सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधनमा अझै सहमति जुटेन

शनिबार, ०९ माघ २०७२, १९ : ४०
शनिबार, ०९ माघ २०७२

काठमाडौँ - प्रमुख राजनीतिक दलका शीर्ष नेता र संविधान संशोधन गर्न भाषा पारिमार्जनका लागि गठन भएको कार्यदलबीच कुन संशोधनलाई पारित गर्ने भन्ने विषयमा अझै सहमति हुन नसक्दा संसद् बैठक प्रभावित भएको छ । उक्त विषयमा सहमति हुन नसक्दा संशोधन विधेयकमा अझै अन्योल कायम छ । यद्यपि, दलहरुले सहमतिनजिक पुगेको बताएका र चाँडै बैठक बस्ने तयारी भइरहेको संसद् सचिवालय स्रोतले जनाएको छ । संविधान संशोधनका लागि मूल संशोधनसहित २४ वटा संशोधन प्रस्ताव परेका छन् । कुन प्रस्तावलाई समेटेर अघि बढ्ने भन्ने विषयमा नै केन्द्रित रहेर प्रमुख दलहरुबीच छलफल भइरहेको बताइएको छ । छलफलमा प्रधानमन्त्री केपी ओलीसहित अन्य दलका शीर्ष नेता, सचेतक र कार्यदलका पदाधिकारी सहमतिको प्रयासमा जुटिरहेका छन्।

बैठक सुरु हुन सकेन

दिउँसो ३ बजेका लागि तय भएको व्यवस्थापिका–संसद्को बैठक साँझ ५ः१५ सम्म बस्न सकेको छैन । बिहीबारदेखि हुँदै आएको नेपालको संविधानको पहिलो संशोधनमाथिको दफाबार छलफल हिजो सकिएको हुँदा सांसदहरुले उठाएका जिज्ञासाको कानुन, न्याय तथा संसदीय मन्त्रीले जवाफ दिने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संशोधन विधेयकलाई अघि बढाउने सन्दर्भमा अहिले प्रमुख दलका शीर्ष नेता र सचेतकसँग सभामुखले छलफल गरिरहनुभएको छ । बैठकले ठोस निष्कर्ष निकाल्न नसकेका कारण व्यवस्थापिका–संसद्को बैठक प्रारम्भ हुन ढिलाइ भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप