सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बंगबन्धु गोल्डकप : खडेरी अन्त्य गर्दै गोल वर्षा

शुक्रबार, ०८ माघ २०७२, १९ : ४७
शुक्रबार, ०८ माघ २०७२

काठमाडौं – लामो समयसम्म नेपाली टोली गोल गर्न नसकेका कारण आलोचित भयो । गत महिना साफ च्याम्पियनसिपमा नेपालका लागि विमल घर्तीमगरले एकमात्रै गोल गरेका थिए । नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । तर त्यसपछि एकाएक फरक टोलीका रुपमा नेपालले आफ्नो दम्भ प्रस्तुत गरेको छ ।

नेपालले प्रतियोगितामा जम्मा ८ गोल गर्यो । संयोगवस् यसपटक गोल गर्नेमा कुनै डिफेन्डर परेनन् ।

ह्याट्रिकको इतिहास सन् २०११ पछि नेपालबाट कुनै पनि खेलाडीले पहिलो ह्याट्रिक गरे । पछिल्लो पटक भरत खवासले उत्तरी मारियाना विरुद्ध ह्याट्रिक गरेका थिए । नेपालबाट यस प्रतियोगिता नवयूग श्रेष्ठले माल्दिभ्स विरुद्ध ह्याट्रिक गरे । नेपालबाट गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले पनि ह्याट्रिक गरेका थिए ।

सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपालका नवयूग श्रेष्ठले बने । उनले माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेका थिए । उनी नेपालबाट एकैपटक ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत हुन् । प्रतियोगिताभर ४ गोल गर्ने क्रममा उनले फाइनलमा थप १ गोल गरे । प्रतियोगिताको फाइनलमा उनलाई चौथो गोलका लागि विमल घर्तीले पास मिलाइदिए ।

विशालको महत्वपूर्ण २ गोल मिडफिल्डर विशाल राई घरेलु लिगमा खतरनाक खेलाडी मानिन्छन् । मछिन्द्रबाट करियर सुरु गर्दै मनाङबाट खेल्ने गरेका विशाललाई राष्ट्रिय टोलीको भरपर्दो खेलाडी मान्न भने धेरैले आनेकानी गर्ने गर्दथे । तर विशालले प्रतियोगितामा दुई गोल गरे । उनले सेमिफाइनलमा माल्दिभ्स र फाइनलमा बहराईन यु–२३ विरुद्ध गोल गर्दैे भरपर्दो खेलाडीका रुपमा आफूलाई प्रमाणित गरे ।

विमलको शान कायमै विमलले आफ्नो शान र साख कायमै राखे । १६ वर्षको उमेरमै राष्ट्रिय टोलीमा डेब्यु गरेका विमलले लामो समय आफू नेपाली टोलीको नियमित खेलाडी रहने संकेत गरेका छन् । विमलले समूह चरणमा श्रीलंका विरुद्ध गरेको निर्णायक गोलले नेपाललाई सेमिफाइनलसम्म लग्यो । फाइनलमा विमलले गोल मात्रै गरेनन् , नवयूगलाई गोलका लागि अवसर समेत सिर्जना गरिदिए । उनी फाइनलको म्याच अफ दि म्याच घोषित भए ।

अन्जनको भूमिका अन्जन विस्ट विमल घर्तीमगरसँगै युवा टोलीबाट खेल्ने गर्दथे । उनले विमलभन्दा निकै पछि अन्तर्राष्टिय फुटबलमा डेब्यु गरे । मिडफिल्डमा उनको विमलसँगको जोडी यसपटक पनि मज्जाले जम्यो । फाइनलमा अन्जनले दुई गोलका लागि अवसर सिर्जना गरे । पहिलो मौकामा विमल घर्तीमगर र दोस्रो गोलका लागि विशाल राईलाई उनले पास दिए ।

कप्तान विराज र प्रशिक्षक बालगोपाल विराज महर्जन नेपालका अनुभवी खेलाडी हुन् । ५० भन्दा बढी क्याप जितिसकेका विराजको उमेर अनुभवको तुलनामा कम छ । तर, उनले प्रतियोगितामा नेपाललाई उपाधि जिताएर एक सफल कप्तानको इतिहास कोरे । विराज टोलीका मेहिनती खेलाडी समेत हुन् । उनी २३ वर्षपछि बंगबन्धु रंगशालामा उपाधि उचाल्ने पहिलो नेपाली कप्तान बने । यसअघि राजु शाक्यले बंगबन्धु रंगशालामा दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलतर्फ स्वर्ण जितेका थिए । प्रशिक्षक बालगोपाल महर्जन नेपाललाई लगालग दुई उपाधि जिताउने पहिलो प्रशिक्षक बने । उनले नेपालमा सम्पन्न यू १९ साफ फुटबलको उपाधि समेत जिताएका थिए । अन्जन विस्ट र विमल घर्तीमगरसँगै त्यतिबेला उपाधि जित्ने यु–१९ का थुप्रै खेलाडी अहिलेको नेपाली टोलीमा छन् । उनीहरुले यसपटक नेपाललाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले ।

नेपाली टोली : गोलकिपर : एलान न्यौपाने , अमृत चौधरी , विकेश कुथु डिफेन्स : आदित्य चौधरी, अनन्त तामांग, विराज महर्जन, दिनेश राजवंशी, कमल श्रेष्ठ, मानबहादूर तामांग, रविन श्रेष्ठ मिडफिल्ड : अन्जन विस्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुंग, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, जांगबू शेर्पा, सुनिल बल, तेज तामाङ स्टाइकर : विमल घर्ती, नवयूग श्रेष्ठ, रन्जन विस्ट, सुमन लामा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप