मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी बिदाको विषयमा प्रधानाध्यापकविरुद्ध आन्दोलनमा उत्रिए विद्यार्थी

आइतबार, १८ असार २०७४, १२ : २०
आइतबार, १८ असार २०७४

वीरगन्ज – शिक्षकहरु बीचको झगडाको कारण वीरगन्जको एक विद्यालयका विद्यार्थीहरु सडकमा उत्रिन बाध्य भएका छन् । 

वीर्तामा रहेको सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुबीच गर्मी विदाको विषयमा विवाद भएपछि त्यसको मारमा विधार्थीहरु परेका हुन् । 

शिक्षकहरुको असहमतिका बाबजुद प्रधानाध्यापक सुरेन्द्र कुवँरले जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डर विपरित आज असार १८ गते देखि साउन २ गते सम्मका लागि गर्मी विदाका लागि भन्दै विद्यालय बन्द गरेपछि विद्यालय सञ्चालनको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । 

विद्यालयका सबै कक्षा कोठा र कार्यालयमा ताल्चा लगाइएका कारण विधार्थीहरु आज बिहान विद्यालय अगाडिको सडकै बसेर पठनपाठन गर्दै प्रधानाध्यापक कुवँर विरुद्ध नाराबाजी पनि गरेका छन् ।  

जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डरमा सामुदायिक विद्यालयहरुमा साउन ५ गते देखि गर्मी बिदा दिनु पर्ने उल्लेख छ । तर प्रधानाध्यापक कुवँरले भने गत शुक्रबार असार १८ गते देखि साउन २  गतेसम्म गर्मी विदाका लागि विद्यालय बन्द रहने सूचना प्रकाशीत गरेका थिए । 

प्रधानाध्यापक कुवँरको निर्णय त्यहाँका शिक्षक शिक्षिकाहरुले पनि असहमति जनाउदै चर्को विरोध गरेका थिए । यता, विद्यार्थीहरुले पनि शिक्षा कार्यालयको निर्देशन विपरित प्रधानाध्यापक कुवँरले आफनो स्वार्थका लागि असार १८ गते देखि विद्यालय बन्द गरेको भन्दै आन्दोलन शुरु गरेका हुन् । 


विद्यालय अगाडिको सडकमा आज बिहान सडकमै बसेर विरोध गरिरहेका विधार्थीहरुले प्रधानाध्यापक कुवँरलाइ बर्खास्त गरि नयाँ प्रधानाध्यापक नियुक्त गर्न पनि माग गरेका छन् । 

प्रधानाध्यापक  कुवँरले समय अगावै विद्यालय बन्द गर्दा आफुहरुको पठन पाठनमा असर परेको, सरकारको निर्देशन विपरित विद्यार्थीहरुसँग मासिक शुल्क लिएको, नयाँ भर्ना भएका दुई सय विधार्थीहरुसंग जनही पाँच सय ५० रुपैया भर्ना शुल्क असुली गरेको, विद्यार्थीहरुलाइ थोत्रो पुस्तक वितरण गरेको छात्रवृति रकम पनि कट्टा गरि वितरण गरेको, गुनासो लिएर जाँदा प्रधानाध्यापक कुँवरले अपशब्द प्रयोग गरि दुव्र्यवहार गर्ने गरेको, विद्यालयमा विभिन्न शीर्षकमा आएका बजेट हिनामिना गरेको आन्दोलनरत विधार्थीहरुले आरोप लगाएका छन् ।  

तर प्रधानाध्यापक कवँरले भने कक्षा ११ को शैक्षिक सत्र साउन महिना देखि  सुरु हुने भएकाले  आफुले असार १८ गतेदेखि गर्मी विदा दिने निर्णय गरेको बताए  ।  गर्मी बिदाको विपक्षमा रहेका सहायक प्रधानाध्यापक अतुल श्रीवास्तवले भने कक्षा ११ को शैक्षिक सत्र पर्साका धेरै बिद्यालयहरुमा एकै मितिमा सुरु हुने भएकाले कन्या उच्च माबिमा मात्र समस्या नपर्ने बताए । उनले कुँवरको सोचाई व्यक्तिगत फाइदाको लागि मात्र भएको बताए । विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म झण्डै एक हजार ५० जना छात्राहरु अध्ययनरत रहेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप