जान्नुहोस्, मानिसका हड्डीबारे ८ तथ्य
बुधबार, ०३ कात्तिक २०७३, १२ : १३
शरीरमा हड्डी हुँदैनथ्यो भने मान्छे पनि घस्रिने प्राणीमा पर्ने थियो होला । शारीरिक संरचना नै फरक हुन्थ्यो होला । यद्यपि, मान्छेको शरीरमा हड्डी छन् । तर, आफ्नै शरीरका हड्डी र यसको सुरक्षाबारे अधिकांशलाई कमै जानकारी भएको हुन सक्छ । यसैले डा. महेन्द्रबहादुर विष्टले हड्डीबारे केही तथ्य बताएका छन्:
१. एउटा वयस्क मानिसको शरीरभरि जम्मा दुई सय ६ वटा हड्डी हुन्छन् । बाल्यावस्थामा हड्डीको संख्या दुई सय ७० हुन्छ । वयस्क हुँदै आएपछि यी हड्डीहरू क्रमशः जोडिएर संख्या घट्दै जान्छ । मुख्यतः हाम्रो शरीरमा हड्डीको चारवटा भूमिका हुन्छ— शारीरिक बनोट वा संरचना, अंगहरूको सुरक्षा वा संरक्षण, क्याल्सियम जम्मा गरेर राख्ने काम र मांसपेशीहरूलाई अड्याएर सञ्चालन हुने आधार दिनु । अस्थिपञ्जर वा हड्डीको संरचना नहुँदो हो त मानिस हिँडडुल गर्न वा सबै काम गर्न असमर्थ भएर एउटा घस्रिने प्राणी मात्र हुने थियो होला । बाल्यावस्थादेखि नै मानिसको वृद्धि र विकासमा हड्डीको स्वास्थ्यलाई ध्यान दिइएन भने त्यसबाट अनेकौँ रोग, विकृति र समस्या उत्पन्न हुन्छन् ।
२. हड्डीको भित्री भागमा ‘बोनम्यारो’ भनिने लचिलो तन्तु (टिस्यु) हुन्छ, जसबाट राता रक्तकण उत्पादन हुन्छ । अर्थात्, हड्डीको भित्री भागमा अवस्थित बोनम्यारो नै रगत उम्रिने मूल हो । बोनम्यारोको ‘हेमाटोप्वाइटिक’ भनिने घटक तत्वबाट हरेक दिन ५ खर्ब रक्तकोषिकाहरू पैदा हुन्छन् । शरीरको प्रतिरक्षा प्रणाली वा आन्तरिक बिमारीको उपचार गर्ने प्रक्रिया (इम्युन सिस्टम) बनाउने पनि हड्डीमा अवस्थित बोनम्यारो नै हो ।
३. मानिसको शरीरभित्र पुरानो हड्डी मासिएर जाने र नयाँ हड्डी बन्दै जाने क्रम चलिरहेको हुन्छ । यो क्रिया बाचुन्जेल निरन्तर भइरहेको हुन्छ । हामीले थाहै नपाई हाम्रो शरीरका हड्डीहरू हेरफेर हुँदै जान्छन्, तर संरचना भने जस्ताको त्यस्तै रहन्छ । युवावस्थामा पुरानो हड्डी मासिएर जानेभन्दा नयाँ हड्डी बन्ने प्रक्रिया छिटो हुन्छ । २५–३० वर्षको उमेरसम्म हाम्रो शरीरभित्र यो क्रम निकै छिटोछिटो भइरहेको हुन्छ । ३० वर्षको उमेरपछि चाहिँ यो क्रम सुस्त हुन्छ ।
४. भोक नलाग्नु वा ज्यादा खानु, खानामा असन्तुलित वस्तु हुनु, धुम्रपान तथा अत्यधिक मद्यपानले गर्दा क्याल्सियमको कमी गराएर हड्डी कमजोर बनाइदिन्छ । पुरुषमा भन्दा महिलामा अस्टेयोपरोसिसको सम्भावना अधिक हुन्छ । लामो अवधिसम्म सेवन गर्नुपर्ने कतिपय ‘प्रेड्निसोलन’ जस्तो स्टेराइड औषधि (एलर्जीबाट उत्पन्न गडबडी, जोर्नीको दुखाइ, श्वासप्रश्वासमा देखिने गडबडी, छालाको अवस्थाजस्ता समस्यामा उपयोग गरिन्छ), स्तन क्यान्सरमा सेवन गरिने ‘एरोम्याटेज’जस्ता कतिपय औषधिले पनि हड्डी कमजोर बनाइदिन सक्छ ।
५. स्वस्थ हड्डीको विकासका लागि क्याल्सियम र भिटामिन ‘डी’ को जरुरत हुन्छ । यसको कमीबाट हड्डीको घनत्व र विकासमा ह्रास आउनुका साथै अनेक बिमार लाग्ने वा हड्डी भाँचिने खतरा बढ्छ । शारीरिक सक्रियता नभएका मानिसहरूको हड्डीमा अनेक समस्या उत्पन्न हुन सक्छ । त्यसैले वयस्क मानिसका लागि दैनिक कम्तीमा एक हजार मिलिग्राम क्याल्सियम पाइने खाना आवश्यक पर्छ । महिलाका लागि खासगरी रजस्वला रोकिएपछि (करिब ५० वर्ष उमेरपछि) क्याल्सियमको मात्रा दैनिक कम्तीमा १२ सय मिलिग्राम चाहिन्छ ।
६. थाइराइड हर्मोनको अत्यधिक वृद्धिले हड्डीको मजबुतीमा नकारात्मक असर पु-याउँछ । नेपालमा धेरै महिलामा थाइराइडको समस्या विद्यमान छ र हड्डीको स्वस्थता अति जरुरी भइरहेको हुन्छ । त्यसैले थाइराइडको समस्यामा क्याल्सियम र भिटामिन ‘डी’ दिइन्छ । पुरुषको ‘टेस्टोस्टेरन’ हर्मोनमा कमी आयो भने पनि हड्डी नाश हुने समस्या उत्पन्न हुनसक्छ । महिलाको मासिक रजस्वलामा गडबडी उत्पन्न हुँदा अस्टेयोपरोसिस भनिने हड्डी कमजोर हुने रोग लाग्छ ।
७. दूध–दही, चिज, पनिर, ब्रोकाउली, हरियो सागपात, बन्दागोभी, पोटासियम र म्याग्नेसियम भएका खाद्यवस्तु, सखरखण्ड, भटमास एवं यसका उत्पादन, हड्डी ह्रास हुनबाट बचाउने भिटामिन ‘सी’ को स्रोत कागती र सुन्तला जातका फलफूल, अमला, ओमेगा–३ को स्रोत फर्सीको बियाँ, आलस तथा अस्ट्रिच चराको मासु, अन्डा, आल्मोन्ड बदाम, माछाको तेल, खुदो आदि स्वस्थ हड्डीका लागि राम्रा खाद्य–स्रोत हुन् । हड्डीका लागि सबभन्दा पौष्टिक खानेकुरा सागपात र हरिया तरकारीहरू नै हुन् । गेडागुडी, माछा, कुखुराजस्ता प्रोटिनका राम्रा स्रोत पनि हड्डी मजबुत बनाउने खाद्य पदार्थ हुन् ।
८. आफ्नो हड्डीको अवस्थाबारे शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ । यसका लागि ‘बोन डेन्सिटी टेस्ट’ हुन्छ । त्यसका आधारमा हड्डीको क्षयक्रम पत्ता लगाइन्छ र उपचार हुन्छ । व्यायाम, योगासन, हिँडडुल गर्ने, नांगो शरीरमा घाम ताप्ने (सनबाथ), हल्का कुदाइ (जगिङ), खेलकुद आदिले हड्डी मजबुत बनाउँछ । बढ्दो उमेरका मानिसले क्याल्सियम, भिटामिन ‘डी’, प्रोटिन, फस्फोरसजस्ता तत्वयुक्त सन्तुलित खाना खाने गर्दा हड्डी स्वस्थ राख्न सकिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण