सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

युएईबाट दुई दिनमा दुई शव नेपाल पठाईंदै

बुधबार, ०६ माघ २०७२, १८ : ४८
बुधबार, ०६ माघ २०७२

युएई–वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका दुई नेपालीको शव नेपाल पठाइदै छ । युएईको अलऐनमा सवारी साधनको ठक्करबाट मृत्यु भएका फूलबारी–८ सीगाउँ कैलालीका आशाराम चौधरी र धारिलो हतियार प्रहार गरि दुबईमा हत्या गरिएको बारा सिमरा औराका दिपेन्द्र उप्रेतीको शब नेपाल पठाउन लागिएको हो ।

अलऐनमा रहेको डब्लुबिजी नामक कनस्ट्रक्सन कम्पनीमा तीन वर्षदेखि कार्यरत चौधरीको सवारी साधनको ठक्करबाट गत दुई हप्ता पहिले मृत्यु भएको थियो । छोरीको विवाहको तयारी गरेर घर फर्कदै गरेका आशारामलाई नजिकैको कम्पनीका सवारी चालकले ठक्कर दिइ अचेत अवस्थामा रहेका उनलाई व्याक गरि किचेर हत्या गरेको खुल्न आएको छ । उनलाई हत्या गर्ने सवारी चालक पाकिस्तानी नागरिकलाई अहिले अलऐनमा कारागारमा राखिएको छ ।

पाकिस्तानी नागरिकले चौधरीको हत्या गरेको अदालत समक्ष स्वीकार गरिसकेका छन् । घटना आफूले गराएको अदालतमा दिएको बयानको क्रममा स्वीकार गरेपछि शव नेपाल पठाउन लागिएको हो । इतिहाद एयरलाइन्समार्फत चौधरी कार्यरत कम्पनिमा काम गर्दै आएका एक नेपालीलाई शव जिम्मा लगाएर नेपाल पठाउन लागेको नेपाल विश्व सहयोग संघ युएईका अध्यक्ष गोविन्द ढकालले जानकारी दिए । कम्पनीले आशारामको हत्या सम्बन्धी मुद्दा र अन्य कानूनी प्रकृयाबारे दूतावाससँग समन्वय गरेर शव नेपाल पठाउन लागेको नेपाली दूतावास आबुधाबीले जनाएको छ ।

उता दुबईमा एक महिना पहिले धारिलो चक्कु प्रहार गरी हत्या गरिएका बारा सिमरा औराका ४१ वर्षका दिपेन्द्र उप्रेतीको शव पनि नेपाल पठाउन लागिएको हो । डेरा दुबईको सेलाहद्विनमा रहेको सिटी स्टार होटलमा ८ वर्ष पहिलेदेखि सुपरभाइजरको रुपमा कार्यरत उप्रेतीको सोही कम्पनीमा कार्यरत सेक्युरिटी गार्ड शाईद सलह (इजिप्सियन नागरिकले) धारिलो चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्या गर्नुको कारण नखुले पनि इजिप्सियन नागरिकले अपराध स्वीकार गरेपछि शव नेपाल पठाउन लागिएको दूतावासले जनाएको छ ।

कम्पनीमै कार्यरत उप्रेतीका छिमेकी गोविन्द सिखंडाको जिम्मा लगाएर कम्पनीले शव नेपाल पठाउन लागेको उनका सहकर्मी सुरेश खड्काले जानकारी दिए । चौधरी र उप्रेतीको शव क्रमशः बुधबार र बिहीबार नेपाल पठाइदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप