सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रंगमञ्च चरित्र : दयाहाङ र सिर्जनाको जोडी : ‘कबड्डी कबड्डी’मा ‘ट्रेलर’, ‘...र माइलो’मा ‘सिनेमा’

शुक्रबार, ०८ माघ २०७२, १५ : ५२
शुक्रबार, ०८ माघ २०७२

व्यवसायिक रूपमा सफल सिनेमा ‘कबड्डी’ र यसको सिक्वेल ‘कबड्डी कबड्डी’ हेर्ने दर्शक दयाहाङ राई अभिनित चरित्र ‘काजी’प्रति निकै सहानुभूति राख्छन् । उनले ‘मैयाँ’लाई प्राप्त गर्न गरेको निरन्तर कोशिस र संघर्षले दर्शकलाई संवेदित बनाउँछ । र, सिनेमाको मूल कथा अगाडि बढ्छ । तर ‘कबड्डी कबड्डी’मा आइपुग्दा ‘मैयाँ’ले नै ‘काजी’लाई स्पष्ट रूपमा अस्वीकार गरिदिन्छिन् । त्यसपछि उनी सम्पूर्ण रूपमा निराश हुन्छन् । तर सिनेमाको अन्तिममा आशाको झुल्को लिएर सिर्जना सुब्बा प्रवेश गर्छिन् । सिनेमाको अन्त्य पनि त्यससँगै भएको छ । सिनेमाको अन्तिममा विजय बराल अभिनित चरित्र ‘बिके’ भन्छन्, ‘दाजू, मैयाँभन्दा त यिनी नै पो राम्री देख्छु त !’

त्यसपछिको कथा सिनेमामा छैन । त्यसले अझै पनि ‘कबड्डी’ सिक्वेलको परिकल्पना निर्देशकमा छ कि भन्ने अनुमानमात्रै गर्न सकिन्छ । कबड्डीको अर्को सिक्वेल बने पनि नबनेपनि त्यो कथाको निरन्तरता भने हेर्न सकिने भएको छ । सोमनाथ खनाल निर्देशित नाटकमा ‘...र माइलो’मा दयाहाङ राई र सिर्जना सुब्बाको जोडी जय मुकारुङ र आकृतिको रूपमा देखिएको छ । दयाहाङ नाटकको केन्द्रीय चरित्र अर्थात ‘प्रोटागोनिस्ट’ बनेका छन् । साथै उनको चरित्रले नाटकमा पछ्याइएको विसंगतवादी सिद्धान्तको प्रखर प्रतिनिधित्व गर्छ । नाटकमा उनी चर्चित छन्, उनको लेखनको चर्चा नेपालमात्रै होइन, विदेशमा पनि छ । विशेष गरी उनको पछिल्लो नाटक ‘वैतरणी क्याफे’लाई लिएर उनको चर्चा चुलिएको छ । रमाइलो के भने, ‘वैतरिणी क्याफे’ वास्तवमै दयाहाङ राईले नै लेखेको नाटक हो ।

नाटकमा उनको चरित्रमार्फत देखाउन खोजिएको छ कि मानिस जतिसुकै ‘सेलिब्रेटी’ भएपनि सामान्य चरित्रमा हुने कमजोरी उसमा पनि हुन्छ । उनको श्रीमतीलाई आशंका गर्ने उनको स्वभावले पुरुषसत्तात्मक समाजको मनोविज्ञान प्रस्तुत गर्छ । त्यस्तै, उनको हाँसो बनावटी छ र जीवन लथालिंग । उनी आफ्नो परिस्थितिलाई नियन्त्रण गर्न असफल हुन्छन् । उनको जीवनमा अनियमित छ, विसंगत छ । उनी सबैलाई सहयोग गर्न चाहन्छन्, तर न त्यो सहयोगलाई व्यवस्थित गर्न सक्छन्, न त्यो सहयोगको जस नै पाउँछन् । सिर्जना सुब्बा आकृतिको रूपमा अर्को मुख्य कलाकार चरित्रमा छिन् । उनी लेखककी श्रीमती हुन् र अन्तिमसम्म पनि नाटकमा उनको उपस्थिति छ । लेखकसँग उनको झगडाबाट नै नाटकको सुरूवात हुन्छ । नाटकमा उनीहरूको झगडाको पहिलो दृश्यमा चलाखीपूर्वक नाटकमा संलग्न रंगकर्मीको जानकारी दिइएको छ । आकृतिको मोबाइलमा भेटिएको ‘चुम्बन’को प्रसंगबाट उनीहरूको झगडा सुरु भएको हुन्छ । कुनै केटाले पठाएको भन्ने लेखकको दावी छ भने उनी दिदीको हो भन्ने जिद्दीमा छिन् । त्यही झगडाले घर छोड्ने निर्णयसम्ममा उनी पुग्छिन् ।

नाटकको क्रममा उनको श्रीमानप्रतिको विश्वास र प्रेम अभिव्यक्त हुन्छ तर उनको ‘नाकैको टुप्पो’मा भएको रिस पनि देखिन्छ । श्रीमानलाई आफूले सोचेको काम गराउन खोज्ने चरित्र उनमा देखिन्छ । उनको झगडालु चरित्र पनि उत्तिकै छ । सासुले उनलाई मन पराउँदिनन्, न उनी नै सासुलाई सम्मान गर्छिन् । तर बिरालालाई भने खुप माया गर्छिन् । उनी अलि अपरिपक्व लाग्छिन् र संवेदनशील पनि उत्तिकै । ‘कबड्डी कबड्डी’ हेरेर दया र सिर्जनाको ‘जोडी’ हेर्न चाहनेलाई ‘...र माइलो’ले राहत दिन्छ । चरित्रलाई नाटकमा उतार्दा दयाहाङले जति न्याय गरेका छन्, सिर्जनाको अब्बलता पनि कम लाग्दैन । अभिनयमा दया र सिर्जनाको केमेस्ट्री परख गर्न चाहने सिनेमेकरलाई पनि नाटकले निकै सघाउँछ । अर्को रमाइलो, यसमा ‘कबड्डी कबड्डी’ मै अभिनय गरेका विजय बराल पनि छन् । उनले सिर्जनालाई भाउजूको सम्बोधन गर्छन् । भावुक प्रेमीको रूपमा देखा परेका बराललाई नाटकमा नयाँ रूपमा देख्न सकिन्छ । उनी यो नाटकका सन्दर्भमा छोटो तर प्रभावशाली भूमिकाका लागि सम्झना गरिनेछन् । उनले भनिरहने ‘सरी भाउजू !’ ले हँसाउँदै नाटकको जानरा ‘फार्स’लाई बल पुर्याउँछ ।

‘कबड्डी कबड्डी’मा दयासँगै देखिने अर्का कलाकार बुद्धि तामाङ पनि नाटकमा छन् । तर त्यसमा चाहिँ कबड्डीको सम्बन्ध खोज्न सकिँदैन । भिन्न भूमिकामा उनी जमेका छन् । त्यसो त, सिनेमा ‘कबड्डी कबड्डी’ र नाटक ‘...र माइलो’को औपचारिक नाता छैन, मात्रै कलाकार दोहोरिएका हुन् ।

अनौपचारिक नाता त नहुने कुरो भएन । किनकि नाटकका निर्देशक सोमनाथ खनाल ‘कबड्डी’ श्रृंखलाका मुख्य सहायक निर्देशक हुन् । त्यसो त नाटक ‘...र माइलो’को मूल सिद्धान्त विसंगतवादले कुनै पनि घटनाको ठोस कारण खोजिरहँदैन । यहाँ पनि सिनेमा र नाटकको सम्बन्धको ठोस कारण खोजिएको होइन, तथापि सम्बन्ध देखिँदोरहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप