शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् माओवादीभित्रका ‘विजय गच्छदार’

बुधबार, २४ जेठ २०७४, १९ : ११
बुधबार, २४ जेठ २०७४

नेत्र पन्थी

जेठ २४, काठमाडौँ– माओवादी आन्दोलनमा लड्ने धेरै र लाभ लिने थोरै भए । साधन–स्रोतको न्यायोचित वितरण नभएको भनेर पटक–पटक विवाद जन्मियो र माओवादी पार्टी फुट्यो पनि । माओवादीभित्र लाभका पदहरुको कसरी दुरुपयोग हुन्छन् भन्ने गतिलो उदारण हुन्, कृष्णबहादुर महरा । शान्ति प्रक्रियामा आएदेखि माओवादीमा उनले जस्तो लाभको पद अरु नेताले पाएका छैनन् र भविष्यमा पनि पाउन कठिन छ ।

महरा माओवादीभित्रका ‘विजयकुमार गच्छदार’ हुन्, जो हरेक ठाउँमा हरेक पटक सुविधाका लागि अग्रपङ्क्तिमा आउँछन् । माओवादी आन्दोलनको उठान पछाडि पारिएकाहरुको सशक्तीकरणसँग जोडिएको थियो, तर महराजस्ता नेताहरुमा रहेको पदको ‘चरम भोक’ले आन्दोलनको मर्म नै मार्छ कि भन्ने खतरा छ ।

माओवादी आन्दोलनमा महराको ठूलो योगदान होला तर उनले जति लिएका छन्, त्यो ‘राजनीतिक व्यापारी’ भन्दा कम छैन । यस्तो आरोप मोहनविक्रम सिंहले नारायणकाजी श्रेष्ठमाथि पनि लगाउँथे । ‘राजनीतिक व्यापारी’को चरित्र भनेको आफ्नो हितका लागि जे पनि गर्न तयार हुने हो । महरा कसरी ‘विजयकुमार गच्छदार’ बने ? केही तथ्यहरु यसका लागि काम लाग्न सक्छन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा बनेको अन्तरिम संसदमा कृष्णबहादुर महराले नेतृत्व गरेका थिए । त्यहाँबाट सिंहदरबार छिरेका महरालाई त्यसपछि पछाडि पर्नु परेको छैन । उनका लागि सिंहदरबारको ढोका सधैँ खुला छ । पहिलो र दोस्रो संविधानसभामा महरा संसद भएर आए । पार्टीभित्र लामो समय विदेश विभागको कमान्ड सम्हाले ।

यो पनि पढ्नुहोस्

२६ वर्षमा १२ पटक मन्त्री भए गच्छदार

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार–०६३ मा कृष्णबहादुर महरा सञ्चारमन्त्री भए । प्रचण्ड नेतृत्वको सरकार–०६५ मा महरा फेरि सञ्चार मन्त्री भए । यतिमा मात्र उनको रुचि पुगेन । २०६७ मा गृहमन्त्री भए । त्यसपछि उनी प्रचण्ड सरकार –२०७३ मा उपप्रधानसहित अर्थमन्त्री भए । सरकार परिवर्तन भयो, देउवा प्रधानमन्त्री भए । फेरि महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाए ।

थाहा छैन, प्रचण्डलाई के त्यस्तो बाध्यता छ, जतिबेला पनि महरालाई अगाडि सार्नुपर्ने । थाहा छैन, महरासँग कस्तो अद्भूत कला छ, जहिले पनि मन्त्री बन्न सक्ने । ५० करोडको टेपकान्ड होस् वा टेलिकम कम्पनीलाई लाइसेन्स दिँदा नै होस्, महराको विवादित छवि छताछुल्ल भएको थियो । तैपनि प्रचण्डका लागि महरा नभई नहुँने अचम्म लाग्दो छ । कुन ‘रसायन’ले यसमा काम गरेको छ । अरुले नबुझे पनि माओवादीभित्रका धेरै नेताले बुझेका होलान् । संसदीय राजनीतिविरुद्ध मोर्चा कस्दा महराले के सोचेका थिए ? हुन सक्छ, शक्ति, पद र प्रतिष्ठा ।

कम बोल्ने तर जायज–नाजायज सबै गर्न सक्ने अदभूत क्षमताका धनी छन् महरा । यही महान क्षमता प्रचण्डलाई मन परेको हुन सक्छ र पटक–पटक जहाँ पनि महरालाई अगाडि सार्छन् । बेइजिङ र दिल्लीलाई गुमराहमा राख्न सक्ने ‘डबल डिप्लोमेसी’ महराको सबैभन्दा ठूलो क्षमता हो । यही क्षमताका भरमा उनले अन्तर्राष्ट्रिय सम्बन्ध बनाउँछन् र प्रचण्डलाई बिफ्रिङ गर्छन् । महराको यही कार्यशैलीले उनलाई पटक–पटक मन्त्री बन्ने बाटो खुला गर्छ ।

पार्टीभित्र केहिले वैद्य खेमामा कहिले प्रचण्ड खेमामा बसेर ‘डबल एजेन्ट’को भूमिका निभाउन सक्ने दुर्लभ कला महराको ठूलो सम्पत्ति हो । यसको ब्याज बेला–बेला पाइरहन्छन् । त्यति मात्र होइन विवादास्पद व्यापारीहरुसँगको घनिष्टता महराको अर्को क्षमता हो । यसैले त्यही माओवादीभित्र कहिलेकाहीँ सुन्ने गरिन्छ– ‘महरा सरले मिनी ट्रकमा पैसाको कारोवार गर्नुहुन्छ ।’

कस्तो दुर्भाग्य भयो भने माओवादीले राजनीतिक स्वतन्त्राका लागि सङ्घर्ष गरेको थियो । तर, आज पद माग्नुपर्ने र दिनुपर्ने संस्कृतिको विकास भयो । राजनीतिक स्वतन्त्राका लागि लडेका ‘दास’ बन्नुपर्ने अवस्था आयो । एउटै व्यक्तिले पटक–पटक लाभको पद लिने परम्पराले माओवादीभित्र ‘दास’ जन्माइरहेको छ । थाहा छैन्, प्रचण्डले यो संस्कृतिलाई कसरी लिएका छन् ।

कहिलेकाहीँ माओवादीका कार्यकर्ता आफै प्रश्न गर्छन्– ‘स्वतन्त्रता र गणतन्त्रका लागि यति धेरैै सङ्घर्ष र त्याग गरियो, हामीले के पायौँ ?’ ती कार्यकर्ताहरुलाई माओवादी नेताहरुले के स्कुलिङ गरेका छन्, यो थाहा छैन । तर, सामन्य कुरा के हो भने उनीहरु पदका लागि होइन स्वतन्ता, गणतन्त्र र अधिकारका लागि लडेका थिए । यति बुझ्न नसक्ने अवस्था कसरी आयो ? कुरा सहजै छ, ‘माओवादीभित्र ‘विजय गच्छदार’हरु जन्मिए, ‘रावडीदेवी’हरु जन्मिए ।’ यसैकारण सबैले ‘मैले के पाएँ ?’ भन्ने प्रश्न उठाइरहेका छन् । यो प्रवृत्तिले माओवादी आन्दोलनलाई विशाक्त बनाइरहेको देखिन्छ । पहिलो चरणको स्थानीय तहको चुनावी परिणामसम्म आउँदा धेरै नेता–कार्यकर्ताले यसको महसुस गरेका होलान् । यही भएर त बेलाबेला गोपाल किराँती जस्ता नेताले माओवादीमा ‘रोल्पावाद’ हावी भयो भनेर पार्टी वैठकमा हङ्गामा मच्चाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप