५९
बुधबार, ०६ माघ २०७२

सल्यान – सल्यानमा पहिलो पटक सल्यानी कला साहित्य तथा संस्कृति राष्ट्रिय महोत्सव २०७२ भोली बिहीबार भव्य कार्यक्रमका बीच हुने भएको छ । जिल्लामा रहेका लोपउन्मुख अवस्थाका लोक कला, संस्कृति र परम्पराको संरक्षण गर्न भन्दै पहिलो पटक गर्न लागिएको महोत्सव मुल आयोजक समारोह समितिले जानकारी दिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयाजकले जानकारी दिएको छ । सल्यानमा रहेका पुराना लोकसंस्कृति झल्किने सोरठी, पैसेरी, वनगाडि ठप्पा, ठाडी भाका, हुइचम्पा, लहरे, सिगारु, सेरिंगे लगायतका संस्कृतिको संरक्षण एव प्रर्वद्धन गर्दै केन्द्रसम्म पहुँच विस्तार गर्न महोत्सव गर्न थालिएको सल्यानी कला साहित्य तथा संस्कृति राष्ट्रिय महोत्सव समितिका सचिव प्रतिक इच्छुक शर्माले जानकारी दिए । उनले भने, ‘ग्रामीण समाजमा रहेका पुराना संस्कृतिहरु विस्तारै लोप हुँदै गइरहेका छन् । त्यसको यथाशक्य संरक्षण एव प्रर्वद्वन गर्न सकिएन भने लोप भएर जाने भएकाले महोत्सवको माध्यमबाट ती संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखेका छौं ।’ सल्यानमा लुकेर रहेका लोक भाका तथा संस्कृतिलाई केन्द्र वा पावर हाउससम्म जोड्नका लागि महोत्सव गर्न गर्न थालिएको उनले बताए । सल्यानका पुराना संस्कृति झल्किने झाँकी प्रर्दशनीबाट सुरु गरिने कार्यक्रममा जिल्ला विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिने साहित्यकार पूर्ण भण्डारी पंकजले जानकारी दिए । महोत्सवमा साहित्यकार खगेन्द्र संग्रौला, युग पाठक, सरस्वति प्रतिक्षा, प्रा.डा, नयनराज पाण्डे, प्रा.डा. जयराज पन्त, डा. मधुसुदन गिरीलगायतका ४५ भन्दा बढि प्राज्ञिक व्यक्ति एव व्यक्तित्वहरुको सहभागिता रहने आयोजकले जनाएको छ । उनीहरु सबैले साहित्यका विभिन्न विद्या, लोककला संस्कृति परम्पराका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको साहित्यकार पंकजले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप