सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मोर्चाको माग गलत तर मधेसी जनताको समस्या वास्तविक : सचिव विष्ट

शनिबार, ०९ माघ २०७२, १९ : १८
शनिबार, ०९ माघ २०७२

भक्तपुर - नेकपा एमाले का सचिव गोकर्ण विष्टले दुईवटा अतिवाद देशमा हावी भएका कारण जनताले अहिलेको सङ्कट भोग्नुपरेको बताएका छन् ।

नेपाल बुद्धिजिवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरले आज यहाँ आयोजना गरेको विचार गोष्ठीमा उनले भने, “वर्षौँदेखि देशमा विदेशीलाई रिझाएर राज्यसत्ता लिने र टिकाउने अतिवाद र कहिले विदेशीसँग लम्पसार पर्ने त कहिले तिनै विदेशीलाई जिन्दावाद र मुर्दावादको नारा लगाउने अतिवाद हावी हुँदा अहिले जनताले दुःख पाएका हुन् ।”

नेपालले चाहेर पनि छिमेकी देश बदल्न नसक्ने भएकाले अहिले धेरै बोलेर नभई काम गरेर देखाउने बेला आएको बताउँदै उनले भने˗ “बाह्य हस्तक्षेपलाई यतिखेर पेलेर होइन, परिणाममुखी काम गरेर जवाफ दिनुपर्छ ।”

मधेसको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेसी मोर्चाको माग गलत हो तर मधेसी जनताको समस्या ठीक हो भनेर जनताको समस्यालाई सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

भारत र चीनले कुनै पनि परिस्थितिमा नेपाललाई आँखा चिम्लेर सहयोग गर्ने चर्चा गर्दै उनले उनीहरुले आफ्नो स्वार्थका लागि मात्रै नेपाललाई सहयोग गर्ने भएकाले नेपालले पनि त्यस्तै नीति बनाउनुपर्ने औँल्याए ।

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, एमाले केन्द्रीय सदस्य खगेन्द्र चूँडाल, एमाले केन्द्रीय सदस्य सोम मिश्र, पूर्व उद्योगमन्त्री महेश बस्नेतलगायतले भारत र चीनले नेपाललाई फाईदाका रुपमा प्रयोग गर्ने भएकाले नेपालले दुबै देशको अन्धभक्त भएर विश्वास गर्न नहुनेमा जोड दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप